भर्खरै :

धर्मनिरपेक्षताको नाममा धर्मान्धता

हालसालै पदस्थापन भएका मन्त्रीले भक्तपुरको डोलेश्वर मन्दिरमा पुगेर सोमबार आराधना गरे । केही दिनअघि प्रतिनिधिसभाका सभामुख पनि त्यहीँ पुगेर महादेवको पूजाआजा गरे । मन्त्री र सभामुखलगायत शासक दलका नेताहरूको यस्तो चालाले संविधानमा उल्लिखित धर्मनिरपेक्षताको प्रावधान देखाउने दाँतमा सीमित भएको छ । मुसलमान समुदाय आफ्नो धार्मिक पर्व इद मनाइरहँदा धर्मनिरपेक्ष देशका मन्त्री भने कुनै अर्को धर्मको मन्दिरमा अनुष्ठान गर्न जानु अल्पसङ्ख्यक धार्मिक समुदायप्रतिको उपेक्षा हो ।
राष्ट्रपति, मन्त्री, सभामुख वा अन्य कुनै राजकीय पदमा नहुँदा कोही व्यक्तिले आफ्नो आस्थाअनुरूप कुनै दिन आफ्नो धर्मअनुुसार परम्परा मान्नु संविधानले नै संरक्षण गरेको अधिकार हो । तर, औपचारिक राजकीय पदमा बसेको व्यक्तिको केही सीमितता पनि हुने गर्दछ । राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री पदको सपथ ग्रहणमा संविधानको पालना गर्ने र कुनै प्रकारको पक्षपात नगर्ने व्यहोरा उल्लेख हुन्छ । त्यसकारण सरकारी पदाधिकारीहरूले पदमा बहाल रहुञ्जेल कुनै धार्मिक समुदायलाई प्रश्रय दिने वा अर्कोलाई निरुत्साहित गर्ने काम गर्नु धर्मनिरपेक्षताको भावनाविपरीत हो ।
जुन व्यक्तिबारे यहाँ चर्चा गरिएको हो, तिनका विषयमा कुरा गर्दा यति भनेर मात्र पुग्दैन । ‘कम्युनिस्ट’ शब्द जोडिएको राजनीतिक दलको प्रतिनिधित्व गरेका यी व्यक्तिहरूले कुनै धर्मभिरुहरू वा धार्मिक पार्टीका नेताले जस्तै धार्मिक अनुष्ठानमा लाग्नु लज्जाजनक कुरा हो । धर्मको ऐतिहासिक विकासक्रम र त्यसको प्रयोजनबारे कम्युनिष्टहरूमा कुनै भ्रम हुनुहुँदैन । धर्मलाई शोषणको औजार बनाइएको वास्तविकताबारे जनतालाई सचेत बनाउनु कम्युनिस्टको दायित्व हो । तर, जब कम्युनिस्ट दाबी गर्ने मानिस आफू मन्त्री बन्नुको मूल कारण कुनै देवता भएजस्तो गरी धर्मकर्ममा लाग्छ भने उसले बोकेको सिद्धान्तप्रतिको बेइमानी हो ।
स्वाभाविकरूपमा जनताले राजनीतिक नेतृत्वबाट धेरै कुरा सिक्छ वा अनुकरण गर्छ । राजनीतिक नेतृत्वले त्यसकारण पाइला पाइलामा सजगता अपनाउनुपर्ने हुन्छ । राजनीतिक नेतृत्वले जानेर वा नजानेर गर्ने सानोभन्दा सानो गल्ती वा कमजोरीले पनि समाजमा दीर्घकालीनरूपमा असर पारिरहेको हुन्छ ।
मन्त्रीले मन्दिर पूजा गर्नु एउटा घटनाको रूपमा सामान्य कुरा हुनसक्छ । यसलाई मानिसले विभिन्न तर्क वितर्कका साथ प्रतिरक्षा गर्नसक्छन् । तर, यसले समाजलाई दिने सन्देश र बसाउने सांस्कृतिक जगले भविष्यमा कुनै पनि बेला असहिष्णु समाजमा पु¥याउनसक्छ ।
भारतमा आजको फासीवादी हिन्दुत्वको विकास एकै रातमा भएको थिएन । कुनै बेला सानो राजनीतिक शक्तिमा सीमित हिन्दुवादी शक्ति आज भारतमात्र होइन, दक्षिण एसिया क्षेत्रकै लागि पनि ठूलो चुनौती र खतरा बनिरहेको छ । धर्मनिरपेक्ष गणतान्त्रिक देशको नेतृत्वले पञ्चायतकालीन नेतृत्वले जस्तै धर्मभिरु भएर प्रस्तुत हुनु सर्वथा गलत हुनेछ । धर्मनिरपेक्षताको नाममा धर्मान्धतालाई प्रवद्र्धन गर्नुले दीर्घकालको लागि घातक हुनेछ । न्याउरी मारी पछुताउनुभन्दा अहिले नै विवेक पु¥याउनु उचित होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *