भर्खरै :

डेँगुबाट बचौँ र बचाऔँ

केपी छुस्याकी
अहिले डेँगुको महामारी देशभर नै छ । लामखुट्टेको टोकाइबाट सर्ने डेँगु रोग काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा देखापरेको छ । विशेषतः उष्ण (गर्मी) क्षेत्रमा देखा पर्ने उक्त रोग केही समययता जलवायु परिवर्तनका कारण बढ्दै गएको तापमानले काठमाडौँ उपत्यका र पहाडी भूभागसहित ४५ भन्दा बढी जिल्लामा देखा परेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा डेँगु सङ्क्रमण चितवनमा आएका विदेशी पर्यटकमा देखा परेको थियो । त्यसपछि सन् २००६ यता यो प्रकोपको रूपमा क्रमशः बढ्दै गएको छ ।
डेँगु रोग डेँगु भाइरसका कारणले हुने गर्छ । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेँगु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले मान्छेलाई टोक्दा डेँगु रोग सर्छ । दिउँसो सक्रिय हुने र शरीरमा सेतो छिरबिरे धर्काहरू हुने लामखुट्टे एडिज जातको लामखुट्टे हो । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइन्छ । डेँगु सार्ने भाइरस मूलतः चार प्रकारका हुन्छन् ः डेनवी १, डेनवी २, डेनवी ३ र डेनवी ४ । यो रोगका लक्षणहरू लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि मात्र देखापर्छन् ।
डेँगु रोग फैलाउने लामखुट्टेले सफापानीमा फुल पार्ने हुँदा मनसुन र उक्त अवधि सकिएको एक महिनासम्म उच्च जोखिम हुन्छ । उक्त रोग दिनको समयमा टोक्ने लामखुट्टेबाट सर्ने हुँदा रातको समयमा झुल टाँगेर सुत्ने वालामखुट्टे मार्ने धूप बाल्दैमा त्यसबाट बच्न नसकिने हुन्छ ।
डेँगु ज्वरोको मुख्य लक्षण
एक्कासि उच्च ज्वरो आउनु डेँगु रोगको प्रमुख लक्षणमध्ये एउटा हो । सुरुमा मन्दज्वरो आउने र त्यो बढ्दै जान्छ । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेँगु रोगले सङ्क्रमित व्यक्तिमा रुघाखोकी र तीव्र ज्वरो आउने, जाडो हुँदै ज्वरो आउने, टाउको दुख्ने, मुटुको धड्कन कम हुने, आँखा रातो हुने, अनुहार गुलाबी देखिने, खल्खली पसिना आउने, आँखामा दुखाइ हुने, जोर्नीहरूमा दुखाइ हुने, बान्ता हुने, रिङ्गटा लाग्ने, श्वास फेर्न अफ्ठ्यारो हुने, पेट दुख्ने, शरीर सुन्निने, छालामा राता बिमिराहरू देखिने, शरीरका अङ्गहरूबाट रक्तश्राव हुने (विशेषगरी नाक, मुख र मांसपेसी जसलाई डेँगु हेमोरेज फेबर भनिन्छ ), पिसाब रातो आउने, दिसा कालो हुने, बेहोस हुने, ब्लड प्रेसर कमहुने, रगतमाहुने प्लेटलेट्सको मात्रा कम भई शरीरका विभिन्न अङ्गहरूमा रक्त सञ्चार सुचारुरूपले हुननसक्ने जस्ता लक्षणहरू हुने गर्छन् ।
डेँगुले बिरामीको शरीरमा हुने प्लेटलेट्सको मात्रा घटाइदिन्छ । जब प्लेटलेट्स काउन्ट प्रतिलिटर १० हजारबाट कम हुँदै जान्छ, तब शरीरका विभिन्न भागमा रक्तश्राव हुन सुरु हुन्छ । यस्तो अवस्थामा रगत दिनुपर्ने पनि हुन्छ । यसको साथै रक्तचाप (ब्लड प्रेसर) कम हुने तथा फोक्सोमा पानी जम्नेजस्ता खतराहरू पनि हुनसक्छ । हालसम्म डेँगु रोगको लागि कुनै विशेष औषधि बनिसकेको छैन । यद्यपि डेँगु रोगले ग्रस्त पारेर सिकिस्त बनाइसकेको बिरामीको लागि भने विविध उपचार गरिन्छ ।
डेँगुबाट ज्यानै जाने सम्भावना भने कम हुन्छ । तर यो रोग जुनसुकै उमेर समूहका मानिसहरूलाई लाग्नसक्ने हुन्छ । डेँगु लागेको अवस्थामा सुरुमा सामान्य ज्वरो आउने र मानिसको रक्तकोष घट्न जाने अवस्था सिर्जना हुने र त्यसको अवस्थामा प्रतिरोधात्मक क्षमता कम हुने मानिसहरू बालबालिका र वृद्धवृद्धालाई पहिलो असर पार्ने हुनाले विशेष ध्यान दिनुपर्ने हुन्छ ।
डेँगुबाट बच्ने उपाय
डेँगु रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै हो । घर वरपर जमेको पानी छ भने तुरुन्त पुरिदिनुपर्छ । लामखुट्टेहरू भएको ठाउँमा जाँदा शरीर पूरै ढाकिने गरी कपडा लगाउने गर्नुपर्छ । सुत्ने बेला झुल प्रयोग गर्ने, घरका झ्यालढोकामा जाली लगाउने, नरिवल, भटमास, निम तेल शरीरका खुला भागमा लगाउने गर्नाले पनि लामखुट्टेले टोक्न सक्दैनन् ।
डेँगु लागेका लक्षणहरू देखापरेको अवस्थामा तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्रमा जानुपर्छ । डेँगु लागेको शङ्का हुनासाथ अत्यधिक तरल पदार्थहरू सेवन गर्ने, अस्पताल वा स्वास्थ्य केन्द्र पुगेपछि डाक्टर तथा स्वास्थ्यकर्मीले भनेअनुसार गर्नुपर्छ । यो रोग लागेपछि लाक्षणिक उपचार गर्दै जाने हो । डेँगुका बिरामीहरूले मेवाको पातको जुस पिउँदा राम्रो हुन्छ । डेँगुको बिरामीलाई एस्पिरिन, आइब्रुफिनजस्ता दुखाइ कम गर्ने औषधि सेवन गराउनुहुँदैन । यस्ता औषधिले रक्तश्राव बढाउने गर्छ । पारासिटामोल तथा कोडिनजस्ता औषधिहरूको प्रयोग गर्ने गरिन्छ ।
लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो । त्यसैले वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु जरुरी देखिन्छ । लामखुट्टेले खुला ट्याङ्की, कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटे फटेका सिसा वा भाडामा जम्मा भएको पानी तथा खाल्टा खुल्टीहरूमा जम्मा भएको पानीमा फुल पार्ने हुँदा यस्ता ठाउँहरूमा पानी जम्न नदिनु र जमेको पानीलाई पुर्ने व्यवस्था गरिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *