भर्खरै :

दाहालको समाजवाद कस्तो समाजवाद ?

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा एकाध वर्षभित्र नेपालमा समाजवादी निर्माण थालनी हुने घोषणा गरे । उनले नेपाली क्रान्ति संसारकै लागि मोडल भएको बताए । त्यसो त दाहाल बोली फेरिरहने नेताको रूपमा परिचित छन् । उनी जताततै आफ्नो अनुकूलताअनुसार बोली फेरिरहेका हुन्छन् । समाजवादको विषयमा दाहालले आजसम्म बोलेका कुरा सबै एकै ठाउँमा राख्दामात्र पनि उनले चाहेको समाजवादको आकार विद्रुप हुने गर्दछ ।
२०६४ को पहिलो संविधानसभाको निर्वाचन प्रचार अभियानको क्रममा भक्तपुरमा आयोजित सभामा दाहालले भनेका थिए, “समाजवाद २००–३०० वर्षपछि मात्र स्थापना हुनसक्छ ।” नेपाल मजदुर किसान पार्टीले त्यत्तिबेला गरिरहेको समाजवादी प्रचार अभियानलाई सङ्केत गर्दै उनले त्यसो बोलेका थिए । नेमकिपाले प्रचार गरिरहेको समाजवाद भनेको उत्पादनका साधन सामाजिकीकरण हुने, व्यक्तित्व विकासमा समान अवसर हुने, मानिसले मानिसमाथि शोषण नगर्ने, आर्थिक समानता हुने व्यवस्था हो । माक्र्सवाद–लेनिनवादको वैचारिक आधारमा उठेको त्यस्तो व्यवस्थालाई वैज्ञानिक समाजवाद पनि भनिन्छ । दाहालले त्यत्तिबेला प्रस्टतः त्यस्तो व्यवस्था २–३ सय वर्षपछि स्थापना हुने घोषणा गरेका थिए ।
यदि त्यो अभिव्यक्तिमा दाहालको कुनै फेरबदल नभएको भए शनिबार आयोजित कार्यक्रममा एकाध वर्षपछि स्थापना हुने भनिएको समाजवाद कस्तो व्यवस्था हो ? २–३ सय वर्षपछि स्थापना हुने नेमकिपाले भन्दै आएको समाजवादी व्यवस्था वैज्ञानिक समाजवाद हो भने एकाध वर्षभित्रै नेपाली जनताले भोग्ने समाजवादी कस्तो समाजवाद हो ? दाहालले भनेको समाजवादमा उत्पादनका मुख्य मुख्य साधन सामाजिकीकरण हुन्छ वा हुँदैन ? सबै नेपाली जनताले व्यक्तित्व विकासमा समान अवसर पाउने हो वा होइन ? मानिसले मानिसमाथि गर्ने शोषणमा आधारित राजनीतिक व्यवस्था अन्त्य हुने हो ? कि दाहालले भनेको समाजवादी व्यवस्थामा जनताको दिनचर्या सधैं उँधोगति लाग्ने अनि पुँजीपति वर्ग र ठेकेदारले अकुत सम्पत्ति कमाउने व्यवस्था हो ?
अहिलेको नेकपाको सरकारले देशलाई कहाँ पु¥याउँछ ? समाजवादतिर डो¥याउँछ वा पुँजीवादी रसातलमा धकेल्छ भन्ने कुराको जनताले भेउ पाइसकेका छन् । भात पाक्यो वा पाकेन बुझ्न हरेक सिता सिता छाम्न पर्दैन, केही दाना सिता छामेर पाक्यो पाकेन थाहा पाइन्छ । नेकपाले देशलाई कतातिर लान्छ भन्ने कुरोको सङ्केत थाहा पाउन पूरै पाँच वर्ष कुर्नुपर्दैन । अहिले नै जनताले सङ्केत पाइसकेका छन् ।
दाहालले भनेको समाजवाद नक्कली रहेछ र एकाध वर्षमा आउने समाजवाद पनि दलाल पुँजीवाद नै हो भन्ने कुरा बुझ्न अब दाहाल प्रधानमन्त्री नै भएको समयको प्रतीक्षा गर्न जरूरी छैन ।
दाहालले सो कार्यक्रममा आफूलाई पनि चीनमा माओ त्सेतुङहरूले जस्तै काठमाडौँमा विशाल जनतासहित आउने सपना भएको तर विफल भएको बताए । अन्ततः त्यस्तो परिणाम आउने र कसैले सपना देख्दैमा क्रान्ति नहुने कुरा दाहालले सशस्त्र विद्रोह सुरू गर्नुअघि नै सचेत बनाइएको थियो । तर, उग्रवादको अन्धताले दाहाललाई असमयको विद्रोही बनायो । फलतः आज दाहाल स्पष्टीकरणको खात लगाएर आफू चोखो बन्न भगीरथ प्रयत्नमा लागेका छन् । तथापि प्रश्नका औंलाहरूले दाहाललाई पछ्याउन कहिल्यै पनि छोड्ने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *