भर्खरै :

समाजको बुद्धिजीवीकरण नेमकिपाको लक्ष्य

भक्तपुर, १४ भदौ । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले देशको लागि प्रविधि दक्ष जनशक्तिका साथै राजनीतिशास्त्री, समाजशास्त्री, भूगोलविद्, अर्थशास्त्रीको पनि आवश्यकता रहेको बताउनुभएको छ ।
शनिबार चोर्चा समाजको आयोजनामा भएको कार्यक्रममा बोल्दै उहाँले सिङ्गो समाजलाई बुद्धिजीवीकरण गर्नु नै नेमकिपाको लक्ष्य भएको बताउनुभयो । उहाँले प्रजग कोरिया र क्युवाजस्ता समाजवादी देशले सिङ्गो समाजलाई नै बुद्धिजीवी बनाउन सफलता प्राप्त गरेको बताउनुभयो ।
२०८२ देखि कक्षा ८ उत्तीर्ण नभएको कोही पनि व्यक्ति सहकारी, टीम, क्लवमा सदस्य बन्न नपाइने नीति बनेको प्रकाश पार्दै उहाँले सबैलाई शिक्षित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी असोज ३–५ सम्म हुने नेमकिपाको सातौं महाधिवेशन सफल बनाउन सहयोगको लागि आह्वान गर्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सदस्य सृजना सैंजूले ३१ वर्षअघि पञ्चायती व्यवस्थाले रचेको भक्तपुर काण्डको भत्र्सना गर्दैै नयाँ पुस्ताले त्यस्ता घटना फेरि–फेरि पनि घट्न सक्नेप्रति सजग हुनुपर्नेमा जोड दिनुभयो ।
जम्मु र काश्मीरमा भएको घटनाबारे प्रकाश पार्दै उहाँले अन्तर्राष्ट्रिय महत्वको सो घटनाबारे नेपाल सरकार मौन बस्नुले वर्तमान सरकार पनि भारतीय विस्तारवादसामु झुकेको पुष्टि हुने बताउनुभयो ।
स्थानीय वडा सदस्य हरिरत्न गोर्खालीले भक्तपुर क्यान्सर अस्पतालमा भएको भ्रष्टाचारकै कारण नगरपालिकाले नगर प्रमुखको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको प्रकाश पार्नुभयो । रूद्रनारायण लाखाले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *