भर्खरै :

देशमा मेडिकल र भूमाफिया चल्मलायो

हेटौँडा, १२ भदौ । प्रदेश नं. ३ को प्रदेशसभा बैठक बिहीबार पनि चालू रह्यो । शून्य समयमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्रराज गोसाईले देशमा मेडिकल माफिया र भूमाफियाहरू चल्मलाइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
सांसद गोसाईले जनप्रतिनिधिको आवरणमा देखापरेका भूमाफियाविरुद्ध जनता सङ्घर्षरत रहनुपर्ने विचार व्यक्त गर्नुभयो । “काठमाडौँको ठमेलस्थित कमलपोखरीमा व्यापारिक कम्प्लेक्स छाया सेन्टर निर्माण गरिएको र सम्पदा म्हासेर बनाइएको कम्प्लेक्सको उद्घाटन सत्तासीन दलका एक नेताले गरेर माफिया पोसेकोप्रति जनता आक्रोश पोख्दै छन् । छाया सेन्टर भत्काउनुपर्ने र त्यस्तो सामाजिक सांस्कृतिक अपराध कर्म गर्ने र अपराधीलाई संरक्षण दिनेमाथि जनता कडा कारबाहीको माग गर्दै छन् ।” उहाँले भन्नुभयो ।
सांसद गोसाईले देशको विभिन्न भू–भागमा डेंगु महामारी फैलिएको तर नियन्त्रणको निम्ति सरकारमा कुनै तयारी नदेखिनु लज्जाजनक भएको विचार राख्नुभयो । उहाँले चाडपर्व नजिकिएसँगै बजारमा अखाद्य पदार्थको आतङ्क बढ्न थालेकोमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।
बैठकमा सांसद सृजना सैंजूले हरेक वर्ष जनता बाढी, पहिरो र डुबानको मारमा पर्ने गरेको प्रसङ्ग प्रस्तुत गर्दै भन्नुभयो, “के सरकारको कर्तव्य भनेको समवेदना र श्रद्धाञ्जली व्यक्त गरी गोहीको आँसु चुहाउनमा सीमित राख्नु उचित हो ।”
सांसद सैजूले भन्नुभयो, “अस्तव्यस्त सडक, अधुरो निर्माण तथा असुरक्षित यात्राका कारण नेपालीहरूको अनाहकमा ज्यान गइरहेको छ तर सरकारको उपस्थिति कहाँ छ ?”
उहाँले भन्नुभयो, “पर्यटन वर्ष सुरु हुन चार महिनामात्र बाँकी छ । उपत्यकाको एउटा प्रमुख पर्यटकीय गन्तव्य नगरकोट पुग्ने सडक विगत ६ वर्षदेखि भताभुङ्ग अवस्थामा छोडिएको छ । ठग ठेकेदारमाथि कुनै कारबाही भएन । उल्ठै सरकारी दलले संसदीय अनुगमनको नाटक मञ्चन गरी म्याद थप गर्ने बेइमानी ग¥यो । यो अत्यन्त निन्दनीय छ ।
भदौ ८ गते सुरु भएको बैठक भदौ १२ गतेसम्म चल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *