भर्खरै :

ज्याक माले दिए अलिबाबाबाट राजीनामा

पेइचिङ, २४ भदौ (एपी) । विश्वकै सर्वाधिक ठूलो इ–कमर्स कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षको पदबाट मङ्गलबार राजिनामा दिएका छन् । अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै सङ्कटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजिनामा दिएका हुन् ।
चीनमा स्थापित अनलाइनले विश्वमै इ–कमर्सका क्षेत्रमा प्रभाव सिर्जना गरेको छ । चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका ज्याक माले आफ्नो ५५ औं जन्मदिनका दिन समूहको अध्यक्ष पद छाडेको घोषणा गरेका हुन् । उनले एक वर्षअघि नै अध्यक्ष पद त्याग्ने घोषणा गरेका थिए । उनले अलिबाबा पार्टनरसिपको सदस्यको रूपमा भने कम्पनीमा रहनेछन् । छत्तीस जना सदस्य रहने यो अलिबाबा पार्टरनसिपले कम्पनीका सञ्चालक सदस्यहरू छान्ने अधिकार राख्दछ ।
विगतमा अङ्ग्रेजी शिक्षक रहेका माले सन् १९९९ मा अलिबाबा इ–कमर्स अनलाइन सेवा सुरु गरेका थिए । सुरुमा कम्पनीले चिनियाँ निर्यातक र अमेरिकी खुद्रा व्यापारीलाई जोड्ने पुलको रूपमा काम गर्दथ्यो ।
चीनको बढ्दो उपभोक्ता बजारलाई सुरुका दिनमा केन्द्रित गरे पनि पछि यस कम्पनीले अनलाइन बैङ्किङ, मनोरञ्जन र कम्प्युटिङका क्षेत्रमा लगानी बढाएको थियो । गत जूनमा पहिलो त्रैमासिक विवरणमा कम्पनीको कुल राजस्व करिब १७ अर्ब डलर रहेको थियो जसमा चीनभित्रैबाट व्यवसायको हिस्सा करिब ६६ प्रतिशत रहेको कम्पनीले जनाएको छ । हाल चीनको अनलाइन बिक्रीमा सन् २०१९ को आधा समयमा करिब १८ प्रतिशतले कमी आएको छ । चीनकै पनि आर्थिक वृद्धिमा मन्दी आएको छ ।
अलिबाबाका अनुसार, अघिल्लो वर्षको तुलनमा कम्पनीको नाफा करिब तीन अर्ब डलरले बढेको छ । तर, यो वृद्धिको मुख्य कारण सन् २०१८ को राजस्व आम्दानीका कारण सिर्जना भएको हो ।
अलिबाबाको इ–कमर्स प्लेटफर्मबाट गत वर्ष ८५३ अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको थियो । जबकि अमेरिकाको सर्वाधिक ठूलो इ–कमर्स कम्पनी अमेजनबाट २७७ अर्ब अमेरिकी डलरको कारोबार भएको थियो ।
ज्याक माको स्थानमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डानियल झाङ नियुक्त हुने सम्भावना छ । झाङ यसअघि एकाउन्टेन्ट रहनुका साथै अलिबाबा कम्पनीका प्रमुख योजनाकार थिए । उनले यसअघि कम्पनीकै अर्को सहायक टीमाल डट कमको बिजनेस एकाइको अध्यक्षको रूपमा कार्य गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *