यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नेपाल प्राध्यापक समाज विभिन्न कलेजहरूमा अध्यापनरत तथा अनुसन्धान कार्यमा संलग्न प्रगतिशील शिक्षकहरूको साझा सङ्गठन हो । यसको स्थापना २०६३ असोज २४ गते भएको थियो । समाज र देशको अग्रगमनको निम्ति शैक्षिक एवम् राजनीतिक क्षेत्रमा योगदान गर्नु नै नेपाल प्राध्यापक समाजको मुख्य उद्देश्य हो । समाजको आमूल परिवर्तनसँगै पेशागत हकहित सुनिश्चित हुने नेप्रासको अवधारणा हो । हामी ट्रेड युनियनवादीहरूले झैं पेसागत हकहितको कुरामात्र गर्दैनौं तर पेशागत शोषण एवम् विभेदको कडा विरोध गर्न कहिल्यै छोड्दैनौं । तलव, सुविधा, स्थायित्व, पेशाको सुरक्षा आदि कुरा निरपेक्ष हुन्न भन्नेमा नेपाल प्राध्यापक समाज स्पष्ट छ । शिक्षा राज्यको दायित्व हो र राज्य शिक्षाको दायित्वबाट पन्छिइरहेको अवस्थामा स्थानीय निकाय वा गैरनाफामुखी वा न्यूनत्तम शुल्कमा सञ्चालित संस्थामा कार्यरत प्राध्यापकहरूले जनताको सेवकको रूपमा आफ्नो भूमिका निर्वाह गरिरहनु भएको छ । कति सरकारी उच्चमावि तथा विद्यालयमा समेत काम गर्ने शिक्षकहरूले पारिश्रमिक नै नलिएर वा थोरै पारिश्रमिक लिएर विद्यालय तथा कलेज बनाउनुभएको छ । यो नेपालकै शैक्षिक विकासको निम्ति एक नमुना योगदान हो । हाम्रो त्यागले बनेका शैक्षिक धरोहरहरू हाम्रा गर्व हुन्, हाम्रा इज्जत हुन् । त्यसैले हामी भन्छौं, जनताको हरेक जिम्मेवारीप्रति इमानदार, देश र जनताप्रति उत्तरदायी, देशभक्तहरूको सङ्गठित शक्ति हो, नेपाल प्राध्यापक समाज ।
हामी बुद्धिजीवी हौं, बौद्धिक मजदुर हौं । तर्कसङ्गत ढङ्गले सोच्न सक्ने क्षमता भएको, गम्भीर अध्ययनमा संलग्न मान्छेलाई बुद्धिजीवी भनिन्छ । नेपालको हकमा आधा शताब्दीभन्दा अगाडि पण्डित, ज्योतिष र पुरेतहरू बुद्धिका स्रोत थिए । यद्यपि जेजस्तो भए पनि पण्डितको छोरा पनि पण्डित नै हुने सामन्ती संस्कारको गलत परम्परा हो । पछिल्लो आधा शताब्दीमा आधुनिक शिक्षाका पण्डितहरू जस्तो शिक्षक, डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल, सरकारी कर्मचारीहरूलाई बुद्धिजीवीकारूपमा लिने गरेको पाइन्छ । तर कार्ल माक्र्सले भन्नुभएको छ, अहिलेसम्मका विद्वानहरूले समाजको व्याख्या गरे, तर मूल कुरो त समाजलाई बदल्नु हो । त्यसैले हामी समाजको आमूल परिवर्तनको मूल एजेण्डा बोकेर सङ्गठित भएका छौं ।
बीसौं सताब्दीको पूर्वाद्धका एक चर्चित इटालियन माक्र्सवादी विद्वान एन्टोनियो ग्राम्सीले ‘दि इन्टेलेक्चुयल’ शीर्षकको एक निबन्धमा समय र सामाजिक परिवेशले समाजमा बुद्धिजीवीहरू जन्माउने लेख्नुभएको छ । उहाँले प्रत्येक नयाँवर्ग र नयाँ परिवेशमा नयाँ बुद्धिजीवी राजनीतिक तथा प्राविधिक अभियन्ताकारूपमा जन्मन्छन्, हुर्कन्छन् भन्नुभएको छ । ग्राम्सीले भन्नुभएझैं बुद्धिजीवी सामाजिक परिवेशभन्दा बाहिर हुँदैनन् । उहाँले अझ जोड दिनुभएको छ, ‘वर्गीय समाजमा वर्गविहीन रहन पनि सक्दैन । वर्गीय पक्षधरता ऊ आफ्नै कारणले वा सामाजिक परिवेशको कारण लिन पुग्छ । धु्रवीकृत समाजमा राज्यले ठेलेर पक्ष वा विपक्षमा उभिन बाध्य पारिदिन्छ ।’ बुद्धिजीवीमाथि ग्राम्सीको चिन्तन वर्तमान परिप्रेक्ष्यमा उत्तिक्कै सान्दर्भिक छ । आजको समाज बन्दोवस्तमा हामीजस्ता बौद्धिक श्रमिकहरूले श्रमिक वर्गकै प्रतिनिधित्व गरिरहेका छौं । श्रमिक वर्गीय हितको निम्ति आफ्नो वौद्धिक अभ्यास गर्नु आजको आवश्यकता पनि हो । जो श्रम गरी खान्छ, जो इमान्दार छ, जो इज्जत र प्रतिष्ठालाई आफ्नो अमूल्य धन ठान्छ, उनको हक र हितको पक्षमा बोल्नु, नीति निर्माणमा साथ दिनु नै प्रगतिशील प्राध्यापकहरूको जिम्मेवारी हो ।
अर्थशास्त्री पौल वारानक ‘दि कमिटमेन्ट अफ दि इन्टेलेक्चुयल’ शीर्षकको निबन्धमा सचेत बुद्धिजीवीहरूले निर्वाह गर्ने भूमिकाबारे भन्नुहुन्छ, ‘अरु बेला सुषुप्त रहने गरे पनि ऐतिहासिक विकास प्रक्रियामा बुद्धिजीवीहरूले समाजलाई डोर्याउन अग्रणी भूमिका निर्वाह गर्छन् । राजनीतिक मूल्यको अवमूल्यन, नैतिक न्यायमा र्हास र सामाजिक तथा सांस्कृतिक असमानता चुलिएका बेला बौद्धिकहरू ज्यानको बाजी थाप्न पनि पछि पर्दैनन्, आत्मकेन्द्रित विकासका लागि होइन, समग्र समाजको उत्थान र परिवर्तनका लागि ।’
आज देश अत्यन्तै कठिन मोडमा उभिएको छ । देशको सार्वभौमिकता एवम् भौगोलिक अखण्डतामाथि दक्षिण छिमेक भारतको निरन्तर आक्रमण भइरहेको छ । भारतबाट भइरहेको निरन्तरको सीमा अतिक्रमण, भारतीय सीमा सुरक्षा बलको निरन्तरको हस्तक्षेप, नेपालको प्राकृतिक स्रोतसाधनमाथि भारतीय हालिमुहाली, नेपाली अर्थतन्त्रमाथि भारतीय पूँजीको एकाधिकार बलमिचाइ, नेपालको आन्तरिक राजनीतिमाथिको अविच्छिन्न हस्तक्षेप आदि हामीजस्ता कोही पनि स्वाभिमानी नेपालीको निम्ति स्वीकार्य छैन । हामी कदाचित भुल्छौं, नेपालले संविधान घोषणा गर्दा हामीले भोग्नु परेको करिब ६ महिनाको भारतीय नाकाबन्दी । गत फागुन २६ गते कञ्चनपुरमा भएको नेपाली युवा गोविन्द गौतमको हत्याले नेपालीको आत्मसम्मानमाथि ठाडै आक्रमण गरेको अनुभव गरिरहेका छौं ।
नेपालको शिक्षा व्यवस्थाप्रति हामीलाई अझै कुनै सन्तोष छैन । एउटा दृष्टान्त नै पुग्छ । विश्वविद्यालयहरूको विश्ववरियताक्रम २०१५ तथा १६ मा उल्लेखित विश्वविद्यालयहरूको नामावलीमा नेपालका कुनैपनि विश्वविद्यालयको नाम छैन । दक्षिण एशियाकै वरियताक्रम हेर्ने हो भने पनि हाम्रा विश्वविद्यालयहरूको नाम पाँचसयभित्र अटाउन नसकेको अवस्था देखिन्छ । यसबाट हाम्रो उच्चशिक्षाको स्तर अन्तर्राष्ट्रियस्तरमा अझैपनि तुलनायोग्य हुन नसकेको प्रस्ट पार्छ । नेपाली विद्यार्थी तथा शिक्षकहरूको निम्तिमात्र होइन यो समग्र देशको निम्ति लज्जाको विषय हो ।
नेपालीको विडम्बना नै हो, राज्यले नमुना विश्वविद्यालय बनाउँछौं भन्दा पनि बाटो प्रशस्त गरेको छैन । देश र विश्वको आवश्यकता पूरा गर्ने उद्देश्यसाथ ख्वप विश्वविद्यालय स्थापनाको पहल भएको कम्तीमा एक दसक नाघ्यो । लामो रस्साकस्सी पछि ख्वप विश्वविद्यालयको विधेयक संसदमै पेश भएको छ तर छलफलको निम्ति अगाडि बढाइएको छैन । शासक वर्गले जनताको विश्वविद्यालय स्थापना गर्न आनाकानी गरिरहेको छ । नेपाल प्राध्यापक समाज ख्वप विश्वविद्यालय विधेयक अविलम्ब अगाडि बढाउन माग गर्दछ ।
(चैत २६, गते शनिबार मध्यपुरमा सम्पन्न नेपाल प्राध्यापक समाजको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा व्यक्त मन्तव्य–सम्पादक)
Leave a Reply