भर्खरै :

‘गोली स्थानीय निकायमा, बन्दुक प्रदेशमा, सिपाही सङ्घमा’

काठमाडाँै, २ भदौ । महामारीको रूपमा फैलिएको डेंगुको कुरा गरौँ । टाइगर (बाघ) मस्क्वीटो नामको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने रोग डेंगु नियन्त्रणबाहिर गई ४३ देशमा फैलिएपछि सरकारले एक किसिमले हात उठाएको अवस्था छ । डेंगु ३ महिनाअगाडि धरानबाट सुरु भई विभिन्न जिल्लामा फैलिउञ्जेलसम्म सरकारी संरचना कसले कसरी काम गर्ने भन्ने अलमलमै रह्यो । सानो क्षेत्रमा फैलिँदै नियन्त्रणमा चनाखो भएको भए यसरी महामारीको रूप लिँदैनथ्यो ।
सङ्घीय संरचनाअनुसार रोग नियन्त्रणको जिम्मा प्रदेश र स्थानीय सरकारको कार्य क्षेत्रभित्र पर्छ तर ती संरचना अनुभव, स्रोत र साधनसम्पन्न छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा छ तर त्यसको संरचना तल्लो तहमा पुग्न सक्दैन । पहिले यस्तो महामारी फैलिँदा ‘रेपिड रेस्पोन्स टीम’ लिएर महाशाखाका विशेषज्ञ टोली प्रभावित स्थलमा पुगेर काम गथ्र्यो । महाशाखाका कर्मचारी महामारी नियन्त्रण आफ्नो कार्यक्षेत्र नभएको भन्दै आवश्यक निर्देशन दिन नसक्ने अवस्थामा रहेको बताउँछन् । स्थानीय कर्मचारी परिचालन गर्न प्रदेश र स्थानीय सरकार गुहार्नुपर्ने परिस्थिति छ । स्थानीय तहमा पर्याप्त प्राविधिक छैनन् । ‘गोली स्थानीय निकायमा, बन्दुक प्रदेशमा, सिपाही सङ्घमा’ भन्ने महाशाखाका एक अधिकारीको टिप्पणीले कुन हदको अलमल छ भन्ने देखाउँछ । उचित बन्दोबस्त नगर्दै सङ्घीयता लागू गर्नेले यसको जिम्मेवारी लिनुपर्छ । राज्यको सबै व्यवस्था लिने जिम्मा पाएको सरकारले महामारी फैलिँदा पनि उचित व्यवस्थापन गर्न नसक्नु सरकारको नालायकी ठहरिन्छ ।
सरकारले लामखुट्टे नियन्त्रणको नाममा दुई वर्षमा झन्डै ११ करोड खर्च गरेर नतिजा अपेक्षाकृत सन्तोषजनक निकाल्न सकेन । सरकारले पैसा त खर्च ग¥यो तर सही उपायसाथ सही ठाउँमा खर्च भयो कि भएन ? प्रश्न उठेको छ । जतासुकै भ्रष्टाचारको ‘भूत’ लागेको बेला यस्ता कार्यक्रममा भ्रष्टाचार नहोला भन्न सकिन्न । बजेट सकिने तर परिणाम सकारात्मक नहुनुको कारण के होला ? विशेषज्ञ भन्दै छन्, “डेंगु फैलाउने लामखुट्टेमा विषादी थेग्ने क्षमताको विकास भयो ।” लामखुट्टेमा क्रम विकास (तेलुसन) भएर नयाँ क्षमताको विकास भयो । यदि त्यसो हो भने लामखुट्टे सखाप पार्न पहिले सोहीअनुसारको विषादीको निक्र्योल गर्नुपथ्र्यो र सही विषादीको उपयोग गर्नुपथ्र्यो । विशेषज्ञहरूबाटै एउटा खबरदारी गरिएको छ– लामखुट्टे नियन्त्रणको नाममा छरिएको विषादीले मानिसलाई क्यान्सरसमेत गराउन सक्छ । यदि त्यस्तो हो भने परिणाम झन् भयावह हुनसक्छ ।
डेंगु एक खालको भाइरसको कारण लाग्ने रोग हो । आजसम्म भाइरसको कारण हुने कुनै पनि रोगको औषधि पत्ता लागेको छैन । भाइरल रोगको निम्ति व्यक्तिमा राम्रो रोग प्रतिरोधी क्षमता चाहिन्छ । यस हिसाबमा रोग लाग्न नदिनु नै मुख्य उपाय हो । लामखुट्टे हुर्किने वातावरण बन्न नदिनु नै रोग नियन्त्रणको उपाय हो । डेंगुको लामखुट्टे बिहानदेखि बेलुकीसम्म वा दिनको समयमा सक्रिय हुने हो । त्यस मानेमा दिनको समयमा लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ । मानिस स्वयम् चनाखो भए बच्ने उपाय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *