भर्खरै :

फासीवाद – १

यहु प्रकाश
नेमकिपाका अध्यक्ष, नेपाल कम्युनिस्ट आन्दोलनका एक शीर्षस्थ नेता, अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा चर्चित एवम् नेपालको राजनीतिक क्षेत्रमा सुप्रसिद्ध नेता नारायणमान बिजुक्छेँ (का. रोहित) ले २०७२ तिर भारतीय जनता पार्टीको मोदी सरकारमा फासीवादको लक्षण देखापरेकोले भारतीय फासीवाद छिमेकी मुलुकहरूका निम्ति निकै खतरा भएकोले सचेत हुनुपर्ने कुरा प्रस्ट पार्नुभएको थियो ।
२०७२ भदौ १३ गते नेमकिपाका सांसद अनुराधा थापामगरले संसद्मा पतञ्जली योगपीठले योग र हिन्दू धर्मको नाममा नेपालका विभिन्न जिल्लामा योग शिविर बनाई जासुसी गरिरहेको हुनाले त्यस्तो योग शिविरलाई अनुमति दिन नहुने भनी नेपाल सरकारसँग माग गर्नुभएको थियो ।
स्वस्थ हुने योग, मन शुद्ध गर्ने अध्यात्मको प्रचारप्रसार गरी जडिबुटीबाट बनेका भारतमै निर्मित कुनै साइड इफेक्ट नहुने विभिन्न औषधि र सरसामानहरू सुपथ मूल्यमा विज्ञापन गर्नु कुनै राजनीतिक दल विशेष र धर्म प्रचार हुनसक्छ र ? भनी प्रश्न गर्नेहरू पनि छन् । यसो हेर्दा, यो कुरो पनि ठिक्कैजस्तो लाग्छ । यद्यपि, भारतीय प्रतिक्रियावादी पुँजीपति, विस्तारवादी एवम् फासीवादी शासकहरूले हिन्दू धर्मको योगको माध्यमबाट स्वस्थ र तन्दुरुस्त हुने, आयुर्वेदिक औषधि उपचार र अध्यात्मबाट मन शुद्ध गर्ने र संरा अमेरिकी र युरोपेली औषधि, तयारी खाना र विलाशिताका सरसामानहरूको विरुद्ध उग्र राष्ट्रियताका कुरा उछालेर आफ्नो असली कुरुप अनुहारलाई ढाकछोप गर्दै चीनको विरोध र छिमेकी मुलुकहरूको आन्तरिक मामलामा खुलेआम हस्तक्षेप र प्रभुत्व जमाउने विस्तारवादी र फासीवादी नीति चाल नपाउने गरिकन उपयोग गर्दै छन् । कतिपय निष्कपट हिन्दू धर्म गुरु र हिन्दू धर्मालम्बीहरूलाई भारतीय जनता पार्टीको सरकारले तिनीहरूलाई आर्थिक, नैतिक सहयोग र समर्थन गरिरहेको र हिन्दू धर्मको नाममा फासीवादतिर लम्किरहेको थाहा नहुनसक्छ ।
यसै सिलसिलामा, का. रोहितले २०७३ साउन २१ गते भएको विभिन्न पार्टीका भ्रातृ सङ्गठनहरूका पूर्व तथा वर्तमान युवा विद्यार्थी नेताहरूसँगको एउटा अन्तरसंवाद कार्यक्रममा इटालीमा मुसोलिनी र फासीवादीहरूको उदय, जर्मनीमा हिटलर र नाजीवादको उदय र भारतमा नरेन्द्र मोदी र हिन्दू राष्ट्र फासीवादको उदय प्रकारान्तले समानता रहेको, पश्चिमा साम्राज्यवादीहरूले तेस्रो विश्व युद्ध एसियामा केन्द्रित गर्न चाहेको, अमेरिका–भारतबीच सैनिक सहायतासम्बन्धी सन्धि त्यसैको कडी भएको बताउनुभएको थियो । त्यस्तै उहाँले संविधान कार्यान्वयन र सार्वभौमिकताको रक्षा नेपालको मुख्य चुनौती रहेकोमा विदेशीले देखाएको बाटो नेताहरूले पछ्याउनु विडम्बना भएको, स्थानीय निकायहरूलाई स्वायत्तता र अधिकार विकेन्द्रित गरेको भए सङ्घीयताको आवश्यकता नै नपर्ने, सङ्घीयता समाजवाद नभएकोले जनताका सबै समस्याको समाधान सङ्घीयताबाट सम्भव नहुने, जातजाति र भाषाभाषीको पहिचानको रूपमा रहेका भाषा, कला र संस्कृति जगेर्ना गर्न स्थानीय निकायहरूलाई अधिकार सम्पन्न बनाई देशको आधा बजेट दिनुपर्ने आदि समसामयिक राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा व्याख्या र विश्लेषण गर्नुभएको थियो । यसबाट फासीवाद के हो ? फासीवादको पृष्ठभूमि र भारतीय जनता पार्टीको मोदी सरकारमा देखापरेको फासीवादका लक्षणहरू प्रस्ट हुनुका साथै भारतीय फासीवाद छिमेकी मुलुकहरूको निम्ति अझ खतरा भएको र त्यसको निम्ति तयारी गर्नुपर्ने दूरदृष्टि प्रकट भएको छ ।
नेमकिपाले फासीवाद विषयमा जनचेतना जगाउन अभियान थालेको देखिन्छ । ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकमा पनि फासीवादबारे विभिन्न लेख, अन्तर्वार्ता र गतिविधिहरू छापेबाट जनचेतना जगाउन सघाउ पुग्छ नै । का. रोहितले नेपालका लेखक एवम् बुद्धिजीवीहरूले फासीवादबारे कलम चलाउनुपर्ने बताउनुभएको थियो । मजदुर दैनिकमा २०७३ साउन १८ गते छापिएको जानकीद्वारा लिखित ‘मुसोलिनी, हिटलर र मोदी’ शीर्षकको लेख निकै सान्दर्भिक लाग्यो ।
उक्त लेखको अध्ययन गर्दा के थाहा हुन्छ भने इटालीमा मुसोलिनी र जर्मनीमा हिटलरको उदयसँगै फासीवादको प्रादुर्भाव भएको थियो । फासीवाद (Facism) को शाब्दिक अर्थ अरू दलहरूको अस्तित्वलाई नकार्ने र एउटामात्र शक्तिशाली पार्टी र केन्द्रीय सरकार भएको उग्र दक्षिणपन्थी राजनीतिक व्यवस्था अथवा त्यस्तो व्यवस्थाको परिकल्पना गर्ने अवधारणा हो । फासीवादी (Facist) भनेको फासीवादलाई समर्थन गर्ने व्यक्ति अथवा उग्र दक्षिणपन्थी अवधारणा भएको व्यक्ति हो । सन् १९१७ मा मुसोलिनीले फासीवादी दलको स्थापना गरे । सन् १९१८ मा प्रथम विश्व युद्धको अन्त भयो ।
रोमन साम्राज्यको पुनःस्थापना गर्न पुँजीपतिहरूको सहयोगमा पुँजीपतिहरूको स्वार्थ रक्षा र हित गर्ने उत्पादनका मुख्य–मुख्य साधनहरूमा निजी स्वामित्वको अधिकारलाई सुनिश्चित गर्न, अरू देशहरूलाई उपनिवेश बनाएर इटालीका पुँजीपतिहरू वा इटालीलाई समृद्धशाली बनाउन एकमात्र पार्टी र केन्द्रवादी सरकार वा त्यस्तो व्यवस्था ल्याउने अवधारणालाई फासीवाद भनेर परिभाषित गर्न सकिन्छ ।
रोममा गणतन्त्रको स्थापना भएपछि राजनैतिक संस्थाहरूको विकास भयो । राजनैतिक संस्थाहरू तीन प्रकारका थिए ः १) कार्यपालिका २) लोकसभा र ३) सिनेट । कार्यपालिकासम्बन्धी अधिकार दुईजना काँसलहरूले प्रयोग गर्दथे । काँसल भन्नाले राजाभन्दा एक तहमुनिको प्रधानमन्त्रीजस्तै अधिकारसम्पन्न निर्वाचित उच्च पदाधिकारी हो । यिनीहरू एक वर्षको लागि चुनिन्थे । दुवै जना काँसलहरूको समान अधिकार हुनेगर्दथ्यो । यिनीहरूले ‘फैसेज’ भनिने विचित्रको डण्डा बोक्ने गर्थे । फासीवाद र फासिष्ट शब्दको उत्पति फैसेज शब्दबाट नै भएको हो ।
काँसलहरूको अधिकारको दुरुपयोग र कुलीनहरूमाथि दुव्र्यवहार गरेको पाइएकोले त्यसलाई नियन्त्रण गर्ने विकल्पको रूपमा विशेष अधिकारीहरूको नियुक्तिको बन्दोबस्त ई.पू ४९४ मा गरियो । यी विशेष अधिकारीहरूलाई ‘ट्रिब्युनस’ भनिन्थ्यो । यिनीहरूको निर्वाचन हरेक वर्षमा हुनेगथ्र्यो ।
कुनै देशको एक जना शासक वा सरकारले आफ्नो छिमेकी र अन्य मुलुकहरूमाथि सैन्य बलबाट पूर्ण नियन्त्रण गरी शासन गरिन्छ भने शासन गर्ने देशका ती मुलुकहरूको समूहलाई साम्राज्य भनिन्छ । जस्तै ः रोमन साम्राज्य ।
इटली प्रायःद्वीप युरोपको दक्षिणमा रहेको भूमध्यसागरमा अवस्थित छ । रोम सभ्यताको क्षेत्र यही प्रायःद्वीप हो । यसको छेउछाउको भूमि निकै उब्जाउ र मलिलो छ । यस प्रायःद्वीपको मध्य भागमा उत्तरदेखि दक्षिणमा सपेनाइन पर्वत मालाको लहर छ । यस पर्वत मालाको दक्षिण –पूर्व हुँदै निकै पर पुगेपछि एउटा उपत्यका आउँछ । यो उपत्यका निकै उर्वर छ । यसै उपत्यकामा ई.पू. २००० अथवा आजभन्दा ३०१९ वर्षपहिले बाहिरबाट युट्रस्कन (Eutruscan) जातिले प्रवेश ग¥यो । यिनीहरू एसिया माइनर वा एसिया महादेशको पश्चिमी प्रायःद्वीप अथवा अहिलेको टर्कीबाट त्यसतर्फ बसाइँ सरेको अनुमान गरिन्छ । त्यस जातिले त्यस उपत्यकामा रोम नाम गरेको एउटा सहर बसालेको थियो । त्यसैगरी, उक्त जातिले रोम सहरलाई अति सुन्दर मन्दिर, भव्य र ठूलठूला भवनहरू र चौडा सडक आदिले सजाएको थिए ।
के भनिन्छ भने ई.पू. ७५३ मा रोमस र रोम नाम गरेका दुईजना दाजुभाइले टाइवार नदीको तटमा रोम नाउँको सहर निर्माण गरेका थिए रे । (विश्वको इतिहास, प्राध्यापक मायाप्रसाद काफ्ले, रोमको सभ्यता (रोमन साम्राज्य), पृष्ठ ७१, ७२ र ७३ )
आजभन्दा २ हजार ४३ वर्षपहिले ई.पू. २७ मा शासक एवम् सेनाध्यक्ष अगस्टस् (Augustus) को नेतृत्वमा रोमले युरोप, अफ्रिका केही मुलुकहरू मिश्र, लिविया आदि अनि एसिया महादेशको भारत वर्षमाथि आधिपत्य जमाएर रोमन साम्राज्य स्थापना गरेको थियो । अगस्टस्लाई नै रोमन साम्राज्यको पिता र पहिलो सम्राट भनिन्छ ।
रोमन साम्राज्यको क्षेत्रफल २७ लाख ५० हजारदेखि ५० लाख वर्ग किलोमिटरसम्म फैलिएको थियो । यसमा ४० देखि ५५ मुलुकहरू गाभिएको थियो । यसको जनसङ्ख्या ७ करोडसम्म पुगेको थियो । त्यसबेला, यो जनसङ्ख्या भनेको विश्व जनसङ्ख्याको २१ प्रतिशत हुन आउँछ ।
सैनिक, आर्थिक, राजनीतिक, सांस्कृतिक हिसाबले रोमन साम्राज्य नै संसारमै सबैभन्दा बलियो सम्राज्य थियो । (Wikipedia) भारत वर्ष भन्नाले भारत, नेपाल, भुटान, सिक्किम र जम्मु–काश्मीर अनि पाकिस्तान र अफगानिस्तानको हिमाल पर्वत मालादेखि हिन्द महासागरसम्मको विशाल भू–भाग हो । भारत वर्ष र अहिलेको भारत वा हिन्दुस्तान एउटै होइन । तिनीहरूबीच आकाश जमिनको फरक छ ।
सन् ३९५ मा रोमको विशाल साम्राज्य दुई भागमा विभाजित भयो ः पश्चिमेली रोमन साम्राज्य र पूर्वी रोमन साम्राज्य वा बैजान्टन (Byzantine) साम्राज्य । १,४८० वर्षको अवधिमा अगष्टस् (Augustus) बाहेक जुलियस सिजर, मार्क एन्टोनी (Marl Antony), क्लियोपात्रा (Cleopatra), क्यालिगुला (Caligula), निरो (Nero), कनतानतिन (Contantine), सिकन्दर आदि सम्राटहरूले साम्राज्य चलाएका थिए । (Wikipedia)
नेपालमा ८० प्रतिशत मान्छेहरूले फासीवादको सही परिभाषा नबुझिकन नै फासिस्ट शब्दलाई पञ्चायती व्यवस्थाको क्रुरता र एकतन्त्रीय हुकुमी शासनको रुपमा बुझेको देखिन्छ । हुन त पञ्चायती व्यवस्थाले ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ को नारा दिई ‘एक भाषा एक जाति’ को नीति अवलम्बन गरी अरु भाषाभाषी, संस्कृति र जातजातिलाई दबाउने गरेकोले पनि पञ्चायती फासिस्ट भनिएको हो ।
पहिलो विश्वयुद्धमा इटालीले पनि ठूलो क्षति भोगेको थियो । यद्यपि, बेलायत र फ्रान्सले इटालीलाई उसको क्षतिअनुसार विजयको भाग दिएनन् । इटालीमा राज्यको र राष्ट्रियताको प्रतीकको रूपमा फासीवादको सिद्धान्तलाई अघि बढाइयो । कम्युनिस्ट सिद्धान्तको विरोध गर्दै इटालीको गौरव पुनःस्थापनाको नारा दिइयो । पहिलो विश्वयुद्धको परिणामबाट हेला गरिएको परिस्थितिबाट देश र राष्ट्रलाई अगाडि बढाउने प्रचारप्रसारमा मुसोलिनीले सक्रियता देखाए । त्यसबेला उनी ३६ वर्षका जवान थिए । सन् १९२२ मा भएको भर्साइल्स सन्धिबाट इटालीले आफू ठगिएको र अपमानित भएको अनुभव ग¥यो । सन् १९२२ मा नेपल्स सहरमा फासीवादी दलको पहिलो महाधिवेशन भयो । त्यसमा ८० हजार युवाहरूको एक अर्ध सैनिक सङ्गठन र समर्थकहरूले भाग लिए ।
सन् १९२० मा हिटलरको प्रस्तावमा जर्मनीको जर्मन श्रमिक पार्टीको नाम राष्ट्रिय समाजवादी जर्मन श्रमिक पार्टी राखियो । यसलाई अङ्गे्रजी National Socialist German workers Party भनिन्छ । अङ्गे्रजीबाट छोटकरीमा यसलाई NSDAP भनिन्छ । NSDAP लाई नात्सी पार्टी भनियो । नात्सीबाट नाजी भएको हो । पछि नाजीवाद फासीवादको पर्याय भयो ।
मुसोलिनीको इटलीको गौरव पुनःरुत्थान, हिटलरको शुद्ध आर्य रगत भएकाहरूले संसारमाथि राज गर्ने नैतिक अधिकार र मोदीको हिन्दुस्तानमा बस्ने सबै हिन्दुस्तानी हुन्छन् भन्ने उग्र नारा उछालेर गैरहिन्दूलाई दबाउने नीतिदेखि मुसोलिनी, हिटलर र मोदीका अन्य ७–८ ओटा नीतिहरूमा एकरूपता देखिएकोले मोदी फासीवादी भएको यथार्थ सबैको सामु छर्लङ्ग भएको छ । उग्र राष्ट्रवादको नारासँगै मोदी सरकारको भारत मजदुर–किसान–श्रमिक वर्गको आन्दोलन, प्रगतिशील आन्दोलन र कम्युनिस्ट आन्दोलनलाई दबाउन, छिमेकी मुलुकहरूमाथि थिचोमिचो र आन्तरिक मामलामा हस्तक्षेप गर्न झन्झन् उद्यत हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *