भर्खरै :

भेनेजुयला र प्रजग कोरियाबारे कुरा नमिल्दा बोल्टनको पद खुस्केको खुलासा

न्यु योर्क, २६ भदौ । भेनेजुयलाको विषयमा कुरा नमिल्दा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेको खुलासा भएको छ । ट्रम्पले बोल्टनबाट ‘सीमा नाघ्ने गरी’ काम भएको भन्दै उनलाई पदबाट बर्खास्त गरेको बताइएको छ । प्रजग कोरियासँगको शान्ति प्रक्रियामा अवरोध बनेकाले पनि ट्रम्पले बोल्टनलाई पदबाट निकाल्ने निर्णय गरेको टेलिसुुर समाचार संस्थाले जनाएको छ । बोल्टनलाई गत मङ्गलबार पदबाट बिदा गरिएको थियो । तर, के कति कारणले उनलाई पदबाट बर्खास्त गरिएको थियो, सो बारे औपचारिकरूपमा कुनै जानकारी बाहिर ल्याइएको थिएन ।
दुई वटा समाचार संस्था रोयटर्स र इएफइले भेनेजुयला र प्रजग कोरियाको विषयमा दुई नेताबीच कुरा नमिलेपछि बोल्टनलाई पदबाट बिदा गरिएको खुलासा गरेका हुन् । बोल्टन सुरुदेखि नै आक्रामक र हस्तक्षेपकारी नीतिका पक्षपाती थिए ।
“भेनेजुयलाको विषयमा जोन बोल्टनको कुरासँग म असहमत छु । मेरो विचारमा उनले आफ्नो सीमा नाघे”, ट्रम्पले भने ।
बोल्टनलाई पदबाट बर्खास्त गरेपछि अब ट्रम्पले भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोसँग भेट्छन् वा भेट्दैनन् भन्ने विषयमा कुनै औपचारिक कुरा बाहिर आएको छैन ।
ट्रम्पले प्रजग कोरियासँगको शान्ति वार्तामा भाँजो हालेको आरोप पनि बोल्टनमाथि लगाएका छन् । प्रजग कोरियाविरुद्ध बोल्टनको नकारात्मक टिप्पणीका कारण प्योङयाङसँगको वार्तामा अवरोध भएको ट्रम्पको भनाइ रहेको स्रोतले बताएको छ ।
‘युद्ध बाज’ भनेर पनि चिनिएका बोल्टन भेनेजुयला, इरान र प्रजग कोरियामाथि हस्तक्षेप बढाउने नीतिका प्रमुख प्रवद्र्धक मानिन्छन् । बोल्टनले ल्याटिन अमेरिकामा पनि निकै दमनकारी नीति लिएका थिए ।
उनले क्युवा, भेनेजुयला र निकारागुआलाई ‘तानाशाहको त्रिखुट्टी’ को नाम दिएका थिए । त्यही आधारमा संरा अमेरिकाले ती देशमाथि कडा आर्थिक नाकाबन्दी थोपरेको थियो ।
बोल्टनले राष्ट्रिय सुरक्षा सल्लाहकारको हैसियतमा भेनेजुयलामाथि पूर्ण नाकाबन्दी थोपरेका थिए । भेनेजुयलाको निर्वाचित माडुरो सरकारसँग सबै खालका कूटनीतिक सम्बन्ध तोड्ने निर्णय पनि बोल्टनकै अग्रसरतामा लिइएको थियो । ट्रम्प सरकारले अवैधानिकरूपमा सडकबाट आफूलाई ‘कार्यकारी राष्ट्रपति’ घोषणा गर्ने ह्वान ग्वाइडोलाई राष्ट्रपतिको मान्यता दिनमा पनि बोल्टनकै भूमिका भएको बताइन्छ ।
बोल्टनलाई पदबाट बर्खास्त गरिएको विषयमा प्रतिक्रिया दिंदै इरानका राष्ट्रपति हसन रोहानीले अमेरिकाले बोल्टनभन्दा कम युद्धपिपासु व्यक्तिलाई पदमा ल्याउनु बुद्धिमानी हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *