भर्खरै :

जम्मु र काश्मीर मुद्दामा नेपाल भारतको पक्षमा !

काठमाडौँ, ५ भदौ । भारतको संविधानको धारा ३७० र ३५ ‘ए’ मा उल्लेखित विशेषाधिकार जम्मु र काश्मीर राज्यबाट खोस्ने र जम्मु–काश्मीरलाई दुई वटा केन्द्रशासित राज्यमा विभाजन गर्ने भारत सरकारको निर्णयलाई नेपाल सरकारले समर्थन गरेको सङ्केत दिएको छ ।
नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा सहभागी बन्न भारतका विदेशमन्त्री एस.जयशङ्कर काठमाडौँ आउनुअघि बीबीसी हिन्दी सेवाकी पत्रकार भूमिका रायलाई नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दिनुभएको अन्तर्वार्तामा त्यस्तो सङ्केत गरिएको हो ।
पत्रकार रायले ‘अनुच्छेद ३७० मा भारतले अन्तर्राष्ट्रिय आलोचना बढी सामना गर्नुपरेको हो, के तपाई यो मुद्दामा भारतलाई समर्थन गर्नुहुन्छ ?’ भनी गर्नुभएको प्रश्नको जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभएको छ, “हामी भारतको यस्तो स्थिति बुझ्छौं । हामी यहाँको भारतीय दूतावासको सम्पर्कमा छौं र भारतस्थित नेपाली राजदूतावास पनि भारतको सम्पर्कमा छ । हाम्रो शुभेच्छा भारतकै साथमा छ भन्ने कुरा हामीले बताइसकेका छौं ।”
सोही प्रसङ्गको एउटा अर्को प्रश्नमा ज्ञवालीले भन्नुभयो,“…जुन दिशामा भारत अघि बढिरहेको छ, विकासको त्यस कदममा हाम्रोतर्फबाट शुभकामना छ । अनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका जति पनि योजना छन्, तिनमा सफलता हासिल होस् भन्ने हाम्रो शुभकामना र विश्वास छ ।”
जम्मु र काश्मीरको सन्दर्भमा भारत सरकारले गरेको निर्णयको नेपालका अर्को छिमेकी देश चीन, मित्रराष्ट्र पाकिस्तान, जम्मु र काश्मीरका जनता र भारतीय जनताले विरोध गरिरहेको अवस्थामा नेपाल सरकारको यस्तो अभिव्यक्तिले सन्तुलित कूटनीतिप्रति नेपालको प्रतिबद्धता धरमराएको देखिएको छ । जम्मु र काश्मीरको विशेषाधिकार खोसे पछि भारतीय प्रधानमन्त्रीको एउटा सम्बोधनमा ‘उक्त कदमले जम्मु र काश्मीरमा विकासको लहर आउने’ दाबी गर्नुभएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले मोदीको सोही विकास योजनालाई समर्थन गर्ने आशयको अभिव्यक्ति बीबीसी हिन्दी सेवालाई दिनुभएको अन्तर्वार्तामा उल्लेख छ ।
मोदीको आश्वासन अस्वीकार गर्दै काश्मीरका जनता यतिबेला भारत सरकारको विरोधमा कडा प्रतिरोधमा उत्रेका छन् । काश्मीरलाई संसारकै सबभन्दा बढी घनत्वमा सैन्य परिचालन गरेको क्षेत्र बनाएर पनि भारत सरकारले काश्मीर जनताको विरोधलाई रोक्न सकेको छैन । भारतले यो विषयलाई आफ्नो आन्तरिक मामिला दाबी गर्दै कुनै पनि अरु देशले चासो नदेखाओस् भन्ने इच्छा गरेको छ । तर, पाकिस्तान, चीनलगायत देशले यसलाई भारतको आन्तरिक मामिलामात्र मान्न अस्वीकार गर्दै आएको छ । काश्मीरकै विषयमा हालसम्म तीन पटक भारत र पाकिस्तानबीच लडाई भइसकेका छन् । भारतले हालै गरेको निर्णय पछि पनि दुई देशका सिमाना बलबीच गोली हानाहानका घटना भइसकेका छन् । केही सुरक्षाकर्मीको मृत्यु पनि भइसकेको छ । चीनको आग्रहमा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा यो विषयमा छलफल पनि भइसकेको छ । भूराजनीतिक र क्षेत्रीय हिसाबले निकै जोखिमपूर्ण यो विषयमा नेपालले भारतको पक्षधरता लिनुले नेपालको परराष्ट्र नीतिमा पक्षधरता प्रष्ट देखिएको छ । सार्कको अध्यक्ष देश नेपालले यस्तो विषयमा कुनै एउटा देशको पक्षधरता लिनु नेपालको राष्ट्रिय हितविपरीत हुन्छ ।
नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्रीसँग जम्मु र काश्मीरको विषयमा कुराकानी भएको कुनै औपचारिक जानकारी गराइएको छैन । तर, विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास पुग्नुभएका जयशङ्करले एक घण्टा प्रम ओलीसँग कुराकानी गर्नुभएको थियो । सो क्रममा यतिबेलाको तातो विषय जम्मु र काश्मीरको विखण्डनको विषयमा कुराकानी भएको हुनसक्ने अनुमान गरिएको छ ।
ज्ञवालीले भारतीय मिडियामा भारतीय कदमको समर्थनको अर्थ लाग्ने अन्तर्वार्ता दिनुभए पनि संसदमा बिहीबार बोल्ने क्रममा त्यसबारे नेपालको धारण सांसदसमक्ष राख्नुभएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *