भर्खरै :

आरोपपत्र दायर

काठमाडौँ, २८ साउन (रासस) :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिई वास्तविकभन्दा बढी काम देखाइ भुक्तानी दिन सिफारिस गर्ने कलैया उपमहानगरपालिकाका इञ्जिनियरद्वय किशोर यादव र माधवप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
इञ्जिनियरद्वयले कलैया उपमहानगरपालिका–२१ स्थित तपी मावि भोडहादेखि भदिलबासम्मको सडक ढलान गर्ने काममा वास्तविकभन्दा बढी काम भएको देखाइ भुक्तानी दिन सिफारिस गरेको आयोगको अनुसन्धानबाट खुलेको थियो । आयोगले उनीहरु दुवै जनाविरुद्ध पाँच लाख ७१ हजार २६९ रुपैयाँ ५० पैसा बिगो मागदाबी गरेको छ ।
आयोगले आजै सेवाग्राहीसँग घुस लिएको आरोपमा महोत्तरीको भङ्गाहा नगरपालिका–८ का वडाध्यक्ष मोहम्मद रफिक आलमलाई रु एक लाख ६० हजार घुससहित नियन्त्रणमा लिएको छ । निजले सेवाग्रहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी गरिदिएबापत सो रकम घुस लिएको पुष्टी भएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । उक्त घटनामा संलग्न भएको आशङ्कामा आयोगले सोही वडाका वडा सदस्य कारी साहलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *