भर्खरै :

वागीश्वरी माविमा ‘जम्मु–काश्मीर र भक्तपुर क्यान्सर अस्पताल’ बारे प्रवचन

भक्तपुर, २० भदौ । वागीश्वरी मावि÷कलेज कर्मचारी एकाइ समितिको आयोजनामा ‘जम्मु–काश्मीर र भक्तपुर क्यान्सर अस्पताल’ विषयमा शुक्रबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पार्टीको सातौँ महाधिवेशनको तयारी देशभरि उत्साहका साथ तीव्रगतिमा अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालको वर्तमान अवस्थाबारे प्रस्ट पार्दै प्रमुख प्रजापतिले आर्थिक अनियमितता र भ्रष्टाचार गरी पूर्वसञ्चालक समितिका पदाधिकारीहरूले एकलौटी रूपमा नाफा कमाउने ढङ्गले अस्पताललाई सञ्चालन गरिरहेको बताउनुभयो ।
नगरभित्र रहेका सङ्घ–संस्था तथा अस्पतालको अनुगमन र निरीक्षण गर्ने अधिकार स्थानीय सरकारसँग भएको उल्लेख गर्दै उहाँले भनपाद्वारा गठित छानबिन समितिले अस्पतालको अनियमितता र भ्रष्टाचारबारे अध्ययन गरिरहेको बताउनुभयो ।
नेमकिपा प्रदेश नं. ३ का प्रदेश सांसद सुरेन्द्रराज गोसाईले नेमकिपाले सडक र संसद्मा वैचारिक सङ्घर्ष गरिरहेको र बहुसङ्ख्यक कामदार जनताको राजनीतिक चेतनास्तर उकास्ने गतिविधिहरूमा जोड दिइरहेको बताउनुभयो ।
नेपालको प्रशासन क्षेत्र भ्रष्ट भएकै कारण नेपाली जनताले दुःख पाइरहेको उहाँले बताउनुभयो ।
स्वतन्त्र र अलग संविधान भएको जम्मु–काश्मीरमा मोदी सरकारको हस्तक्षेप निन्दनीय भएको प्रस्ट पार्दै सांसद गोसाईँले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा हुने अतिक्रमण र दमनको विरोधमा नेमकिपाले सङ्घर्ष गर्दै जाने बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य कृष्णप्रसाद धन्छाले कर्मचारीहरूले समाजलाई बौद्धिकरूपमा सहयोग गर्नुपर्ने र नेमकिपाको पार्टी भव्यरूपमा सम्पन्न गर्न आवश्यक सहयोगको लागि आह्वान गर्नुभयो ।
वागीश्वरी कलेजका सहायक प्राचार्य ज्ञानसागर प्रजापतिले भक्तपुर काण्डलाई राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गर्दै त्यस्ता षड्यन्त्रबाट कर्मचारी तथा कार्यकर्ताहरू सचेत र सङ्गठित हुनु आवश्यक छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष तुल्सीराम प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका सचिव लक्ष्मीप्रसाद गाइँजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *