भर्खरै :

पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु

कास्की, १४ भदौ (रासस) : पोखरामा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नव आदर्श सामुदायिक विकास समाज पोखरा–१९ लामाचौरको आयोजनामा सञ्चालन भइरहेको तीज महोत्सवको प्रमुख आकर्षणको रूपमा रहेको प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताअन्तर्गत आजको खेलमा गण्डकी प्रदेश र यु–डाइमण्ड काठमाडौँ एकेडेमी विजयी भएका छन् । गण्डकी प्रदेशले पारामाउण्ट इङ्लिस बोर्डिङ स्कूल काठमाडौँलाई २५–१४, २५–११, २५–१५ को सोझो सेटमा पराजित गरेको थियो । त्यसैगरी यु–डाइमण्डले चितवन टाइगर्स क्लबलाई २५–१४, २५–२०, २५–१४ को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा छ टिमको सहभागिता रहेको छ ।
सो अवसरमा सदस्यसचिव सिलवालले प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्नेमा जोड दिँदै छात्रा भलिबलमा अब अन्तर्राष्ट्रियस्तरकै प्रतियोगिता हुनुपर्दछ भन्नुभयो ।
यही भदौ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीलाई एक लाख १५५, उपविजेतालाई रु ६५ हजार पाँच तथा तृतीयलाई रु २५ हजार पाँच, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने महोत्सवका प्रचार–प्रसार संयोजक बुद्धिबहादुर खत्रीले जानकारी दिनुभयो ।
महोत्सवमा आज सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय सितेरियो कराँते प्रतियोगितामा गोर्खा जिल्ला प्रथम भएको छ । प्रतियोगितामा गोर्खाले छ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित प्रथम भएको कास्की जिल्ला सितेरियो कराँते सङ्घका सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
दुई स्वर्ण, तीन रजत र पाँच कास्य पदकका साथमा कास्की दोस्रो र तीन स्वर्ण, एक रजत र पाँच कास्य पदकको साथमा तनहुँ तेस्रो भएका छन् । प्रतियोगितामा १० जिल्लाका १२० खेलाडी सहभागी भएका थिए । विजेता खेलाडीलाई सदस्यसचिव सिलवालले पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *