भर्खरै :

आदर्श आजादमा निवृत्त शिक्षकको बिदाइ

भक्तपुर, १५ भदौ । आदर्श आजाद माविले ४३ वर्ष लामो शिक्षण गर्नुभएका अनिवार्य अवकाश प्राप्त शिक्षक न्हुछेभक्त कवांको आइतबार एक समारोहबीच बिदाइ गरेको छ ।
बिदाइ कार्यक्रममा निवृत्त शिक्षक न्हुछेभक्त कवांले आफ्नो लामो शिक्षण अनुभव सुनाउँदै शिक्षण पेशालाई मर्यादित बनाउने जिम्मा शिक्षकै हो भन्नुभयो । शैक्षिक विकासबाटै समाजको विकास हुने कुरा बताउँदै उहाँले आफू उमेरले अवकास भए पनि शैक्षिक विकास तथा साहित्यिक लेख रचनामार्फत निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांले शिक्षकको जीवन अरु पेशागत मानिसहरूको भन्दा स्वच्छ तथा मर्यादित हुने भएकोले सबै शिक्षकहरूले उच्च मनोबलका साथ कार्य गरे जीवन गौरवपूर्ण हुने बताउनुभयो ।
शिक्षकहरू अध्ययनशील र सिर्जनशील हुनुपर्ने बताउँदै उहाँले शैक्षिक विकासमा सबै शिक्षकहरूले योगदान गरेमात्र गुणस्तरीय शिक्षा सम्भव हुने बताउनुभयो ।
आदर्श आजाद माविका प्राचार्य श्रीकृष्ण किसीले शिक्षण कार्यमा अनुशासित भएर लागेमा शैक्षिक गुणस्तर वृद्धि हुने निश्चित छ भन्नुभयो ।
व्यवस्थापन समिति र शिक्षकहरूबीच परिचयात्मक कार्यक्रमसमेत भएको उक्त समारोहमा सहायक प्राचार्य चक्रबहादुर चाकतुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *