योगेन्द्रमान बिजुक्छें
केही हप्ताअघि संस्कृतिविद्, साहित्यकार एवं सर्जक सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’ का रूपमा अभिनन्दन हँुदै गर्दा हामी साथीभाइको वृत्तमा अन्य केही व्यक्तिहरूका बारेमा चर्चा परिचर्चा गरिरहेका थियाँै । तीमध्येका केही हुनुहुन्थ्यो – मदनमणि दीक्षित, भैरव रिसाल, तेजेश्वर बाबु गोङ्ग, डा. तीर्थबहादुर श्रेष्ठ, रमेशनाथ पाण्डे, शान्तादास मानन्धर, नारायणमान बिजुक्छें, केदारभक्त माथेमा आदि । उमेरले उहाँहरू अवकाश जीवन बिताउँदै आराम गर्नुपर्ने समयमा हुनुहुन्छ भन्दा कोही नेपालीले असहमत नजनाउलान् । तर, उमेरको कारणले मात्र हामी उहाँहरूको चर्चा गरिरहेका थिएनौँ । बरु उहाँहरूको झन् सक्रिय दिनचर्या विशेषगरी अध्ययन, लेखन, अन्तरक्रिया तथा विचारविमर्शका कार्यक्रमहरूमा सहभागितामा ऊर्जाशीलताको बारेमा गफिंदै निष्कर्षमा पुगेका थियौँ–उमेरलाई परवाह नगरी जति बौद्धिक कर्म र शारीरिकरूपमा सक्रिय हुन सकियो, आयु पनि त्यही हिसाबमा लम्बिदै जाने रहेछ । उहाँहरू सबै शताब्दी पुरुषमा अभिनन्दित हुनेमा हामी सहमत भयौं ।
तर, त्यस छलफलको केही हप्ता नबित्दै हामीले नराम्रो खबर सुन्नुप¥यो । नेपालको पत्रकारिता जगतकै एक हस्ती मदनमणि दीक्षित ९७ वर्षको उमेरमा दिवंगत हुनुभयो– जनैपूर्णीको दिन, साउन ३० गते । होे, एक अग्रज पत्रकार (पायोनियर जोर्नालिस्ट) एवं साहित्यकार आज हामीसामु रहनुभएन । मलाई सम्झना भएसम्म ४२÷४३ सालदेखिको कुरा होला, भक्तपुरमा उहाँ विभिन्न विचार गोष्ठीमा विभिन्न विषयमा अभिव्यक्ति दिनुहुन्थ्यो । उहाँका कति कुरा हामी बुझ्थ्यांै र कति बुझ्दैनथ्यौँ । उहाँबाट सम्पादित र प्रकाशित साप्ताहिक ‘समीक्षा’ एक बौद्धिक साप्ताहिकको रूपमा चिनिन्थ्यो । बेलुकीको खानापश्चात् एउटै ठूलो टेबुलमा जेठो दाजु (नारायणमान बिजुक्छें) र हामी ३ भाइ तातोपानी खाँदै लेखपढमा व्यस्त हुन्थ्यौँ । तीमध्ये प्रत्येक शुक्रबार प्रकाशित हुने ‘समीक्षा’ को नियमित स्तम्भ ‘मेरो देश मेरो संसार’ को सस्वर वाचन पनि हुन्थ्यो । हामी तीन भाइ पालैपालो ती स्तम्भ र अन्य आलेखको सस्वर वाचन गथ्र्यौँ र दाइ सुन्नुहुन्थ्यो । नबुझिएका र क्लिष्ट शब्दहरूको अर्थ र अन्य भावको बारेमा दाइ प्रस्ट पार्नुहुन्थ्यो । धेरै पछि थाहा भयो, ‘समीक्षा’ साप्ताहिकको लेख, भाषाशैली र अन्य सामग्रीको स्तर अन्य पत्रपत्रिकाभन्दा उच्च भएकोले दाइ त्यसलाई चाख लिएर पढ्नुहुन्थ्यो र हामीलाई पनि पढाउनुहुन्थ्यो ।

योगेन्द्रमान बिजुक्छें
भक्तपुरमा हुने विभिन्न प्रवचन, साहित्य गोष्ठी तथा समसामयिक विषयहरूमा हुने कार्यक्रममा हृषीकेश शाह, डा. डिल्लीरमण रेग्मी, पद्मरत्न तुलाधर र मदनमणि दीक्षित पनि वक्ताका रूपमा आइरहनुहुन्थ्यो । एकपल्टको छलफल मदनमणि दीक्षितले आफ्नो पुस्तक ‘दसलाख हिरोशिमातिर’ को बारेमा थियो । पुस्तक अमेरिकाले दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा निर्ममतापूर्वक प्र्रहार गरेको परमाणु बमको विभिषिकाको बारेमा थियो ।
४५ सालको भक्तपुर काण्डपश्चात उहाँको कालिकास्थानस्थित ‘समीक्षा’ को कार्यालयमा जाने काम भने व्हात्तै बढ्यो । जानुको उद्देश्य भक्तपुरमा घटेका विभिन्न घटनाहरूका बारेमा सत्यतथ्य जानकारीबाट ‘समीक्षा’ लाई सूसुचित गराउनु थियो । घटनाको बारेमा उहाँको जिज्ञासा हुन्थ्यो र हामी प्रष्ट पार्ने कोशिश गथ्र्यौं । उहाँ सानो र मसिनो स्वरमा कुरा गर्नु हुन्थ्यो । ‘भक्तपुरको मान्छे’ भन्ने पछि जो कोही तर्किने र डराउने समयमा उहाँ र ‘मातृभूमि’ का गोविन्द वियोगी र सिन्धुनाथ प्याकुरेलले
(वरिष्ठ अधिवक्ता प्याकुरेलसँग कालिकास्थानबाट डिल्लीबजार जाने पुछारमा अवस्थित उहाँको ल फर्ममा भेटघाट हुन्थ्यो) हामीलाई हप्कीदप्की गरेको र ठूलो स्वरमा कुरा गरेको अनुभव कहिल्यै भएन । बरु चिया–बिस्कुटको आतिथ्यतासँग होस पु¥याएर हिँड्नु भनी सचेत गराउनुहुन्थ्यो । भक्तपुर काण्डकै सिलसिलामा गैरकानुनी तरिकाबाट शनिबारको दिन पारी प्रहरीले नियोजितरूपमा गरेको सरजमीनलाई बदर गर्न भक्तपुरका जनताले गरेको हस्ताक्षर सङ्कलन र अभियानको रिपोटिङ्ग ‘समीक्षा’ साप्ताहिकसहित अन्य मुख्य पत्रपत्रिकाले प्राथमिकतासाथ छापेपछि घटनाका बारेमा आममानिसहरूमा रहेको गलत धारणामा परिवर्तन आएको थियो ।
कुनै बेला वीरगञ्जको त्रिजुद्ध हाइस्कूलका हेडसर हुनुभएका दीक्षित भारतका विख्यात दार्शनिक एवं विद्वान डा. सर्वोपल्ली राधाकृष्णन्का शिष्य हुनुहुन्छ भने धेरैलाई जानकारी नहुन सक्छ । भारत स्वतन्त्र हुने सङ्घारमा आइपुग्दा ‘क्रिश्चियनमिसनरी’ को मोडेल पछ्याउँदै अबउप्रान्त भारतीय दर्शन र धर्मलाई संसारभर प्रचारप्रसार गर्न एक ‘हिन्दू मिसनरी’ टीम तयार गर्ने सरसल्लाह नेहरू र डा. सर्वोपल्ली राधाकृष्णन्बीच आन्तरिक छलफल हुँदै थियो । स्नातकोत्तर तहको एउटा कोर्स तयार गरी २५ जनाको टीम बनाउने योजना रहेकोमा १३ जनामात्र विज्ञापनबाट छनोट हुनसके । ती १३ जनामध्ये पहिलो ७ जनामा मदनमणि दीक्षित पनि चुनिनुभएको थियो । हिन्दू धर्म र दर्शनका चार सयवटाभन्दा बढी किताब पढ्नुपर्ने र त्यससम्बन्धी प्रकाण्ड विद्वानहरूका प्रवचन समावेश हुने त्यस कोर्सलाई मदनमणि दीक्षितले पार लगाउनुभएको थियो । दुई वर्षको कोर्समा उहाँको जीवनकै महत्वपूर्ण मोड भएको कुरा आफ्नो विश्वविद्यालय शीर्षकको संस्मरणमा लेख्नुभएको छ । ज्ञान र सूचना कहिल्यै अन्तिम र निरपेक्ष हुँदैन भन्ने सन्देश दिन उहाँले सोही संस्मरणमा गुरु राधाकृष्णन्को भनाइलाई यसरी संस्मरण गर्नुभएको छ, “ अब तपाईँहरूको परीक्षा हुनेछ । त्यसपछि फेरि तपाईँहरूसँग मेरो भेट हुने छैन । यो विश्वविद्यालयमा अध्ययन गर्दाका यी वर्षहरूमा छात्रहरूले प्राप्त गर्नुभएको ज्ञान अब आउँदो परीक्षापछि तपाईँहरूले प्रवेश गर्ने नयाँ समाज, नयाँ संसारका निम्ति काम लाग्नेछैन । तसर्थ तपाईहरूले नयाँ समाज र संसारका निम्ति आफ्नै नयाँविश्वविद्यालयमा जीवनभर थप अध्ययन गर्दै जानुपर्नेछ । ”
सायद काशी हिन्दू विश्वविद्यालयका तत्कालीन विद्वान प्राध्यापकहरू डा. सर्वोपल्ली राधाकृष्णन्, एस के मैत्र, बी. एलआत्रेय, टी आर भीमूर्ति, पीनागराज रावजस्ता पूर्वीय दर्शनका दिग्गजहरूको सामिप्यले खारिनुभएका दीक्षितले आफूलाई पूर्वीय दर्शनमा मात्र सीमित राख्नुभएन । बरु विद्वान गुरुहरूले जगाइदिएको ज्ञानको भोकले गर्दा पश्चिमा दर्शनलाई पनि समानान्तररूपमा अध्ययन गर्नुभयो । त्यसैले उहाँ धार्मिक गुरु वा धर्मभिरु बन्नुभएन । वेद, उपनिषद्, स्कन्दपुराण, रामायण, गीता, महाभारतलाई उहाँले धार्मिक ग्रन्थको रूपमा होइन, दर्शन र साहित्यको रूपमा वरण र व्याख्या गर्नुभयो र आफ्नो सोचाइलाई फराकिलो पार्नुभयो । त्यसैले आफूभन्दा पहिले कम्युनिस्ट बनिसकेका भाइ महेशमणि दीक्षितसँग मागी पढेको ‘कम्युनिस्ट घोषणपत्र’ र माक्र्सको द्वन्द्वात्मक भौतिकवादको अध्ययनले उहाँलाई कम्युनिस्ट बन्न प्रेरित ग¥यो । २००७ देखि २०४२ सम्म निरन्तर कम्युनिस्ट बन्नुभएका दीक्षितलाई एक ठूला कम्युनिस्ट नेता ढाेंगी भएको चालपछि यसबाट आफू विचलित भएको र उनी त्यस दिनदेखि कम्युनिस्ट नभएको बताउनुहुन्थ्यो ।
२०३९ मा मदन पुरस्कार पाएको उहाँको पौराणिक कथामा आधारित उपन्यास ‘माधवी’ लाई नेपालको साहित्यिक क्षेत्रको लागि मात्र होइन, समग्र एसियाकै एउटा बोझिलो कृति मानिन्छ । फोटोग्राफी, पत्रकारिता, साहित्य र दर्शनका अथक साधक मदनमणि दीक्षित जीवनका अन्तिम घडीमा समेत सही ज्ञानको सूचनाको बारेमा चिन्तित हुनुहुन्थ्यो । नेपाली सङ्गीत जगतलाई उहाँ चियाइ रहनुहुन्थ्यो । गायक नारायणगोपाललाई वरिष्ठ गायक भन्ने परम्परा तोडेर स्वर सम्राटको उपमा दिने व्यक्ति अरु कोही नभएर मदनमणि दीक्षित नै हुनुहुन्थ्यो । ज्ञानको खोज र साधना गर्न उहाँबाट हामी सबैले प्रेरणा लिनसके उहाँमा हाम्रो सच्चा श्रद्धान्जली हुनेछ ।
६, भदौ २०७६
Leave a Reply