भर्खरै :

डा. ज्ञवालीको “इन्द्रधनुष” माथि एक दृष्टिगोचर

सीतु
नेपाली साहित्यलाई ‘औंसीका फूलहरू’ (२०४९), ‘स्वप्नदृष्टि’ (२०७४), जस्ता महाकाव्य र ‘एकादेशमा’ (२०६१), ‘हिँडी रहूँ हिँडी रहूँ’ (२०७२) जस्ता खण्डकाव्य सुम्पेर गुण लगाउने कवि डा. रामप्रसाद ज्ञवालीले हालै आफ्नो एक सय सातौं कृतिको रूपमा कविता सङ्ग्रह ‘इन्द्रधनुष’ पाठकहरूबीच पु¥याए । विसं २०६८ पछि रचिएका कविताहरूमध्ये केही छानिएका फुटकर कविताहरू यसमा सङ्ग्रहित छन् । ‘भाषाको शुद्धता, शैलीको मौलिकता, लयको माधुर्य, भावको प्रगाढता र विचारको स्पष्टता होओस्’ भन्नेबारे विशेष ध्यान यस कृतिमा पु¥याइएको कवि स्वयम्को स्वीकारोक्तिले प्रस्ट हुन्छ कि यो कृतिले ‘गुणी र विज्ञ पाठकहरू’ को खोजी गर्दछ । ‘अनुप्रभावको तह नाघेर मौलिक स्थापनाको तहमा’ अर्थात ‘आविष्कारको तह’ मा पुग्न खोजिरहेको कविको यो कविता सङ्ग्रह भएको नाताले पनि यसको गम्भीर अध्ययन एवं स्वस्थ समालोचना स्वयम् स्रस्टाको निम्ति समेत आवश्यकीय विषय मान्न सकिन्छ ।
‘जाग्ने–जगाउने मान्छे, मेरा आदर्श गौरव’ भनी घोषणा गर्ने कवि ज्ञवालीले विशेषतः नेपाली प्रगतिशील तथा प्रगतिवादी धारको प्रतिनिधित्व गर्छन् । यस सङ्ग्रहका हरेक कविताले त्यसको पुस्ट्याइँ पेश गर्छ । उनी निर्धक्क भई आफ्नो मनको चित्र उतार्छन् र लेखनीको उद्देश्य प्रस्ट्याउँछन्–
‘………………….
परिवर्तनका निम्ति
सङ्घर्ष जसले गरे
मेरो श्रद्धा तिनैलाई
जसले चेतना छरे ।’
(समर्पित छ यो मसी)
त्यसकारण मनमा दुविधा नराखी भन्छन्, ‘के काम त्यस्तो कविता जल्ले उज्यालो दिँदैन ?’ र कति कविहरूसमक्ष हाँक तेस्र्याउँछन्, ‘के काम त्यस्तो कविको जल्ले जिन्दगी लेख्दैन ?’
कवि ज्ञवालीका कवितामा युगको आवाज घन्किन्छ । जनताका पीडा, व्यथा, आक्रोश र विद्रोह छचल्किन्छ । सत्ताले घोषणा गरेका प्रायोजित नायकहरूप्रति असहमति जनाउँछ र बादशाहलाई उदाङ्गो पार्छ । त्यसै क्रममा कवि ज्ञवाली देशका वर्तमान नायक प्रति लक्षित गर्दै चिन्ता व्यक्त गर्छन्, ‘टुक्कामा र उखानमा बदलिँदै जान्छन् कि बन्दै गफ ।’ कवि निर्भिकतापूर्वक घोषणा गर्छन्, ‘सल्लाह पनि लिन्न विज्ञ जनको दम्भी छ रे नायक’ बालुवाटार, शितलनिवास, सिंहदरवार ठग नै ठगहरूको घेरामा रहेको व्यापक चर्चा चलिरहँदा कवि ज्ञवाली फरक शैलीमा अभिव्यक्ति राख्छन्, “घेराभित्र छ रे ‘गणेश’……. !”
वर्तमान सरकारसँग असहमति जाहेर गर्दै विद्यमान विसंगतिप्रति तीव्र आक्रोश कवि ज्ञवाली यसरी पोख्छन्–
‘चिन्ता छैन कुनै बलात्कृत बनुन् रोउन् मरुन् जोसुकै
बाटा भत्किरहुन्, चलोस् न पहिरो, सीमा मिचोस् जोसुकै
रोक्छन् झैँ ‘सुनकाण्ड’ हुन्छ दिनमा थुप्रिन्छ रे रातमा
हाँस्छन् ‘पप्पुहरू’ यिनैसित बसी ठेक्का लिँदै हातमा ।’
(आऊ फेरि गरौं )
हो, यतिखेर ‘पप्पुहरू’ को हालीमुहाली छ, केन्द्रदेखि गाउँसम्म ! पप्पुहरूको राज, पाखण्डहरूको राज चलिरहेछ ! ‘कामरेड चाहिं गुमनाम, गुन्डाको गुणगान !’ अब यस्तै कहावत चल्दैछ र त्यो दुर्भाग्य भोग्न नेपाली जनता बाध्य छन् । यो परिस्थिति चिर्न अब फेरि अर्को आन्दोलनको पर्खाइमा यो वर्तमान छ भन्ने सन्देश ‘आऊ फेरि गरौं’ कविताले दिन्छ ।
यही व्यवस्थालाई अन्तिम गन्तव्य नठानी यात्रा अगाडि बढाउन परिवर्तनकामी नेपाली जनतामा आह्वान कवि ज्ञवाली यसरी गर्छन्–
आऊ मार्ग बनाउँदै अब हिँडौं आँधीहुरी झैं सँगी !
फोर्दै पर्वतका कुना वन घना कोसी नदीझैं बगी !
झाडी जङ्गल खोंच पर्वत हुँदै बाटो बनाई नयाँ !
आऊ फेरि गरौं नयाँ शिखरको यात्रा हिमाली यहाँ !
(आऊ फेरि गरौं)
‘बेग्लै मानिस हो गुुरु’ मा कवि ज्ञवाली गुरुको एउटा सुन्दर आकृति उतार्छन् । गुरुको साख दिन प्रतिदिन ओरालो लागिरहेको हेर्न बाध्य नेपाली जनलाई गुरुको यो महिमा–गानले केही सान्त्वना दिनेछ । सायद आपैm एक गुरु हुनुको भाव उनले यस कवितामा व्यक्त गरेका हुन् । उनी सरल तर सशक्त ढङ्गमा जिकिर गर्छन्–
‘…………….
हेर्दा सामान्यझैं लाग्ने
बेग्लै मानिस हो गुरु ।’
गुरुबारे आफ्नो अभिमत दरिलो ढङ्गमा पेश गर्दै कवि ज्ञवाली शिर उचाली भन्छन्–
‘शिष्य जे हो त्यही हेर्ने
द्रष्टा–चेतन हो गुरु
शिष्यको जिन्दगी फेर्ने
स्रष्टा–चेतन हो गुरु
……………….।’
वर्तमान ओली सरकारको नालायकीपनका दृष्टान्त र प्रमाणहरू बढ्दै गएकोप्रति कवि अत्यन्तै आक्रोशित देखिन्छन् । दुई तिहाइको शक्ति बोकेर जनताको निम्ति उल्टै बोझ बनिरहेको यथार्थ उदाङ्गो पार्दै ‘भनिदिनू निर्मला पन्तलाई !’ कवितामा निर्मलाहरूप्रति न्याय गर्न असमर्थ सरकारको अकर्मण्यता छताछुल्ल पारिएको छ । शालिन कवि सन्काहा सत्ताधारीको शल्यक्रिया गर्र्दै भन्छन् –
‘गुन्डा जोगाउँछ पुलिसले तथ्य सारा लुकाई
अत्याचारी रति डर नली हिँड्छन् जम्जमाई
बृद्धा साना शिशु पनि लुछी मार्दछन् हा कसाही !
भाला बोक्दै बढ भनिदिनू निर्मला पन्तलाई !’
छोरी, चेली, आमाहरूको सुरक्षाको प्रत्याभूति दिन सरकार असफल भएको घोषणा गर्दै, रक्षकहरू नै भक्षक बनेको यो परिवेशको मूल्याङ्कनसहित कवि आह्वान गर्छन्–
‘ए चेली हो अब त खुकुरी धार लाएर निस्क !
बन्दै काली गिँड असुरका गर्धनी प्राणसुद्ध !
‘न्यायाधीशै’ जब भर दिने गर्छ अन्यायलाई !
‘न्यायाधीशै’ बन भनिदिनू निर्मला पन्तलाई !’
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर रचिएको यो कवितामा नेपाली समाज र शासकहरूको यथार्थ चित्रण पाइन्छ । कविको विद्रोही आवाज यस कविताका शब्द–शब्दमा गुञ्जायमान भइरहेको आभास हुन्छ । त्यस घटनाको सच्चाइ बाहिर ल्याउन डराएबाट शासकहरू कति कायर हुन्छन् र जनताको जीवनको मूल्य उनको निम्ति सस्तो छ भन्ने सोच्न त्यस घटना र यो कविताले बाध्य पार्छ ।
‘लडिराख्छु म’ कवितामा कवि ज्ञवालीले दक्षिण एसियाको सानो देश नेपाल दस वर्षसम्म जबर्जस्त द्वन्द्वमा फसाइएको, नेपाली जनताले अनाहकमा रक्त–आँसु बगाउनु परेको र देशले ठूलो जन–धनको क्षति बेहोर्न परेको विगतको दर्दनाक चित्र प्रस्तुत गरेका छन् । देशी–विदेशी प्रतिक्रियावादी तत्वहरूले नेपाललाई अन्त्यहीन त्रासदीमा फसाउन खोजेपनि कयौं सचेत नेपाली जनताले अविचलित भई सुझबुझपूर्ण तरिकाले अत्याचार, अराजकताविरुद्ध सङ्घर्षलाई निरन्तरता दिए र वैचारिक सङ्घर्षको चिरागलाई निभ्न दिएनन् । विदेशीको ‘ट्रोजन हर्स’ बन्दै देश तहसनहस पार्न खोज्नेलाई कवि प्रश्न तेस्र्याउँछन्–
‘यो कस्तो भोक हो तिम्रो
मान्छेको मासु खानुको ?
रक्त सोसेर बाँच्नुको
बाजले झम्टिएजस्तै
लुछेजस्तै हुँडारले
यो कस्तो सोख हो तिम्रो
मान्छे मारेर हाँस्नुको ?’
देशमा जातीय तथा क्षेत्रीय द्वन्द्वको बीऊ जालसाजीपूर्ण तरिकाले रोपिएको र त्यसलाई मलजल दिएर धार्मिक सहिष्णुता तथा साम्प्रदायिक सद्भाव बिथोल्न खोजिएको प्रसङ्ग ‘विभेदको जड र मुक्तिमार्ग’ मा पाइन्छ । ‘जातीय राज्य’, ‘एक मधेश एक प्रदेश’ आदिमार्फत राज्य विखण्डित र विभाजित पार्न अनेक तŒवहरू सक्रिय रहेका तर स्वाधीनता एवं अस्तित्व रक्षाको निम्ति तीविरुद्ध होशियारीपूर्वक एकजूट हुनुपर्ने आह्वान यस कवितामा पाइन्छ–
‘रोप्दै विभेदका बीज
अन्धविश्वासका जरा
छर्दै विद्वेषका नीति
धर्म, जात, परम्परा
हामीलाई लडाएर
हाँस्ने सामन्तवाद हो
वर्गसङ्घर्षले मात्रै
मास्न सक्छ विभेद यो !’
कविले आफ्नो आस्था, निष्ठा र सैद्धान्तिक पक्षधरता इमानदारीपूर्वक जनसमक्ष खुलस्त राखेका छन् । उनको इमानदारी, अडान र वर्गसङ्घर्षप्रतिको विश्वासले धेरैको भ्रम सजिलै चिर्ने मात्र होइन ढुलमुले प्रवृत्ति र पात्रमाथि कडा प्रहार साबित हुने विश्वास गर्न सकिन्छ ।
‘दुई मधेसी’ कविताले तराई दुई थरि छ भन्ने मान्यतालाई थप प्रस्ट पारेको प्रतीत हुन्छ । शोषक तराई र शोषित तराई गरी दुई वटामा विभक्त रहेको यथार्थ आजपनि उतिनै सत्य हो । तराईका भूमिहीन किसान, शोषित पीडित जनता, अपहेलित तथा दबाइएका अल्पसङ्ख्यक जातजाति बहुमत छन् । ती जनता वास्तवमा तराईलाई माया गर्छन् । परिश्रम गरी देश निर्माणमा निरन्तर अग्रसर छन् । तर, तराईको जमिनदार वर्ग सदा शोषणको निरन्तरता चाहन्छ । त्यो वर्ग आप्mनो देशप्रति पनि साँचो अर्थमा इमानदार छैन ।
हिजो–आजका नक्कली क्रान्तिकारीहरूको भत्र्सना गर्र्दै व्यङ्ग्यात्मक शैलीमा कोरिएको कविता हो– नव क्रान्तिकारी !
कवि भन्छन्–
“‘वर्गीय’ को चिन्तन–ज्ञान मेट्छु म !
‘जातीयता’को जयगान लेख्छु म !
यो ‘नाक’ मा नै पहिचान देख्छु म !
विभेदको ‘राष्ट्रियगान’ लेख्छु म !”
कवितामा निर्लज्जताको पराकाष्टा नाघेर ‘नव क्रान्तिकारी’ भन्छ–
लडुन् भिडुन् जात र जाति देशमा
मरुन्् तराई र पहाड लेकमा
बर्बाद होउन् जनता, छु मत्लब ?
उद्देश्य मेरो ‘नव क्रान्तिकारी’ हो अब !
हो, यतिखेर देश ‘नव क्रान्तिकारी’ अर्थात नक्कली नागका सौखिनहरूबाट आक्रान्त छ । गुन्डा, आर्थिक अपराधी, भू–माफिया सबै–सबै रातारात ‘नव क्रान्तिकारी’ बनेर क्रान्तिको बीऊसमेत समाप्त पार्ने चेष्टा गर्दैछन् । नेपालको राजनीतिक इतिहासमा रातो झन्डा खसाल्न कयौंपटक रातो झन्डा उचालिएका दृष्टान्त छन् । बौद्ध धर्मको प्रचार र लोकप्रियता बढ्दै गएसँगै नक्कली भिक्षुहरू तयार पारिएको र ती भिक्षुहरूको माध्यमबाट बुद्ध र बौद्ध धर्मको बद्नाम गर्न खोजिएको इतिहास छ । आज फरक ढङ्गमा इतिहास दोहोरिँदैछ । क्रान्तिकारीहरूको तेजोबध गर्दै, वास्तविक क्रान्तिको चाहनामाथि नियोजितरूपमा निर्ममतापूर्वक दमन हुँदैछ । त्यसको निम्ति आज हतियार भने भिन्न छ । सरकार, सत्ता, डलर, आइसी, पद आदि आदि प्रतिक्रियावादीहरूका बलिया हतियार बन्दैछन् । गोलीद्वारा पराजित नहुनेलाई गुलियो पोतिएको विषद्वारा परास्त गरिइँदैछ । यस्तै भावभूमिमा कवि ज्ञवालीले रचे ‘नव क्रान्तिकारी ’!
कवि ज्ञवालीका सताइस वटा कविताहरूको सङ्गालो ‘इन्द्रधनुष’ ले नालायक शासक, निर्लज्ज शासक वर्गमाथि कडा वाण प्रहार गरेको प्रतीत हुन्छ । इन्द्रको सिंहासन एकैछिन डग्मगिएको अनुभव संवेदनशील पाठकले गर्नेछन् । पुस्तकको अग्रभागमा प्रस्तुत गरिएको कविको आत्मस्वीकारोक्ति या स्व–चित्र ‘मेरो कवितायात्रा’ ले कवि ज्ञवालीको काव्य साधना बुझ्न सहज बनाउनेछ । जम्माजम्मी १०४ पृष्ठको ‘इन्द्रधनुष’ मा १८ पृष्ठ कविले आफू र आफ्नो काव्यिक गन्थन प्रस्तुत गरेर कतिपय अस्पष्टताहरू मेट्ने, जीवन–यात्राका डोबहरू अमीत बनाउने र गन्तव्यप्रतिको अर्जुन–दृष्टिमा अडिग रहने सङ्कल्प सार्वजनिक गरेका छन् । पुस्तकको गाता चित्ताकर्षक हुनुका साथै भावपूर्ण छ । कवि प्रगतिशील विचारको भएर मात्र पुग्दैन गतिशील, अझ वेगवान गतिको हुनुपर्ने र ऊर्जाशील हुुनुपर्ने आह्वान कवि ज्ञवालीको द्रुत गति र अथक साहित्यिक साधनाले गरिरहेको आभास हुन्छ । कवि डा. रामप्रसाद ज्ञवालीबाट थप जनताका साहित्य जन–दबुमा प्रस्तुत हुने अपेक्षासहित हार्दिक शुभेच्छा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *