भर्खरै :

‘फौजी’ किराले अन्नबाली सखाप

– केदार मगर
खोटाङ, १३ भदौ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा फौजी किराको आतङ्क फैलिएपछि कृषक चिन्तित बनेका छन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकामा लामो समयको खडेरीका कारण सुकेको अन्नबालीको बोट तथा बिरुवा उखेलेर पुनः नयाँ रोपिएका अन्नबालीका बोट तथा बिरुवासमेत फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका हुन् ।
महिना दिनअघिदेखि फैलिएको फौजी किराको आतङ्क नियन्त्रण गर्न प्रभावित क्षेत्रमा इमिडाक्लोप्रिड १७.८५५ एसएल नामक कीटनाशक औषधिसमेत छर्न सुरु गरिएको छ ।
विषादी वितरणसँगै तयार पारेर बालीनालीमा हाल्ने विधि सिकाएर पठाइएपछि किसान आफैंले एक एमएल विषादीमा तीन लिटर पानी घोलेर प्रभावित क्षेत्रमा छर्न थालेका छन् । लाम लागेर घस्रिँदै एक ठाउँबाट अर्को ठाउँमा पुग्ने करीब एक इञ्च लम्बाइ भएको फौजी किराले छोटो समयमै मकै, धान, भटमास, मास, बदाम, जुनेलोलगायत खाद्यान्न बालीका बोटबिरुवा सखाप बनाएको छ ।
बालीनालीसँगै वनजङ्लमा भएका साल, सल्ला, खिरौ, खन्यू, बाख्रीघाँस, खयरका पात तथा हरेक रुख÷बिरुवाका पालुवा र कलिला मुनालाई एकैरातमा सिध्याएर उजाड बनाएको स्थानीयवासीले बताएका छन् । ताँतीकाताँती फैलिएका फौजी किराले सबै पात खाइदिएपछि बोट÷बिरुवा पतझड भएका रुखजस्तो देखिएका छन् ।
शिरदेखि पुछारसम्म तीन वटा धर्का देखिने लाभ्रे आकारको किराले बाहुनीडाँडाको मैतुङ, बयक्ता, कदुवा, खर्क, कुर्ले, रूपाटार, झापालगायतका ठाउँमा बढी आतङ्क फैलाएको स्थानीयवासीले बताएका छन् । फौजी किरा नियन्त्रण गर्न डेढदेखि दुई एमएल साइपरमेट्रिन र क्लोरपाइरिपसलाई प्रतिलिटर पानीमा घोलेर किरा प्रभावित क्षेत्रमा छर्कन कृषकलाई कृषि प्राविधिकको सुझाव छ ।
खेतीपातीबाहेक अन्य आम्दानीको स्रोत नहुने सुख्खाग्रस्त क्षेत्र हलेसीका स्थानीयवासीमा यस वर्ष लामो समय लागेको खडेरी र फौजी किराको आतङ्कले खाद्यान्नको चरम अभाव हुने भएको छ । दैनिक छाक टार्न एकमात्र विकल्प रहेको खेतीपातीसमेत खडेरी र फौजी किराले सखाप पारेपछि कृषक अन्यौलमा परेका छन् ।
फौजी किराको प्रकोप खोटेहाङ गाउँपालिकाको लिच्कीराम्चे, सिम्पानीलगायतका ठाउँमा समेत देखिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभयो । खडेरी र फौजी किराको प्रकोपका कारण जिल्लामा यस वर्ष कम्तीमा पनि ४० प्रतिशत खाद्यान्न उत्पादन घट्ने सम्भावना देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *