भर्खरै :

राजनीतिक आन्दोलन अझै आवश्यक

– मेरिना शाक्य
नेकपाका नेताहरूले अब नेपालमा राजनीतिक आन्दोलनको आवश्यकता नभएको फुकिरहेको बेला नेमकिपाले भने देशमा अझै राजनीतिक आन्दोलनको आवश्यकता भएकोमा जोड दियो । अहिलेको राजनीतिक बन्दोबस्त पुँजीवादी बन्दोबस्त भएको हुँदा समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षबाहेक अर्को विकल्प नभएको नेमकिपाको जोड रह्यो । संसारका स्वाधीन देशहरूमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको दबाब, थिचोमिचो, नाकाबन्दी र आक्रमण बढिरहेको बेला कम्युनिस्टहरूले समाजवादी व्यवस्था स्थापना गर्नमात्र होइन देश जोगाउन पनि सङ्घर्ष गर्नुपर्छ । अहिले राजनीतिक आन्दोलन गर्नु आवश्यक छैन भन्ने नेकपाको आशयले नेकपा पुँजीवादी पार्टी नै रहेको थप पुष्टि हुन्छ ।
एमाले र माओवादीको एकता पार्टी बलियो बनाउन भएको हो । सरकारको नेतृत्व गर्न बहुमत प्राप्त गर्न भएको हो, साँच्चै सिद्धान्त मिलेर कम्युनिस्ट पार्टीलाई बलियो बनाउन भएको होइन । कम्युनिस्ट आन्दोलन अघि बढाएर पुँजीवादी व्यवस्था अन्त्य गर्न नेकपाको एकता भएको भए विश्व तरङ्गित हुन्थ्यो । कम्युनिस्ट आन्दोलन अघि बढाइँदैन, समाजवादी व्यवस्था स्थापना गर्न अघि बढिंदैन भने विश्व कसरी तरङ्गित हुन्थ्यो ? एमाले र माओवादी मिलेर नेकपा बने पनि, सरकार हाँकेको दुई वर्ष भए पनि कुनै परिवर्तन भएको देखिंदैन । जनतामा परिर्वतनको अनुभूति हुने खालको कुनै गतिविधि भइरहेको छैन । दुई पार्टी मिलेर सरकारको नेतृत्व गर्दैमा विश्व तरङ्गित भएको दाबी गरेर नेकपाले कसलाई पाखुरा देखाएर तर्साउन लागेको हो ?
नेकपाकै कारण नेपालको कम्युनिस्ट पार्टीको बदनाम भइरहेको छ । कम्युनिस्ट पार्टी नाउँ राखेर जनतालाई धोका दिइरहेको विश्लेषण गरिन थालेको छ । कम्युनिस्टको कुनै चरित्र, आचरण या लक्षणै नभएको नेकपाले कम्युनिस्ट पार्टीको भजन गाएर समाजवाद स्थापना हुँदैन, बहुमत जनताको हितमा ऐन कानुन र नीति नियम बन्दैन । सरकारको नेतृत्व गर्दैमा, हुँदैमा विश्व तरङ्गित हुने छैन । नेकपा अध्यक्ष दाहालको विश्व तरङ्गित भएको प्रसङ्ग भावनामा बगेको अभिव्यक्तिमात्र हो । भावनामा बगेर क्रमभङ्ग गर्ने अध्यक्ष दाहालको नानीदेखिको बानी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *