भर्खरै :

भक्तपुर काण्डको धमिलो सम्झना

तीन दशकअघि पञ्चायती राज्यस्तरबाटै तत्कालीन नेमकिसङ्गठनका नेता–कार्यकर्ता र समर्थकहरूलाई जाली मुद्दामा फसाई सङ्गठनलाई पुरै सिध्याउने षड्यन्त्र बुनिएको थियो । मेरा पुस्ताका साथीहरूले त्यो विषम परिस्थितिबारे थोरै महसुस गरे पनि त्यो षड्यन्त्रबारे बुझ्न पार्टीका लेख–रचना र यस्तै कार्यक्रमहरूले हामीलाई सघाएका छन् । हाम्रा सङ्गठनका अग्रजहरूले नेतृत्व गर्नुभएको किसान क्रान्तिबारे नयाँ पुस्ताका हामीमध्ये धेरै अनभिज्ञ रहेको अवस्थामा निरन्तर बैठक–प्रशिक्षण, प्रकाशनको कमी भए भदौ ९ को सम्झना पनि धुमिल हुनसक्छ ।
३–४ वर्षको थिएँ म त्यतिबेला, धेरै कुरा याद त छैन मलाई । केही घटनाहरू सम्झनामा छन् । कुनै तस्वीरजस्ता अचल, कुनै चलचित्रजस्ता चलायमान तर, सिलसिलेवार छैन ।
भदौ महिनाको एकबिहान निद्रा खुल्दा बुबा घरमा हुनुहुन्थेन । बुबालाई राति नै पक्राउ गरेर लगिएको रहेछ, म निद्रामै थिएँ । बुबा खै भनी आमालाई सोध्दा, “पर जानुभएको छ, आउनुहुन्छ” भन्ने उत्तर दिनुहुन्थ्यो । बुबा पहिले पनि बाहिर जानुहुने भएकोले मैले सहजरूपमा लिएको थिएँ । तर पर जानुभएका बुबा आउनुभएन । घरमा हजुरआमा, आमा र दिदी हुनुहुन्थ्यो, काकाहरू सबै बाहिरै भूमिगत हुनुभयो भन्ने कुरा मलाई के थाहा ? त्यो बेला त यति बुझेँ काकाहरू अब घर आउनुहुन्न । सधैँजसो बजिरहने फोनको घण्टी अब कम बज्न थालेको थियो, तर कारण बुझ्दिन थिएँ । मेरो सानो दिमागले ती काला दिनहरूलाई बुझेन । आमा र अरू काकीहरूको दुःख मैले विस्तृतरूपमा जानिनँ ।
मेरो पढाइ पनि केही समयका लागि बन्द भयो, नियमित विद्यालय जाने क्रम टुट्यो । आमाले मेरो र भाइको अगाडि दुःखले रूनुभएको मलाई थाहा छैन । मन किन नभक्कानिँदो हो, आँखाहरू किन नरूँदा हुन् ? तर, मनका पीडा, चोट हाम्रो अगाडि पोखिन दिनुभएन ।
सम्झनाहरू खोतल्दा हनुमानघाटको सरजमिनका दृश्यहरू आउँछन् आँखा अगाडि । मलाई कसैले बोकेर लानुभएको थियो । कसले बोक्नुभएको भने याद छैन तर ठूलो जनमानस र गाग्रीमा पानी बोक्नुभएका काकीहरूको हुल म अझै सम्झन्छु । ‘उता राखेको छ, उतै जाऊँ भनेका जस्ता आवाज, केही नाराबाजी पनि छन् सम्झनामा । तर परोपकारनिरको त्यो ठूलो चौतारोभन्दा उता गएको सम्झना मसँग छैन । सायद मलाई घर फर्काइएको थियो चाँडै नै ।
पछि बुबालाई भेट्न आमाको पछि लागेर जेल गएको स्पष्टसँग सम्झन्छु म । सदर कारागार त्रिपुरेश्वर । हामी फलामे डण्डीको गेट बाहिर हुन्थ्यौँ, बुबा भित्र उभिनुहुन्थ्यो, अनि कुरा हुन्थ्यो । केही सोध्नुहुन्थ्यो म उत्तर दिन्थेँ । आमासँग के भन्नुहुन्थ्यो त्यो चाहिँ याद भएन । म जान्दिनँ बुबालाई जेलमा देख्दा मेरो कलिलो मस्तिष्कले के निष्कर्ष निकाल्यो तर, बुबालाई भेट्न पाउनु नै मेरो लागि सायद ठूलो कुरा थियो । पछि कान्छा काकालाई पक्राउ गरी राखिएको त्यही नजिकैको भद्रगोल जेलमा पनि गएको सम्झना छ । घर आएर घरको फलामे डण्डीको झ्यालबाट बाहिर हेरेर म आफू जेलमा भएको कल्पना गर्थेँ, एक्लै त्यसरी नै खेली बस्थेँ ।
आमा र म ट्रलीबस चढेर थापाथली पुग्थ्यौँ र त्यहाँबाट अर्को बसमा जावलाखेलसम्म । अनि त्यो एकान्तकुनाको ओरालो (सडक किनारमा बेच्न राखिएका गलैँचा, चक्रपथ कटेर नख्खु खोलातिर झर्ने ओरालो याद छ । नक्खु कारागारमा बुबालाई भेट्न म आमासँगै जान्थेँ, लामो बाटो भए पनि आमासँग ढिपी गरेरै जान्थेँ। त्यहाँ पनि उस्तै फलामे डण्डीको गेटले छुट्याएको हुन्थ्यो हाम्रो परिवार । २०४६ को आन्दोलनपछि नै होला सायद बुबा छुटिसक्नुभएको थिएन अनि बाहिर बगैँचामा भेट्न दिइएको थियो ।
२०४६ को आन्दोलन ताकाका केही दृश्यहरू स्मृतिका पानाहरूमा छन् । जुलुस, नाराबाजी, अश्रुग्याँस, काटेको प्याज, आँखा पखाल्न पानी अनि दिन–रातको कर्फ्यू । एक दिन कर्फ्युको बेला छतमा जाँदा तल सडकका सैनिकले बन्दुक तेस्र्याएर तल जान भनेको याद छ । त्यतिबेला हाम्रो घरको छतबाट तल सुकुलढोकाको बजार थोरै देखिन्थ्यो । अहिले त्यहाँ सार्वजनिक जग्गा मिचेर घर बनाइएको छ, अब सडक देखिँदैन ।
हेर्दाहेर्दै धेरै परिवर्तन भइसक्यो हाम्रो सेरोफेरो । पहिले त्रिपुरेश्वरको सदर कारागारबाट टेकु जाने सडक स्पष्ट देखिन्थ्यो । केही महिनाअगाडि सदर कारागार खोज्न फेरि म त्यही बाटो गएको थिएँ – पुराना यादहरू फर्काउन । तर तल सडक त देखिएन नै, मेरो मस्तिष्कमा भएको पहिलेको बाटोको मानचित्रसँग अहिलेको बाटो मेल खाएन ।
उही कुरा नख्खु जाँदा हुन्छ अहिले । त्यो बेला सुनसान झाडीयुक्त कच्चीबाटो हुँदै तल खोलासम्म ओरालो लागिन्थ्यो । नख्खु कारागारको आँगनबाट नख्खु खोला र पारिको ठूलो फाँट देखिन्थ्यो । अहिले अग्ला अपार्टमेन्टल, पाँचतारे अस्पतालले खोला मिचेको छ, घरहरूले सबै हरियो सिध्याएका छन् । भौतिक परिवर्तन कति धेरै भएको छ यहाँ ।
समय परिवर्तनशील छ, सबै कुरा परिवर्तन हुन्छ भनिन्छ । तर केही कुरा भने परिवर्तन भएजस्तो लागे पनि सारमा त्यो उस्तै रहन्छ । राम्रा मान्छेलाई बिगार्न नसके सिध्याउने, दबिएकालाई उठ्न नदिनेजस्ता खेल हुन्छन्, त्यसमा परिवर्तन आएको छैन । जसरी नेमकिसङ्गठनका कर्मठ कार्यकर्ताहरूको निःस्वार्थ कामबाट अत्तालिएर सङ्गठनलाई सिध्याउन षडयन्त्र बुनियो, त्यस्तो षडयन्त्र रच्ने सोचमा केही परिवर्तन आएको छैन । हालै नेपाली काङ्ग्रेसका भक्तपुर जिल्ला सभापतिले भक्तपुर क्यान्सर अस्पतालसम्बन्धी पत्रकार सम्मेलनमा ‘ह्योजू काण्डजस्तै रोहित काण्ड हुनसक्छ’ भनेर बोले । सोच्दा कुरा बहुलठी जस्तो लागे पनि चुरो कुरा यहाँ छ – हामीलाई फसाउने मनसाय अझ पनि हाम्रा विरोधीहरूमा छ, उसैगरी अपरिवर्तितरूपमा । दिन–रात नभनी जनताको पक्षमा काम गर्ने, सत्यको पक्षमा लाग्नेहरूलाई अनेक तवरले दुःख दिने, निर्मूल गर्ने षड्यन्त्रकारीहरूको सोचमा बिलकुल परिवर्तन आएको छैन, बरू अझ विकसित भएको होला । चनाखो भई, निकै सोच विचारी, बुद्धि लगाई हामीले जनताको सेवा गर्नुपर्ने छ ।
जङ्गलमा तरूनो रूखले एकदिन बूढो रूखलाई भन्छ – “बाजे, हेर्नुस् त हाम्रोतिर एउटा बञ्चरो आउँदै छ ।” बूढो रूख भन्छ – “म त राम्ररी देख्दिनँ, के बञ्चरो एक्लै छ ?” ‘अँ, एक्लै छ बाजे ।” अनि बूढो रूख भन्छ – “सुर्ता नलिऊ, हाम्रो केही बिगार्न सक्दैन यसले ।”
अलिक दिनपछि फेरि बञ्चरो आएको खबर तरूनो रूखले दिन्छ । तर यसपालि बञ्चरो एक्लो आएको हुन्न । “बाजे, आज त बञ्चरोसँग काठको बिँड पनि छ ।” बुढो रूखले लामो सुस्केरा तान्दै भन्छ – “काठसँगै आएछ भने त बित्याँस् भो, अब हामी सबै काटिन्छौँ।”
कथाको सन्देश स्पष्ट छ – हामीलाई फसाउन, सिध्याउन हामीले आफ्ना भनेर मानेकाहरूले नै मुख्य भूमिका खेल्छन् । हाम्रा अग्रजहरूले, बुबा–आमा, काका–काकीहरूले पाउनुभएको दुःख, पीडा र उहाँहरूले भोग्नुभएको त्यो कालरात्रीले हामीलाई यो कुरा पनि सदैव सम्झाओस् । हाम्रो वर्गसङ्घर्षको पथमा हामीले शत्रुमात्र होइन हामीभित्रका काठका बिँडहरूलाई पनि चिन्नुपर्छ र तीसँग सदैव चनाखो हुनुपर्छ ।
(नेपाल क्रान्तिकारी महिला सङ्घले सोमबार आयोजना गरेको भक्तपुर काण्ड भत्र्सना कार्यक्रममा व्यक्त मन्तव्य । बिजुक्छेँ नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँका ज्येष्ठ पुत्र हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *