भर्खरै :

जनताको सम्पत्ति जोगाउनु जनप्रतिनिधिको दायित्व

भक्तपुर, २१ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको सिलसिलामा शनिबार वागीश्वरी कलेजका शिक्षक तथा प्राध्यापकहरूको भेला भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नेमकिपाले सङ्घीय संसद्, प्रदेश संसद र स्थानीय तहलाई उपयोग गरी जनताको सेवा गर्दै आएकोमा जोड दिनुभयो ।
उहाँले अरूको भरमा आन्दोलन र सङ्घर्ष नटिक्ने भन्दै तत्कालीन नेकपा (माओवादी) ले भारतीय शासक वर्गकै आडभरोसामा देशमा सशस्त्र गतिविधि सञ्चालन गरेको विचार राख्नुभयो ।
मेयर प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा भएको भ्रष्टाचार रोक्न र सार्वजनिक सम्पत्तिको रक्षाको निम्ति भक्तपुर नगरपालिकाले पहल गरेको भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिकाले अस्पतालको अनुगमन एवम् नियमन गर्नसक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले देशको सार्वभौमिकता तथा स्वतन्त्रताको निम्ति प्राध्यापकहरूले बोल्ने समय आएको विचार राख्नुभयो । उहाँले भारतीय विस्तारवाद एवम् एकाधिकार पुँजी नै नेपाली सर्वहारा वर्गीय आन्दोलनको मुख्य शत्रु भएको नेमकिपाको धारणाबारे प्रस्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूले नेपालको मजदुर वर्गीय आन्दोलनलाई कमजोर पार्न खोजेको भन्दै नेमकिपाले देशभक्तिपूर्ण आन्दोलनलाई अगाडि बढाइरहेको बताउनुभयो ।
नेप्रास, वागीश्वरी कलेज एकाइका अध्यक्ष ग्याहेन्द्रप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, उकेश सुवाल, निरु ताल्चाभडेलले पनि प्राध्यापकहरूले नेमकिपालाई ऐक्यबद्धता जाहेर गर्नुपर्ने विचार राख्नुभयो ।
देश सङ्कटमा पर्दा बुद्धिजीवी मौन बस्न मिल्दैन
भक्तपुर, २१ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको प्रचारार्थ एवम् समसामयिक विषयमा जानकारी दिने उद्देश्यले शनिबार ख्वप मावि तथा शारदा क्याम्पस माविमा कार्यरत प्राध्यापकहरूको भेला भयो ।
कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशमा सङ्कटको बेला बुद्धिजीवीहरू चुप लागेर बस्न नहुने चर्चा गर्दै अन्याय र अत्याचारविरूद्ध बुद्धिजीवीहरू अग्रपङ्तिमा उभिनु आवश्यक छ भन्नुभयो ।
नेमकिपाको नीति र निर्देशनअनुसार भक्तपुर नगरपालिकामा कार्य भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “भनपाले कलेजहरू सञ्चालन गर्नु पनि पार्टी निर्देशनकै सिलसिला हो । शिक्षाको माध्यमबाट समाजमा आमूल परिवर्तन गर्ने लक्ष्य भनपाको हो ।”
भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको भ्रष्टाचार र अनियमिताबारे प्रकाशित समाचार, भनपा र क्यान्सर अस्पतालबीचको समझदारी अस्पतालले उल्लङ्घन गरेको र त्यहाँ कार्यरत कर्मचारी र नगरवासीको दबाबअनुसार नै हालको लागि भनपाले क्यान्सर अस्पतालको व्यवस्थापन जिम्मा लिनुपरेको चर्चा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “हामीले गरेको हरेक काम खुला पुस्तक सरह पारदर्शी हुनुपर्छ ।”
भारतीय विस्तारवादले नेपालको सीमा क्षेत्रमा बनाएको सडक बाँधको कारण नेपालको अन्न भण्डार तराई क्षेत्र भारतको लागि जल भण्डारमा परिणत भए पनि शासक पार्टीहरूले केही बोल्न नसक्नु लाचारीपन भएको उहाँले बताउनुभयो ।
भेलामा नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले प्राध्यापकहरूले पढाइका अतिरिक्त समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमबारे जानकार भई समाजलाई सही बाटोमा अगाडि बढाउने कार्यमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
“नेमकिपाले भारतीय विस्तारवाद र संरा अमेरिकी साम्राज्यवादविरूद्ध निरन्तर विरोध एवम् सङ्घर्ष गर्नुका साथै अन्याय र अत्याचारविरूद्ध जनतालाई सुसूचित गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो ।
उहाँले नेमकिपाको सातौँ महाधिवेशन सफलताको लागि प्राध्यापकहरूबाट सक्रिय सहयोगको अपेक्षा गर्नुभयो ।
भेलामा ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।
 
महाधिवेशनको तयारीमा किसान भेला
भक्तपुर, २१ भदौ । नेमकिपाको सातौँ महाधिवेशनको तयारीमा शनिबार नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा किसान भेला भयो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले नेमकिपाको सातौँ महाधिवेशन समाजवादी प्रचार अभियानकै शिलशिला भएको बताउनुभयो ।
उहाँले कामदार जनताको हक हितको लागि सङ्घर्ष गर्नु नै नेमकिपाको मूल कार्यक्रम भएको प्रस्ट पार्दै जनताका समस्याप्रति गम्भीर नहुने कुनै पनि पार्टी कम्युनिस्ट पार्टी हुन नसक्ने बताउनुभयो ।
उहाँले नेपालका विभिन्न जिल्लामा डेँगुको महामारी फैलिरहेको बेला स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमणमा व्यस्त रहनु निन्दनीय भएको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सांसद सृजना सैंजूले नेकपाको वर्तमान सरकारले सार्वजनिक सम्पत्ति, प्राकृतिक स्रोत साधन, उद्योग कलकारखाना, नदीनाला, शिक्षा र स्वास्थ्य सेवाजस्ता क्षेत्र निजी क्षेत्रलाई सुम्पेर आफूलाई पुँजीपति वर्गको सञ्चालक समिति भएको पुष्टि गरेको छ बताउनुभयो ।
उहाँले ७० लाख युवाहरूलाई विदेशमा पठाएर नेपालको आर्थिक विकास र समृद्धि सम्भव नभएको प्रस्ट पार्नुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका नारायणबहादुर दुवाल, नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवाल, नारायणभक्त न्हेम्हाफुकी, गंगाराम ज्याख्वलगायतले बोल्नुभएको थियो ।
महाधिवेशन संशोधनवाद र अवसरवादविरोधी सङ्घर्षको शिलशिला
भक्तपुर, २१ भदौ । नेपाल क्रान्तिकारी डकर्मी सङ्घ बोलाछेँ समितिको आयोजनामा वडास्तरीय डकर्मी भेला भयो ।
भेलामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश ३ का सांसद सृजना सैंजूले राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिको संवेदनशील घडीमा नेमकिपाको सातौँ महाधिवेशन हुन लागेको जानकारी दिँंदै महाधिवेशन संशोधनवाद र अवसरवादविरुद्धको सङ्घर्षको शिलशिला भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल –भारत खुला सिमानाको कारण हजारौँ नेपाली चेलीबेटी भारतमा बेचिन बाध्य भएका छन् । सरकारले कडाइका साथ सीमा नियमन गर्नुपर्छ ।” नेपालको भारतसितको व्यापार घाटा १३ खर्ब पुगेको र भर्खरै जन्मेको शिशुसमेतको टाउकोमा ३६ हजार रुपैयाँको ऋण लाइसकेको वर्तमान स्थितिको कारक भ्रष्टाचार भएको हुनाले सोको विरुद्ध आन्दोलित हुनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालले डकर्मीहरूले नयाँ नयाँ प्रविधिको प्रयोग गरी निर्माण कार्य गर्न सिक्नुपर्ने विचार राख्दै क्यान्सर अस्पतालमा भएको भ्रष्टाचारका दोषीहरूलाई कारबाही गर्नुपर्ने र सरकारले भ्रष्टाचार नियन्त्रणमात्र गर्नसके देशले फड्को मार्ने विचार राख्नुभयो ।
भेलामा नेपाल प्राध्यापक समाजका हरि सुवाल, भनपा नगर कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवाल, पुरुषोत्तम जाकिबन्जार, पञ्चरत्न सैजू, राधेश्याम सैजूलगायतले बोल्नुभएको थियो ।
काभ्रेमा महिला भेला
काभ्रे, २१ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन सफल पार्न नेपाल क्रान्तिकारी महिला सङ्घ काभ्रेको आयोजनामा बनेपामा महिला भेला भयो ।
भेलामा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले कम्युनिस्टहरू पुँजीवादी सरकारमा जाने गर्दैनन् भन्नुभयो । उहाँले एमालेलाई २०४८ मै नेमकिपाले भाइ काङ्ग्रेस भनेको र माओवादी भारतीय सहयोगमा बनेको ट्रोजन हर्स भएकोले उनीहरू मिलेर बनेको नेकपा नेपाली कामदार जनताको पार्टी हुननसक्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य रोशनमैया सुवालले देशको राजनीतिक परिवर्तनमा नेमकिपाको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले सङ्घर्षविना अधिकार प्राप्त हुँदैन भन्ने किसान आन्दोलनले पाठ सिकाएको बताउनुभयो । किसान सङ्घर्ष अगाडि बढेको कारण उपत्यकामा २१ पाथी कुतको बन्दोबस्त भयो, उपत्यका बाहिरका मोही किसानले अधिया वा कबुलियतअनुसारको बाली तल्सिङलाई बुझाउनुप¥थ्र्याे उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ काभ्रेका अध्यक्ष कान्ति अवाको सभापतित्वमा भएको भेलामा तारा न्यौपानेले नेमकिपाको महाधिवेशन सफल पार्न महिलाहरू सहभागी हुन अपिल गर्नुभयो । भेलाले कान्ति अवाको अध्यक्षतामा नेक्रा महिला सङ्घ काभ्रे जिल्ला समिति पुनर्गठन गरेको थियो ।
विद्यार्थीहरू महाधिवेशनको तयारीमा
भक्तपुर, २१ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन तयारीस्वरूप ‘विद्यार्थी भेला’ नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ २३ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेँभक्त फोजूले तत्कालीन नेमकिसङ्गठनलाई समूल नष्ट गर्न राज्यस्तरबाट भक्तपुर काण्ड रचिएको बताउनुभयो ।
नेमकिपाले भारतीय विस्तारवाद, संरा अमेरिकी साम्राज्यवाद र शासक दलका जनविरोधी कार्यहरूको निरन्तर विरोध गरिरहने छ, उहाँले भन्नुभयो ।
उहाँले सम्पूर्ण विद्यार्थीहरू महाविधेशनको प्रचारार्थ सक्रिय भई खट्नुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले नेमकिपाले पार्टी महाधिवेशनका निम्ति तयार गरेका नाराहरूबारे विद्यार्थीहरू जानकार हुनुपर्छ भन्नुभयो ।
आयोजक समितिका संयोजक मिलन गणेजूको सभापतित्वमा भएको कार्यक्रममा बिलम सुवालले पनि बोल्नुभएको थियो ।
काठमाडाँैमा महाधिवेशन तयारी
काठमाडौँ, २१ भदौ । नेपाल मजदुर किसान पार्टी तारकेश्वर नगर समितिको आयोजनामा ७ औँ महाधिवेशन तयारी भेला शनिबार भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले देशको समसामयिक राजनीतिक अवस्था र नेमकिपाले सातौँ महाधिवेशनको तयारीबारे जानकारी दिनुभयो ।
उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपा ‘प्रकाशस्तम्भ’ को रूपमा अगाडि बढिरहेको चर्चा गर्दै नेमकिपा ‘जनताको प्रजातन्त्र” हुँदै समाजवाद र वैज्ञानिक साम्यवाद स्थापना गर्न सङ्घर्षरत छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पुँजीवादीहरूले देश र जनताको हित नगर्ने भएकाले समाजवादको उदय भएको भन्दै नेपालमा समाजवादी क्रान्तिको लागि नेमकिपाले देशव्यापी समाजवादी प्रचार अभियानबाट जनतालाई शिक्षित पार्दै अगाडि बढिरहेको बताउनुभयो ।
केन्द्रीय सदस्य राजवीर डंगोलले महाधिवेशनको तयारी, आर्थिक सङ्कलन र पार्टी कार्यकर्ताहरूको परिचालन दु्रतगतिमा गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले महाधिवेशनलाई उत्सवको रूपमा लिनुपर्ने र पार्टीका सम्पूर्ण कार्यकर्ताहरू सक्रियरूपले अगाडि बढ्नुपर्ने बताउनुभयो । नेमकिपा तारकेश्वर नगर समितिका गणेशमान महर्जनको सभापतित्वमा भएको कार्यक्रममा श्यामकुमार महर्जनले पनि बोल्नुभएको थियो ।
भेलाले शोभा डंगोलको अध्यक्षतामा नेपाल क्रान्तिकारी महिला सङ्घ तारकेश्वर नगर समिति गठन गरेको छ ।
तारकेश्वरमा शिक्षक भेला
काठमाडौँ, २१ भदौ । नेपाल मजदुर किसान पार्टी तारकेश्वर नगर समितिको आयोजनामा हालै शिक्षक भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले नेमकिपा पुँजीवादको विकृतिबाट जनतालाई सचेत बनाउँदै समाजवाद स्थापनाको लागि सङ्घर्षरत छ भन्नुभयो ।
शिक्षकहरू समाज परिवर्तनका वाहक हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
असोज ३ देखि ५ गतेसम्म हुने पार्टीको सातौँ महाधिवेशनमा शिक्षकहरूबाट सहयोग हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले नेमकिपा सिद्धान्त र विचारप्रति स्पष्ट अडान भएको पार्टी भएको बताउनुभयो ।
नेमकिपाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको निरन्तररूपमा विरोध गर्दै कम्युनिस्टले निर्वाह गर्नुपर्ने अन्तर्राष्ट्रिय कर्तव्य पूरा गर्दै आएको छ, उहाँले भन्नुभयो ।
भेलाले भक्तमान महर्जनको अध्यक्षतामा ९ सदस्यीय नेक्राशिसङ्घ तारकेश्वर नगर समिति गठन गरेको छ ।
भेला नेक्राशिसङ्घ काठमाडौँ जिल्ला समितिका अध्यक्ष जितबहादुर महर्जनको सभापतित्वमा भएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *