भर्खरै :

तःमुंज्याको तयारीमा स्थानीयको भेला

भक्तपुर, २१ भदौ । असोज २३ र २४ गते हुने ३९औँ नेपालभाषा साहित्य तः मुंज्या तथा साँस्कृतिक कार्यक्रमको तयारीमा शनिबार स्थानीय जनताको भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेशसभा सांसद सृजना सैंजूले साहित्य समाज परिवर्तनको महत्वपूर्ण हतियार भएकोले जनताको साहित्यले नै समाज परिवर्तनमा भूमिका खेल्ने विचार राख्नुभयो । तः मुंज्याले जनताको राजनीतिक तथा साँस्कृतिक स्तर उकास्नमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै उहाँले यसको औचित्य देशको साहित्यिक क्षेत्रमा अझ बढ्दै गएको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले पार्टीको सातौँ महाधिवेशन र त्यसको महत्वबारे चर्चा गर्नुभयो । नेमकिपा स्थापनाको उद्देश्य र लक्ष्यबारे जानकारी दिँदै देशको महत्वपूर्ण राजनीतिक परिवर्तनको लागि पार्टीले भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष चन्द्रबहादुर उलकले तःमुंज्या स्थापना गर्नुपर्नाका कारणहरूबारे चर्चा गर्दै जनताले बनाउने दबुमा जनताले नै उपयोग गर्न पाउनुपर्छ र त्यसमा जनताको साहित्यलाई स्थान दिनको लागि स्थापना भएको बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका सल्लाहकार रवीन्द्र खर्बुजाले नेमकिपाको सातौँ महाधिवेशन र तः मुंज्या सफलतापूर्वक सम्पन्न गर्न स्थानीय जनताले सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।
३९ औँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका उपाध्यक्ष गणेशप्रसाद सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव राजन जतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *