भर्खरै :

बुबासँगको गुनासोे

युसुप दुवाल
दोष मेरो होइन
दोष शकुनिको हो
दोष पासा पल्टाइको हो
दोष तिम्रो अभिमानको हो
दोष आत्मश्लाघा आत्मप्रशंसाको हो
दोष तिम्रो यस्तै प्रवृत्तिको हो
त्यसैले त गद्दार भने
जे देखेँ त्यहीँ बोलेँ
तिम्रो चाप्लुसी गर्न प्रभु
म धर्मान्धता होइन
यो मनले मान्दै मानेन
सायद मैले रिझाउन जानिन !
त्यसैले त म एक्लै भएँ
तिम्रो सक्कली दुश्मन भएँ ।
गरिब छु म
गरिब नै थिएँ
कसैसँग हात फैलाएन
जे छु त्यसैमा ठीक छु
पैसा सापति दिन सकिन
ठेक्का पट्टा धाउन सकिन्न
भट्टीमा मात चढाउन सकिन्न
स्यालको हुइयाँ जुधाउन जानिन
हिलोमा माछा मार्नै जानिन
खानु पिउनु भागबन्डा लाउनु
कारोवारमा सबथोक जायज भन्छन्
लालसा चुन्नीदाममा बिक्छन्
मेरो असली मित्रको
मलिन छ मुखश्री
त्यसैले त म एक्लै भएँ
तिम्रो सक्कली दुश्मन भएँ ।
भाकल नगरी भागबन्डामा काटेको
हात्ती चढेको निख्खर कालो बोको
सायद म मिलेर खानै जान्दिन
मिलिजुली भजन गाउनै आउँदैन
अरुको लोभ कहिल्यै गरिन
सम्पत्ति हसुरेर कहिल्यै खाइन
साथीभाइ कहिल्यै रुवाइन
नातागोताको मन कहिल्यै मारिन
बियर, ह्वीस्कीको मात लाइएन
बोक्रे रवाफ लाउनै जानिएन
माछा मासु छुन्दै छोइन
सादा जीवन बाँचेर जिएँ
कसैसँग गुनासो गरिन्न
त्यसैले त म एक्लै भएँ
तिम्रो सक्कली दुश्मन भएँ ।
तथ्य साँचो बोल्नुसँग
यति बिघ्न सजाय हुन्छ भन्ने
किन सिकाएन बुबा हजुरले
हजुर त अनुभवी हो नि !
थाहा छ हजुरसँग पनि आज
दाइ छ न त भाइ नै
नाता साथी आफन्त कोही छैन
हजुरको छोराको हाल उस्तै छ
त्यसैले त म एक्लै भएँ
उसको आँखाको दुश्मन भएँ ।
मैले भनेकै थिएँ
मलाई पैसा कमाउन सिकाउनु
चाकरी चाप्लुसी झुक्न सिकाउनु
मान्नु भएन हजुर
छोराको शिर कहिल्यै झुकाउन दिएन
सधैँ इमानदारिता सिकाउनुभयो
असल मान्छे बन्न प्रेरणा दिनुभयो
समयले कोल्टे फेरिएछ बा
असल बन्नु मूर्खता भएछ
इमानदारिता कुन चराको नाम हो
आफ्नै मान्छेले सोध्न थालेछ
देख्लास् अब ठड्याउँदै औँला
आफ्नै मान्छे हाँस्न थालेछ
मुसुक्क हाँस्दै रोमाञ्चित बन्छन्
ख्याल ठट्टाको पात्रो बनाउँछन्
त्यसैले हजुरको छोरा एक्लै छु
सबैको आँखाको कसिङ्गर भा’छु
सत्य बोल्नुको परिणाम आहा !
नमीठो गन्ध छेपारोले रङ्ग बदलिएपछि
तर, पनि साहस बटुलेको छु
हजुरको छोरा जो हुँ म
हजुरको पदचाप टेकेको छु
कसैको पाउ मोलिन
झुक्काएन कसैसामु यो शिर कहिल्यै ।
त्यसैले त म एक्लै छु
आफ्नै मान्छेको दुश्मन छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *