नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
जनताको राय सुझावअनुसार भक्तपुर नगरपालिकाले नयाँ आर्थिक वर्ष २०८३ र ८४ को बजेट निर्माणको क्रममा नीति तथा कार्यक्रम सार्वजनिक गर्नु स्वागतयोग्य नै छ । यही क्रममा शिक्षा क्षेत्रमा सबैभन्दा बढी अर्थात १७ वटा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । साथै स्थानीय पाठ्यक्रमलाई जीवन्त बनाउन नेपालभाषा र लिपिको प्रशिक्षण व्यवस्था गर्न खोज्नु सकारात्मक पक्ष नै हो ।
नयाँ आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको क्रममा नीति तथा कार्यक्रममा नगरपालिकाद्वारा सञ्चालित विभिन्न शैक्षिक संस्थाहरूमा समयको आवश्यकता र विद्यार्थीहरूको मागबमोजिम नयाँ नयाँ विषयहरू थप गर्नेदेखि लिएर विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, वातावरण र पर्यावरण, संस्कृति–सम्पदा संरक्षण, अर्थतन्त्र, स्वास्थ्यलगायतका विषयमा अध्ययन अनुसन्धान, प्रकाशन, नवप्रवर्तनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना तथा नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई नगरपालिकाको कार्यालय, वडा कार्यालय, कलेज, अस्पताल तथा नपाअन्तर्गतका संस्थाहरूमा इन्टर्नसीप र स्वयंसेवक भई कार्य गर्ने अवसर दिने उल्लेख गरिएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रमको बुँदा नं ६ मा भक्तपुर नगरपालिकाभित्र विभिन्न विषयहरूमा अध्ययन अनुसन्धान गर्ने अनुसन्धानकर्ता विद्यार्थीहरूलाई नगरपालिकाको तर्फबाट प्रदान गरिँदै आएको अनुसन्धान वृत्तिलाई निरन्तरतासँगै राजनीतिशास्त्र, नेपालभाषा, संस्कृति, अर्थशास्त्र र दर्शनशास्त्र विषय लिई उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधिसम्म छात्रवृत्ति प्रदान गर्ने उल्लेख गरिएको छ । यस वर्षदेखि अर्वान डिजाइन एन्ड कन्जरभेसन विषय लिई उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई पनि छात्रवृत्ति दिने उल्लेख गरिएको छ ।
बुँदा नं ७ मा गरिब तथा जेहनदार विद्यार्थी र खेलकुदका विभिन्न विधाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडी विद्यार्थीहरूलाई नगरपालिकाद्वारा सञ्चालित मावि तथा कलेजहरूमा छात्रवृत्तिको व्यवस्था गर्ने सँगै उल्लेख गरिएको छ ।
शैक्षिक गुणस्तर वृद्धि गर्न हाजिरीजवाफ प्रतियोगिता, चित्रकला, वक्तृत्वकला, निबन्ध, वादविवादलगायतका अतिरिक्त गतिविधिहरू सञ्चालन तथा नगरभित्रका सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा विज्ञान, गणित तथा सामाजिक प्रयोगशालाहरू स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
केन्द्र सरकारले गर्नुपर्ने शिक्षकहरूको लागि विभिन्न विषयहरूमा आवश्यक तालिम सञ्चालन भक्तपुर नगरपालिकाकोे नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक सङ्ख्या नपुगेका सामुदायिक विद्यालयहरूका लागि अनुदानको व्यवस्था र सामुदायिक तथा संस्थागत विद्यालयहरूमध्ये एसईई परीक्षा नतिजाको आधारमा उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गर्ने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रमको बुँदा नं ११ मा विद्यालय तहदेखि नै सीपमूलक तथा व्यवसायिक तालिमहरू प्रदान गरी शिक्षालाई उत्पादन श्रमसँग जोड्न विद्यालयहरूमा सूचना प्रविधिको तालिम र विद्यालयलाई प्रविधिमैत्री बनाउन स्मार्टबोर्डहरूको व्यवस्था मिलाउने तथा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले वडा वडामा रहेका पुस्तकालय, वाचनालय तथा सामुदायिक सिकाइ केन्द्रहरूलाई आवश्यक सहयोग गर्ने उल्लेख गरिएको छ । ‘एक विद्यालय, एक सम्पदा सरसफाइ’ कार्यक्रमलाई निरन्तरता दिँदै वडा–वडाका शिशु स्याहार केन्द्रको स्तरोन्नति गरी वडा नं. १० को निर्माणाधीन शिशुस्याहार केन्द्र सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा रहेको छ ।
नीति तथा कार्यक्रमको बुँदा नं. १५ मा स्थानीय पाठ्यक्रम अध्यापन गर्ने शिक्षकहरूलाई तालिमसँगै आवश्यक शिक्षण सामग्रीहरू उपलब्ध गराउने र नेपालभाषा तथा लिपि कक्षाको प्रशिक्षणको व्यवस्था मिलाइने उल्लेख गरिएको छ । ख्वप मेडिकल कलेज सञ्चालनको लागि भनपा १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा उपलब्ध गर्न सम्बन्धित निकायमा पहल गर्ने र वडा–वडामा बालबालिकाका लागि गृहकार्य कक्षा सञ्चालनको लागि आवश्यक शिक्षकको व्यवस्था र शैक्षिक ऋण रकमको सीमा वृद्धिका साथै सोमा लाग्ने ब्याजको प्रतिशतलाई समय सापेक्ष बनाइने उल्लेख गरिएको छ ।
यसरी समग्र शिक्षाक्षेत्रको विकास गर्ने उद्देश्य राखेको भक्तपुर नगरपालिकाले शिक्षाशास्त्र पढेर उत्पादन भएका सामुदायिक विद्यालयका स्थानीय दक्ष जनशक्ति शिक्षकलाई उचित तथा समय सुहाउँदो पारिश्रमिक भए नभएको अनुमगन गरी मूल्याङ्कन गर्न जरुरी छ ।
वडा–वडामा बालबालिकाका लागि गृहकार्य कक्षा सञ्चालनको लागि आवश्यक शिक्षकको व्यवस्था गर्न सक्ने स्थानीय सरकारले विद्यालयमा दिनभर तथा अन्य अतिरिक्त समय दिने स्थानीय शिक्षकलाई स्थानीय पाठ्यक्रम अध्यापनका लागि संविधानले दिएको अधिकार प्रयोग गरी स्थानीय पाठ्यक्रम शिक्षकको रूपमा नियुक्ति दिन पहल गर्नु स्थानीय सरकारको जिम्मेवारी हो । साथै स्थानीय शिक्षकले मात्रै स्थानीय पाठ्यक्रमको महत्व र मर्म बुझ्ने भएकोले स्थानीय पाठ्यक्रमलाई व्यवहारिक रूपमा जीवन्त तुल्याएका हुन्छन् ।
– एसआरके, भक्तपुर
Leave a Reply