भर्खरै :

आजबाट नेमकिपाको सातौँ महाधिवेशन

काठमाडौँ, २ असोज । शुक्रबारबाट सुरु हुने नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको सन्दर्भमा बिहीबार पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रेस वक्तव्य जारी गर्नुभएको छ ।
वक्तव्यको पूर्ण पाठ प्रस्तुत छ ः नेपाल मजदुर किसान पार्टीको सातौँ महाविधेशन यही असोज ३ गते शुक्रबार बिहान ११ बजे भक्तपुरको च्याह्मासिंह, बोडे र काठमाडौँको कोटेश्वरसमेत तीन ठाउँबाट जुलुस सुरु हुँदै छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले असोज ३ गते दिउँसो १ः०० बजे भक्तपुर सल्लाघारीस्थित खुला ठाउँमा पार्टीको सातौँ महाधिवेशनको उद्घाटन गर्नुहुनेछ ।
नेपाल मजदुर किसान पार्टीले देशको सार्वभौमिकता रक्षा र प्रजातन्त्रको लागि स्थापनाकालदेखि नै साम्राज्यवाद र विस्तारवादविरुद्ध सङ्घर्ष गर्दै आएको हो । नेपालको किसान आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलनमा पनि पार्टीको महत्वपूर्ण योगदान रहेको छ । आर्थिकरुपले नेपाललाई उपनिवेश बनाउने भारतीय एकाधिकार पुँजीको विरोधमा र देशभक्त उद्योगी–व्यापारीहरूको पक्षमा पार्टीले सङ्घर्ष गर्दै आएको हो ।
देशमा अहिले एमाले–माओवादीको झन्डै दुईतिहाइको सरकार छ । तर, देशको खुला सीमा सुरक्षित छैन । भारतीय विस्तारवादले बनाएका बाँध र तटबन्धको कारण बर्सेनि तराई भूमि डुबानमा परिरहेको छ । अहिले रु. ते¥ह खर्बभन्दा बढीको व्यापार घाटा छ र यो बढ्दो छ । भ्रष्टाचार व्याप्त छ, महँगी दिन–दुगुना रात चौगुना बढ्दो छ । सत्तरी लाख नेपाली युवा वैदेशिक रोजगारीको नाममा विदेशी भूमिमा बहुराष्ट्रिय कम्पनीको लागि काम गर्न बाध्य पारिएको छ ।
देशको यो जटिल परिस्थितिमा सम्पन्न हुन गइरहेको नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको जुलुस र उद्घाटन समारोहमा महिला, मजदुर, किसान, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, बुद्धिजीवी, पत्रकार, उद्योगी, व्यापारीलाई उपस्थितिको लागि नेपाल मजदुर किसान पार्टी पुनः हार्दिक अनुरोध गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *