भर्खरै :

सम्भाषण : रोहितको “जेलका चिट्ठीहरू”

सम्भाषण : रोहितको “जेलका चिट्ठीहरू”

नेमकिपाका अध्यक्ष रोहितको साहित्य, संस्कृति र राजनीतिमिश्रित कृतिका बारेमा मलाई एघार महिनाअघि जानकारी भयो । रोहितको सङ्घर्षपूर्ण जीवन र उहाँको कृतिसँग परिचित भएको एक वर्ष पनि पुगेको छैन । यो निकै ढिलो भयो । यो मेरो गल्ती हो ।
सन् २०१० मा विद्यावारिधि अध्ययन पूरा गरेपछि प्रतिष्ठाको खोजीमा बुर्जुवा वृत्तमै बढी समय बिताएँ, सायद । मैले रोहितलाई औसत राजनीतिज्ञको रूपमा मात्र देखेँ । उहाँको अगुवाइमा अनवरत जारी भक्तपुरको इतिहासलाई देख्दै देखिनँ । समकालीन भक्तपुर विकासको नमुनालाई पनि नजरअन्दाज गरेँ । जुन विकासका नमुनाको परिकल्पनाकार रोहित हुनुहुन्छ । उहाँको सन् २०१५ मा प्रकाशित ‘सय वर्षपछिको भक्तपुर’ किताबलाई भनपाले मार्गनिर्देश गरिरहेको विषयबारे पनि भर्खरै मात्र थाहा पाएँ ।
त्रिभुवन विश्वविद्यालयको जीवनी लेखन पाठ्यक्रम पुनःनिर्माण गर्ने क्रममा रोहितको ‘लेटर फ्रम जेल’ (सन् २०२५) प्रकाशित भएको थाहा भयो । जबकि जेलका चिट्ठीहरू किताब नेपालीमा सन् २०१२ मै प्रकाशित भएको रहेछ । मलाई यसबारे जानकारी थिएन । विद्यावारिधिपश्चात् मेरो अध्ययन नेपाल र दक्षिण एसियाली साहित्यिक क्षेत्रमै समर्पित रह्यो । रोहितका कुनै पनि किताबका बारेमा मलाई जानकारी भएन । बुर्जुवा सार्वजनिक वृत्तले उहाँका कृतिहरू अदृश्य बनाइदियो । अथवा म आफैँ सबाल्टर्नको सार्वजनिक वृत्तसम्म फैलन असफल भएँ ? यो मेरो गल्ती थियो ।
धेरैले रोहितलाई साँघुरो राजनीति रङ्गले हेर्छन्, त्यसरी नै चिन्छन् । मैले पनि रोहितलाई सतही रूपमा चिनेको रहेछु, हाम्रो भेटघाट भएको थिएन । यथार्थमा मैले रोहितलाई चिनेकै थिइनँ । उहाँको राजनीतिक व्यक्तित्वभित्र बाँचेको साहित्यिक–सांस्कृतिक सौन्दर्यचेतसँग जोडिएका कृतिहरू मेरो लागि अदृश्य रह्यो । उहाँका साहित्यिक कृतिहरूसँग म पूरै अनभिज्ञ थिएँ । मेरो प्राज्ञिक वृत्तसँग जोडिएका प्राध्यापक, लेखक, बुद्धिजीवी, अभियन्ता कसैले पनि उहाँका कृतिका बारेमा कहिल्यै कुरा गरेको मलाई याद छैन । मैले नचिनेरै रोहितलाई लामो समय बिताएछु । रोहितको मूल योगदान देख्दै देखेनछु । उहाँ जुन देश, समुदाय र संस्कृतिलाई योगदान दिइरहनुभएको छ त्यो देश, समुदाय र संस्कृति मेरो हो । उहाँले जुन विश्व दृष्टिकोणले समुदायको हितमा योगदान दिइरहनुभएको छ त्यो मेरो पनि हितमा छ । जहाँ व्यक्ति, सामूहिक र शक्तिमा रूपान्तरित भइरहेको छ, यस्तो शक्ति जसले सामूहिकता र समुदायको स्वाधीनतामा अभियन्तालाई समर्पित गराउँदो रहेछ । सबाल्टर्न अध्ययनमा तल्लीन भएर पनि यी कुरा मैले देख्दै देखेनछु, दशकौँ दशक । यी कुरा देख्न हाम्रो हेराइ अलग चाहिँदो रहेछ† औपनिवेशिक दृष्टिकोण दिमागबाट हटाउनु पर्दो रहेछ । हाम्रो ज्ञानेन्द्रीय तथा भावनात्मक बौद्धिकतालाई पनि औपनिवेशिक प्रभावभन्दा पर राखेर हेर्नुपर्ने रहेछ । तब मात्र रोहित र उहाँको समुदायको विद्रोही चेतनासहित सिर्जित सत्व देख्न सकिँदो रहेछ ।
सन् २०२४ सम्म मैले न रोहितलाई चिनेँ, न त उहाँको कुनै कृति नै पढेँ । जबकि मैले धेरै जेल जर्नलहरू पढेँ र पढाएँ : मार्टिन लुथर किङ जुनियरको ‘लेटर्स फ्रम बर्गिमघम जेल,’ अन्तोनियो गाम्चीको ‘प्रिजन नोटबुक’ सहित धेरै कृतिहरू, नुगीवा थियाङको ‘डिटेन्डः अ राइटर्स प्रिजन डायरी,’ सिरिन इबादीको ‘फ्रम दी लिभिङ रुम टु दी कोर्टरुम,’ र ‘इरान अवेकनिङ,’ अम्बेडकरको ‘लेटर फ्रम अम्बेडकर टु डब्लु.ई.बी. दु बोइस्,’ बीपी कोइरालाको ‘जेल जर्नल,’ जङ्गबहादुर राणाको ‘बेलायत यात्रा,’ लैनसिंह बाङ्देलको ‘मुलुक बाहिर,’ भन्दै जाँदा लिस्ट लामो बन्दै जान्छ । यद्यपि, रोहितको जीवनभर जारी साहित्य सिर्जना तथा सांस्कृतिक योगदानबारे मलाई एकरत्ति जानकारी थिएन । यो मेरो गल्ती थियो । यो मेरो गल्ती हो ।
सन् २०२५ जुलाईमा विश्वविद्यालयको जीवन लेखन पाठ्यक्रम परिमार्जन गर्दै गर्दा पुँजीवादी बजारमा उपभोग्य वस्तुझैँ बेच्ने उद्देश्यले प्रकाशित किताबभन्दा प्रतिरोधी इतिहासको नमुनालायक जीवनीकृति खोज्न थालेँ । बुर्जुवा सार्वजनिक वृत्तमा अदृश्य रहेको रोहितको जेलका चिट्ठीहरू सबाल्टर्न सार्वजनिक वृत्तमा उपस्थित देखेँ । बाल विकास माध्यमिक विद्यालय प्रकाशक रहेछ, जहाँ अहिले हामी चिनियाँ भाषामा अनुवादित जेलका चिट्ठीहरू सार्वजनिक गर्न भेला भएका छौँ । एउटा गुठी स्कूलले राजनीतिक तथा सांस्कृतिक प्रतिरोधी इतिहास बोकेको किताब प्रकाशन गर्नु नै नमुना कार्य देखिन्छ । शैक्षिक संस्थाहरूसँग जोडिएर बौद्धिक व्यक्तिहरूसँग सङ्गत बढ्यो । पिँधबाट भक्तपुरको बहुआयामिक इतिहास अध्ययन गर्ने ढोका खुल्यो । रोहितको जेलका चिट्ठीहरू पढ्दा हाम्रो इतिहास, राजनीति, संस्कृति र साहित्यका बृहत् एतिहासिकता उपस्थित भयो । जसले लुकेर बसेको विद्रोही इतिहास हेर्ने आयामसहित भक्तपुर विकास मोडलको मार्गदर्शन देखाइदियो । यसले आफैले आफूलाई खोज्न पनि अभिप्रेरित ग¥यो ः मकवानपुरमा जन्मिएको एक पहिचानविहीन नेवाः जसले युवा अवस्थामै अङ्ग्रेजी साहित्यमा विद्यावारिधि अध्ययन पूरा त ग¥यो तर उसलाई आफ्नो भाषा, संस्कृति, गुठी, पुर्खाको उत्पत्ति भूमि आदिबारे केही थाहा छैन । रोहितको किताबका पानाहरूमा आफ्नो पहिचानले आकार लिँदै गरेको आभाष भयो । पुर्खाको उत्पत्ति भूमिको आधार खुल्दै गएको भान भयो ।
यहाँ रोहितको जेलका चिट्ठीहरूबारेमै केही थप कुरा राख्छु । एउटा साहित्यिक कृतिले बहुल अर्थ बोकेको हुन्छ । तिनलाई हेर्ने, विवेचना र विश्लेषण गर्ने निश्चित दृष्टिकोणअनुसार अलगअलग अर्थबोध हुन्छ । न्यु क्रिटिकल दृष्टिकोणले कुनै पनि कृति (टेक्स) लाई ऐतिहासिक परिवेश (कन्टेक्स) भन्दा पर राखेर अध्ययन गर्न सुझाउँछ । कृतिभित्रै शब्द संरचनाले जुन कुरा बोल्छ त्यतिमै कृतिलाई सीमित बनाउन खोज्छ । ऐतिहासिक पृष्ठभूमिमा नउभिइकन प्रभावपरक र पूर्वाग्रही भ्रमबाट मुक्त भई कृतिलाई हेर्ने आग्रहमा न्यु क्रिटिकल दृष्टिकोण कठोर मानकमा रूपान्तरण भएको देखिन्छ । रोहितको कृतिले ऐतिहासिक, सांस्कृतिक र राजनीतिक पृष्ठभूमिलाई समेट्छ र कृति अध्ययनमा यस्ता कठोर मानक भत्काइदिन्छ । साहित्यलाई भूराजनीतिक–सांस्कृतिक विषयसँग जोडिदिन्छ । रोहितको साहित्यिक कृति विशिष्ट सांस्कृतिक इतिहासको रूपमा उपस्थित हुन्छ । जहाँ भूराजनीतिक–सांस्कृतिक विषय साहित्यमार्फत उजागर हुन्छ । साहित्यिक सौन्दर्य सांस्कृतिक–राजनीतिक विषयसँगै प्रतिबिम्बित हुन्छ । रोहितका कृतिलाई अध्ययन गर्दा ऐतिहासिक पृष्ठभूमिलाई पर राख्न मिल्दैन । ऐतिहासिक पृष्ठभूमि कृति सँगसँगै उपस्थित हुन्छ ।
रोहितको कृतिमा, न्यु हिस्टोरिसिस्टले सुझाएझैँ, भूराजनीतिक–सांस्कृतिक सौन्दर्यका आयामहरू ऐतिहासिक र समकालीन सन्दर्भसँगै उभिन्छन् । पाठकले रोहितको जेलका चिट्ठीहरू पढेर मात्र पुग्दैन, ती चिट्ठीहरू जन्माउने ऐतिहासिक परिवेश र परिस्थिति पनि पढ्नु पर्दछ, बुझ्नु पर्दछ । उहाँका चिट्ठीहरूले त्यस समयको प्रतिरोधी आन्दोलन सन्दर्भको ऐतिहासिकता दर्साउँछ । न्यान्सी फ्रेजरको ‘सबाल्टर्न पब्लिक’ र कार्लो जिन्जबर्गको ‘माइक्रोहिस्टी«’ ले आँैल्याएझैँ उहाँका चिट्ठीहरूले हैकमले अदृश्य बनाएर दबाइएको इतिहासलाई उजागर गरिदिन्छ । नअटाइएका आवाजलाई सार्वजनिक वृत्तमा उभ्याइदिन्छ । जुगन हबरमासले जसरी बुर्जुवा सार्वजनिक वृत्तको विस्तार गर्दै त्यसैभित्रै आफ्नो आवाज अटाउने स्पेस खोज्न छाडेर अलग्गै सबाल्टर्नको सार्वजनिक वृत्त निर्माणमा रोहितका चिट्ठीहरू वाचाल देखिन्छन् । ग्राम्चीले आँैल्याएझैँ, ‘हैकम,’ ‘बौद्धिक,’ र ‘अथक अभियानकर्मी’ को कर्तव्यबोध गराउन उहाँका निजी चिट्ठीहरू सार्वजनिक विमर्शको विषय बनेर गुन्जिन्छन् । जहाँ रोहितको समुदाय ‘अथक अभियन्ता’ बनेर प्रतिरोधी सिर्जनामा समर्पित देखिन्छन् । उहाँका ससाना चिट्ठीहरू भक्तपुरको कलात्मक तथा सांस्कृतिक प्रस्तुतिझैँ रङ्गीन स्वरूपमा प्रतिबिम्बित हुन्छन् । चिट्ठीमार्फत दबिएका, दबाइएका ऐतिहासिक आवाजहरू प्रतिध्वनित हुन्छन् ।
रोहित त्यसताका २२ महिना जेल परेको बुझिन्छ तर उहाँले जेलबाट कति वटा चिट्ठीहरू लेख्नुभयो, यकिन भन्न सकिन्न । यस कृतिमा सन् १९८८ र १९८९ मा नख्खु जेलबाट लेखिपठाएको २१ वटा चिट्ठी समेटिएको छ । सम्बोधित प्रापक शोभा प्रधानले चिट्ठीको जवाफ लेखिन् वा लेखिनन्† यसै भन्न सकिन्न । कृति पढ्दा उहाँ सन् २०२२ जून २२ मा क्यान्सरका कारण बितेको बुझिन्छ । उहाँको सङ्घर्षका बारेमा मलाई कुनै जानकारी थिएन । एक स्कूल शिक्षिका, बृहत् परिवारकी बुहारी र कमरेड शोभाले भोगेका पीडाका दृश्यहरू चिट्ठीमा यदाकदा टुक्राटाक्री ध्वजाहरूबाट चियाउँदा मात्रै देख्न सकिन्छ । अदृश्यतामै उहाँको उपस्थिति देख्न सकिन्छ । उहाँको अनुपस्थिति नै उहाँको उपस्थिति बन्छ । उहाँको आवाज मौनतामा मात्रै सुनिन्छ । यसरी हेर्दा, भक्तपुरमा प्रतिरोधी बौद्धिक महिला व्यक्तित्व निर्माण कसरी जारी रहन्छ भन्ने विषयले थप अध्ययन मात्रै माग गर्दैन, गायत्री चक्रवर्ती स्पिभाकको दाबीमा सहमति वा असहमतिसहित ‘सबाल्टर्न बोल्न सक्छ कि सक्दैन’ र ‘महिला सबाल्टर्न साँच्चै बोल्न सक्दैन त’ भन्ने विषयमा गहन बौद्धिक विमर्श माग गर्छ । भक्तपुरको महिला नेतृत्वको सुनिश्चित भविष्यका लागि यो विमर्श अत्यावश्यक देखिन्छ ।
शोभा प्रधानको मौनताभित्र अध्यक्ष रोहित अथक अभियन्ताको लडाइँ लडिरहेको देखिन्छ । जहाँ उहाँको समुदाय प्रत्यक्ष परोक्ष दुबै स्वरूपको हैकमविरुद्ध उभिन्छन् । वैकल्पिक शक्ति निर्माणको क्रममा राजनीतिक दल गठन गर्छ, नेमकिपा । स्थानीय र अन्तर्राष्ट्रिय दुवै स्वरूपका दमनकारीविरुद्ध उनीहरू निरन्तर उभिन्छन् । रन्जित गुहाले सबाल्टर्न अध्ययनको क्रममा उजागर गर्ने गरेको विचारले भन्छ ः ‘हैकम होइन जस्तो लाग्ने, हैकम’ देखिने हैकमभन्दा बढी डरलाग्दो दमन लाद्न सक्रिय रहन्छ । आफ्नो समुदाय र देशमा ‘डोमिनेन्स वीदाउट हेजेमोनी’ डरलाग्दो रूपमा लादिएको देख्ने रोहित जीवनभर प्रशिक्षक, विद्रोही अगुवा र सङ्गठक बनेर साहित्यलाई संस्कृति र राजनीतिसँग जोडिरहेको सिर्जनशील व्यक्तिका रूपमा देखा पर्छन् ।
विश्वविद्यालयमा जीवन लेखनी अध्ययनको क्रममा एउटा उदाहरण दोहो¥याइरहन्छु ः हाम्रो जीवन नै इतिहास, भूगोल, धर्म, आध्यात्मा, सङ्गीत, भाषा, साहित्य सबै हो, के चाहिँ होइन र ? यो तथ्य रोहितको लेखनीमा प्रतिबिम्बित देखिन्छ, उहाँका चिट्ठीहरूमार्फत । उहाँको जीवनीपरक अस्तित्वहरू ः ऐतिहासिक, साहित्यिक र राजनीतिक अस्तित्व एक आपसमा खप्टिएर उपस्थित हुन्छन् । पाठकलाई उहाँको स्पट पहिचान पहिल्याउन गाह्रो पर्छ । एक राजबन्दी चिट्ठीहरूमार्फत बौद्धिक विद्रोही व्यक्तिका रूपमा पुस्तकका पानाभरि उभिन्छन् । कतै प्रेमिल श्रीमान् त कतै प्यारो बुबा बनेर उभिन्छन् । यद्यपि, उहाँ सामाजिक सांस्कृतिक अभियन्ता तर आफ्नो वैचारिक, नैतिक राजनीति र व्यवहारबाट सदा अविचलित देखिनुहुन्छ । उहाँको वैचारिक व्यवहारबाटै आफ्नो समुदाय र देशप्रति समर्पित देखिन्छ, जसको उपलब्धि समकालीन भक्तपुर विकासका कार्यहरूमा पनि प्रतिबिम्बित देखिन्छ ।
अन्तमा, आफ्ना गल्तीहरू स्वीकार गर्दै कसैले पत्याउन वा नपत्याउन, स्वाधीन स्वरमा यति भन्छु : रोहितका निजी चिट्ठीहरूले बृहत् भुराजनीतिक–सांस्कृतिक सूक्ष्म इतिहास उजागर गर्छ जहाँ ‘म्याक्रो इतिहास’ ‘माइक्रो इतिहास’ मार्फत प्रतिबिम्बित हुन्छ । उहाँको जीवनीमिश्रित यी चिट्ठी र अन्य कृतिहरूले हामीलाई क्षणिक होइन अनवरत समर्पित ‘अथक अभियन्ता’ बन्न अभिप्रेरित गर्दछ, जुन सामुदायिक शक्ति, सांस्कृतिक सौन्दर्य र नैतिक राजनीतिको रक्षार्थ अपरिहार्य हुन्छ ।
(यो मन्तव्य बाल विकास इङलिस सेकेन्डरी स्कूलद्वारा शुक्रबार आयोजित चिनियाँ भाषामा अनुदित ‘जेलका चिट्ठीहरू’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक तारालाल श्रेष्ठले व्यक्त गर्नुभएको हो–सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *