भर्खरै :

“रोजगारका नाममा युवायुवतीलाई विदेश पठाएसम्म देशको विकास सम्भव छैन”

काठमाडौँ, ५ भदौ । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले गोर्खा भर्ती केन्द्र वा वैदेशिक रोजगारीको नाउँमा विदेशमा नेपाली युवायुवतीलाई पठाएसम्म देशको विकास सम्भव नभएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्न सोध्ने क्रममा सांसद सुवालले नेपालमा गरिबी र अव्यवस्थाको मूलकारण भारतीय वितारवाद नै भएको प्रस्ट पार्नुभयो ।
खाडी मुलुकमा नेपाली छोरीहरू ‘खसीबोकाजस्तै बिक्री भइरहेको’ भनी संसदको श्रम तथा अन्तर्राष्ट्रिय समितिको उपसमितिको स्थलगत प्रतिवेदन तयार गरेको चर्चा गर्दै उहाँले वैदेशिक रोजगारीको नाममा ७० लाख नेपाली युवाहरू दासजस्तै बेचबिखन भइरहेकोप्रति खेद व्यक्त गर्नुभयो ।
“पहिले अफ्रिकाबाट दास बेचबिखन हुन्थ्यो । अहिले नेपालबाट भइरहेको अनुभूत गर्नुपर्ने स्थिति छ”, सांसद सुवालले भन्नुभयो ।
उहाँले मन्त्री ज्ञवालीसमक्ष प्रश्न गर्नुभयो, “भारतसँग भएका असमान सन्धिहरू सन् १९५० को सन्धि, कोसी, गण्डक, महाकालीलगायत माथिल्लो कर्णालीसम्मको असमान सन्धिहरूले गर्दा नेपाली जनता पीडित छन् । भारतले बनाएका बाँधहरूको कारण तराई बर्सेनि डुबानमा परेको छ । यसबारे मन्त्रीज्यूको मत के छ ?”
सांसद सुवालको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्रीले भन्नुभयो, “नेपाल भारत र संयुक्त अधिराज्यकाबीच सम्पन्न १९४७ को त्रिपक्षीय सन्धिको अधिनमा रही नेपालीहरूलाई भारतीय र बेलायती सेनामा भर्ना गर्ने प्रचलन रहेको देखिन्छ । यस विषयलाई नेपाल सरकारले गम्भिरतापूर्वक लिएको छ । राष्ट्रिय हित अनुकूल हुने गरी यसलाई सम्बोधन गर्नुपर्छ भन्ने कुरामा सरकार प्रस्ट छ । यो विषयलाई हामीले केही समय अगाडि सम्पन्न प्रधानमन्त्रीज्यूको संयुक्त अधिराज्यको औपचारिक भ्रमणको सिलसिलामा समेत यो विषय उठाएका छौँ । अब यो त्रिपक्षीय सन्धिको सान्दर्भिकता रहेन । हामीले भारतसँग छुट्टै र बेलायतसँग छुट्टै कुरा गर्न चाहन्छौँ र डिल गर्न चाहन्छौँ । नेपाल र भारतबीच भएका विभिन्न सन्धि, सम्झौता र समझदारीहरूको पुनरावलोकन, दुई पक्ष सम्बन्धको समग्र पक्षमा विचार विमर्श गरी दुई देशबीच रही आएको निकट र बहुआयामिक सम्बन्धलाई थप विस्तार एवम् गहन तुल्याउने उपाय सुल्झ्याउने हिसाबले गठन भएको नेपाल भारतको प्रवुद्ध
व्यक्तिहरूको समूहले नेपाल र भारतबीचको दुवै सरकारलाई प्रतिवेदन बुझाउने तयारीमा छन् ।”
सांसद सुवालले जम्मु र काश्मीरबारे नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्रीसँग के कस्तो कुराकानी भयो भनी जिज्ञासा राख्नुभयो । उहाँले भन्नुभयो, “जम्मु–काश्मीर भारत, चीन र पाकिस्तानको विवादित क्षेत्र भइरहेको र पाकिस्तानका प्रधानमन्त्रीले जातीय सफाया गर्न खोजेको भन्नुभएको छ । भारतका प्रम मोदीले एकीकृत भारतको सपना पूरा भएको भन्नुभयो । सार्कको अध्यक्षको हैसियतले नेपालले यस विषयमा विदेशमन्त्रीसँग के कुरा भयो ? यसबारे सदनमा जानकारी दिनु आवश्यक छैन र ?”
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले अर्थमन्त्री युवराज खतिवडासमक्ष विभिन्न विषयमा प्रश्न गर्नुभयो । अर्थमन्त्रीसमक्ष सुवालले प्रश्न गर्नुभयो, “जलस्रोतको धनी देश नेपालका अधिकांश जनता खानेपानीको हाहाकारबाट पीडित भएको भन्दै नेपालीले कहिलेसम्म शुद्ध खानेपानी पिउन पाउने हो ?”
त्यस्तै उहाँले प्रश्न गर्नुभयो, “आइफा अवार्ड नेपालमा गर्ने भनेर प्रमले भन्नुभएको समाचार प्रकाशित भएकै हो । दक्षिण कोरियाको युनिभर्सल पीस फेडेरेशनलाई नेपाल सरकारका मुख्य मुख्य पदाधिकारीलाई होलीवाइन खुवाएर इसाई धर्म प्रचार गर्न लगाएकोमा ठूलो विरोध भयो । फेरि आइफा अवार्ड नेपालको अनुकूल र हितमा गर्न लगाउने भनेर गरेमा त्यस्तै कुनै रक्सी सरकारका मुख्य मुख्य पदाधिकारीहरूलाई फेरि खुवाउने हो कि यसमा नेपाली जनताको चिन्ता छ ?”
बिहीबार नै प्रतिनिधि सभामा प्रस्तुत मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको छलफलमा भाग लिँदै सांसद सुवालले विश्वविद्यालय स्वशासितभन्दा पनि स्वायत्त हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले नेताहरूको नामबाट होस् वा अथवा अन्य कुनै नाममा भए पनि शिक्षा निःशुल्क नभएसम्म व्यापक श्रमिक जनताका छोराछोरीले शिक्षा नपाउने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “विश्वविद्यालय भनेको समाजलाई बुद्धिजीवीकरण गर्ने, उत्पादन श्रमसँग जोड्ने लक्ष्यसहित अघि बढ्नुपर्छ । विश्वविद्यालयलाई व्यापारको थलो बनाइन हुँदैन ।”
क्यान्सर अस्पतालबारे सांसद प्रेम सुवाल
भक्तपुर क्यान्सर अस्पतालबारे सत्यतथ्य राख्न चाहन्छु । भक्तपुर क्यान्सर अस्पताल सुरुमा भक्तपुर क्यान्सर प्रोजेक्ट, त्यसपछि भक्तपुर क्यान्सर केयर सेन्टर हुँदै भर्खर कुरा उठेजस्तै साउन ३० गतेबाट अस्पतालको व्यवस्थापन भक्तपुर नगरपालिकाले सम्हालेको हो । त्यस अगाडि र यसपछि पनि बिरामीको सेवामा कुनै कमी भएको छैन र गति प्रदान गरेको छ ।
यो सदनलाई जानकारी गराउन चाहन्छु कि बिरामीको सेवामा कुनै कमी भइरहेको छैन । भक्तपुर क्यान्सर अस्पतालको भवन निर्माणको लागि हक हस्तान्तरण नहुने गरी करिब ५ रोपनी जग्गा र २० लाख रूपैयाँ भक्तपुर नगरपालिकाले उपलब्ध गराएको थियो । जग्गा उपलब्ध गराउँदा म आफै भक्तपुर नपाको प्रमुख थिएँ । नेपाल क्यान्सर रिलिफ सोसाइटीले भक्तपुर नगरपालिकाले प्रदान गरेको जग्गामा बनेको भक्तपुर क्यान्सर अस्पतालको भवन आफ्नोअन्तर्गत राखेको र अस्पतालको लागि आवश्यक सिटिस्क्यान, प्रयोगशाला र औषधि पसलसमेत सञ्चालनमा अस्पतालको व्यवस्थापन समितिका पूर्वअध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ र पूर्वसदस्य विमलकुमार होडाले करोडौँ रूपैयाँ भ्रष्टाचार गरेको र सफाइ मजदुरहरूसँग पनि महिनाको ५ लाखभन्दा बढी पैसा असुलेर कम तलब दिएको समाचार प्रकाशित भयो । यस विषयमा अस्पतालका कर्मचारी र स्थानीय जनताले भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन भक्तपुर नगरपालिकालाई जिम्मा लिन लिखित अनुरोध गरे । तर, भक्तपुर नपाका मेयर त्यसै जानु भएन । सिडिओ र मेयर दुवैले पूर्वअध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ र सदस्य विमल कुमार होडालाई मोबाइलमा सम्पर्क गर्दा फोन उठेन । एकदिन सदस्य होडाले साउन २८ गते भनपाका प्रमुखसँग भेट्न आउने समय लिए तर भेट्न पुगेनन् । सत्यलाई बङ्ग्याउने काम नगरौँ । अस्पताल अलमल हुने हुनाले नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएको हो र नगरपालिकाले जग्गा र २० लाख सहयोग गरेको कारण पनि भक्तपुर क्यान्सर अस्पताललाई व्यवस्थापन गर्नु उसको दायित्व हो । नगरपालिकाले बनाएको व्यवस्थापन समितिले भ्रष्टाचार छानबिन गर्न समिति गठन गरेको छ, प्रतिवेदनले सत्य सार्वजनिक गर्नेछ ।
(भदौ ५ गते प्रतिनिधिसभा बैठकमा व्यक्त विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *