भर्खरै :

‘तिमी मेरो आत्मा तिमी मेरो श्रृङ्गार’

‘तिमी मेरो आत्मा तिमी मेरो श्रृङ्गार’

‘तिमी मेरो आत्मा, तिमी मेरो शृङ्गार’ – यो हो आफ्नी मायालुप्रति गरिएको एक प्रात्मीय अभिव्यक्ति । सभ्यता र संस्कृतिको विकास हुँदै जानुको अर्थ भाषा र अभिव्यक्तिको उचाइ पनि बढ्दै जानु हो । अभिव्यक्तिको उचाइ र व्यापकता पनि मानिसको वैचारिक क्षितिज सँगसँगै जाने गर्छ ।
कार्ल माक्र्स युवा अवस्थादेखि नै आफ्नो शैक्षिक गहिराइ र व्यापकताबारे प्रसिद्ध छन् । उनले जेनीको बारेमा आफ्ना बुबालाई एक पत्रमा लेखेका थिए– जेनीको अर्थ सुन्दरता हो र सुन्दरताको अर्थ जेनी हुन् । जेनी र युवा माक्र्सको प्रेम कथा एक आदर्श प्रेमकथा हो । त्यसमा भावनाका गहिराइ र विचारको व्यापकता थियो । दुवैको प्रेम र विवाहले मानव समाजलाई अगाडि बढाउन सहयोग पुग्यो । संसारमा सर्वहारा क्रान्ति र वैज्ञानिक समाजवादबारे चर्चा चलेसम्म जेनीको प्रेम, विवाह र योगदानलाई मानिसले बिर्सने छैनन् ।
त्यसो त नेपोलियनको प्रेम–पत्रबारे पनि मानिसहरू चर्चा गर्ने गर्छन् । तर, नेपोलियनकी मायालुले समाजको निम्ति के योगदान गरिन् भन्ने कुरामा कमलाई मात्रै थाहा छ । तर, नेपोलियन आफ्नै महत्वाकाङ्क्षाको एक मूर्ति थिए भने समाजको शिखरमा पुगेका मानिसहरूलाई नै आफ्नो लोग्ने रोज्ने केटीहरूको पनि समाजमा कमी छैन । त्यो त आईमाई स्वभावैले महत्वाकाङ्क्षी हुन्छन् भन्ने चलन छ । खालि लुगा, गहना, रूप र सम्पत्तिलाई लोग्ने सम्झने आईमाईहरूको त सांस्कृतिक स्तरमै प्रश्न चिन्ह खडा हुन्छ । सांस्कृतिक स्तर माथिल्ला जातले मात्रै उठ्ने होइन, अध्ययनको विषय, सङ्गत र उँचो जीवनको उद्देश्यप्रतिको दृढता र लगनशीलताले निर्धारित गर्छ ।
इन्डोनेसियामा सुकार्नाेको साम्राज्यवादविरोधी भावनामा कसैले शङ्का गर्दैनन् तर उनलाई ‘हृदयलाई अलग्याई’ हिँड्ने राष्ट्रपति पनि भन्ने गर्छन् । १९५२ मा ५१ वर्षको सुकार्नोले २८ वर्षकी आइमाईलाई आफ्नो ‘प्रेमको स्रोत’ सम्झे र राष्ट्रपतिको बोझलाई उठाउन पर्याप्त सन्तोष र स्फूर्तिको निम्ति मद्दत मागे । सुकार्नो स्वास्नीमानिसबाट आमाको स्नेह, प्रेमिकाको जोश र साथीको सहयोग चाहन्थे । त्यसैको निम्ति ५ वटा केटाकेटी भएकी र पारपाचुके भएकी एक आईमाईसँग उनले दोस्रो विवाह गरे ।
दोस्रो विश्व युद्धको अन्ततिर ५० वर्षको टिटोले १८ वर्षकी जोभान्कासँग प्रेम गर्न थाले । जोभान्का त्यसबेला सर्वियाली गुरिल्ला दलका एक नायिका थिइन् । १९५२ मा टिटो प्रधानमन्त्री भएपछि जोभान्कासँग विहाह गरे । तर, २५ वर्षपछि पनि टिटोले जोभान्कालाई भन्दा आफ्नो पार्टी र देशलाई नै पहिलो स्थान दिए ।
प्रमुखता केलाइदिने हो र को के हो भनी चिन्ने उपाय नै मानिसले दिने प्रमुखताबाट थाहा हुन्छ । लेनिनको विचारमा यौन र वैवाहिक समस्याहरू मुख्य सामाजिक समस्याको एक अङ्गमात्र हो । त्यसैलाई ठुलो समस्याको एक मुख्य भाग बनाएमा त्यसले चिन्तनलाई फिक्का पारिदिन्छ र श्रमिक महिलाहरूको वर्गीय चेतनालाई धमिल्याई दिन्छ । क्रान्तिको समयमा त्यो खतराको कुरा हुन्छ ।
व्यक्तिगत जीवन देशको राजनीति र सिद्धान्तसँग कति गाँसिएको हुन्छ भन्नेबारे लुम्बुवाको अन्तिम पत्र एक उदाहरण बन्न सक्छ । १९६१ फेब्रुअरी महिनामा ‘अफ्रिकी सङ्घर्ष’ भन्ने एक ट्युनिसियाली पत्रमा पेट्रिस लुम्बुवाले आफ्नो प्रिय पत्नीलाई लेखे– मैले लेखिएका यी शब्दहरू तिमी कहाँ पुग्नेछन् वा छैनन्, तिमीले यी शब्दहरू पढ्दा म जीउँदो हुँला वा हुँदिन मलाई थाहा छैन । हाम्रो देशको स्वतन्त्रताको लागि गरेको सङ्घर्षको अवधिमा मैले कहिल्यै हाम्रो पवित्र उद्देश्यको विजयमाथि शङ्का गरिनँ । त्यसैको निम्ति मैले र मेरा साथीहरूले आफ्ना सारा जीवन समर्पण गयौं । हामीले हाम्रो देशको निम्ति सम्मानपूर्वक जीउने अधिकार, धोखा विनाको इज्जत र बन्धनबिनाको स्वतन्त्रता भन्ने एउटा कुरा मात्र चाहेका थियौँ ।
बेल्जियमेली उपनिवेशवादीहरू र तिनीहरूका पश्चिमी देशहरूले कहिले पनि यस कुरालाई चाहेनन् । संयुक्त राष्ट्र सङ्घमाथि हामीले हाम्रो सारा आशा राखेर सहयोगको लागि अनुरोध गरेका थियौँ र त्यसका केही उच्च ओहदाका अधिकारीहरूबाट प्रत्यक्ष वा अप्रत्यक्ष, खुला वा गुप्त रूपले समर्थन पनि पाएका थियौँ ।
तिनीहरूले हाम्रा केही देशवासीहरूलाई भ्रष्ट पारे, केहीलाई किने र सत्यलाई बङ्ग्याउन र हाम्रो स्वतन्त्रतालाई कलङ्कित पार्न सबथोक गरे । म बाँचू अथवा मरूँ, स्वतन्त्र हुन्छु वा कारागारमा हुन्छु, यो मेरो व्यक्तिगत प्रश्न होइन भन्ने कुरा म बताउँछु । मुख्य कुरो स्वतन्त्रता कुल्चिँदै गएको हाम्रा दुःखी जनताको देश कङ्गोको हो ।
तिनीहरूले हामीलाई कारागारमा थुनेर राखे पनि, तिनीहरूले हामीलाई जनताबाट टाढा राखे तापनि मेरो विश्वास डग्मगिने छैन ।
मलाई थाहा छ, ढीलो वा चाँडो मेरो जनताले आफ्नो भित्री र बाहिरी शत्रुहरूमाथि विजय पाउनेछन् अनि तिनीहरू पवित्र भूमिमा आफ्नो लाजमर्दो, मर्न लागेको उपनिवेशवादको ‘विरोधमा’ एक भएर उठ्नेछन् भन्ने कुरा म मेरो हृदयदेखि गम्भीर रूपले अनुभव गर्दै छु ।
हामीहरू एक्लै छैनौँ । एसिया, अफ्रिका, स्वतन्त्र जनता र आफ्ना स्वतन्त्रताका निम्ति लडिरहेका सबै ठाउँका जनता सधैँ लाखौँ कङ्गोली जनतासँग रहनेछन्, हाम्रो देशमा एकजना उपनिवेशवादी बाँकी भएसम्म सङ्घर्ष गर्न छाड्ने छैनन् ।’
लुम्बुवाले आफ्ना छोराहरूलाई लेखे–
कङ्गोको भविष्य उज्यालो छ र म तिमीहरूबाट यस्तै हरेक कङ्गोबाट हाम्रो स्वतन्त्रता र सार्वभौमिकतालाई फेरि फिर्ता लिने पवित्र कामको सफलताको आशा गर्छु ।
इज्जतबिना स्वतन्त्रता हुँदैन, न्यायबिना इज्जत हुँदैन र स्वतन्त्रताबिना स्वतन्त्र मानिसहरू हुँदैनन् ।
निर्दयता, बेइज्जती, यातनाले मलाई कहिले दयाको भिक्षा माग्न लगाउन सक्ने छैन, हेला गरिएर बाँच्नुभन्दा मैले चोखो सम्झेका सिद्धान्तहरू त्याग्नुभन्दा म हाम्रो देशको इज्जतमा दृढ विश्वास र ठुलो आस्था राखेर आफ्नो टाउको उँचो उठाएर मर्न मनपराउँछु ।
इतिहासले बोल्ने दिन पनि आउनेछ । तर, त्यो ब्रुसेल्स, पेरिस, वाशिङटन या संयुक्त राष्ट्र सङ्घमा पठाइने इतिहासजस्तो हुनेछैन ।
त्यो इतिहास उपनिवेशवाद र त्यसका टहलुवाबाट स्वतन्त्रता पाइसकेको देशहरूमा पढाइने छन् ।
मेरो निम्ति नरुनु । मेरो पीडित देश आफ्नो स्वतन्त्रता र मुक्तिको रक्षा गर्न सक्ने छ भन्ने मलाई थाहा छ ।’
थाइसचिल जेलबाट लेखेको पत्रसँग लुमुम्बा पनि सहिद भए । त्यो उच्च भावना सबै मायालु, जहान र छोराछोरीहरूलाई के थाहा ! व्यक्तिगत सुखसुविधालाई नै आफ्नो देश र जनताको स्वार्थभन्दा माथि राख्ने तल्लो स्वार्थबाट मुक्ति पाउन आदर्श व्यक्तिहरूबाट प्रेरणा लिनु मात्रै एउटा उपाय छ ।
एउटा रुसी उखानजस्तै दाँत देखाउनुको अर्थ नै हाँस्नु हुँदैन । प्रेम प्रदर्शन गर्नु वा माया देखाउनु नै साँचो आत्मीयता होइन । त्यो एक जाल र धोखा पनि हुन्छ ।
अब युवक युवतीले सिक्नुपर्ने बेला आयो– मेरो देश, मेरो जनता र मेरो शृङ्गार ! नत्र जतिसुकै पढे लेखे पनि, सम्पत्ति र स्तर भए पनि, त्यो आत्मा र शृङ्गार, सभ्यता र संस्कृति, प्रगति र विकास ‘भैंस के आगे वीणा बजाना’ मात्रै होइन न भैँसीको अगाडि बेनबाजा बजाउनु पनि हुनेछ ।
वर्ष १, अङ्क ११, १० फागुन २०३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *