भर्खरै :

दक्षिणपन्थी प्रवाह रोक्न जनताको प्रजातन्त्र

(नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको सन्दर्भमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग ‘मजदुर’ दैनिकले लिएको अन्तर्वार्ता – सं.)
– अध्यक्षज्यू, आजबाट नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन आरम्भ हुँदै छ । यो महाधिवेशन मूलतः के के विषयमा केन्द्रित हुनेछ ?
महाधिवेशन सामान्यतया हरेक राजनैतिक पार्टीको सबभन्दा ठूलो बैठक र शक्तिशाली अङ्ग हो । सातौँ महाधिवेशनले छैटाँै महाधिवेशनले पारित गरेका कार्यक्रम, नीति र सम्पूर्ण गतिविधिको समीक्षा गर्छ र आगामी पार्टी कार्यक्रम र नीतिको निक्र्याेल गर्छ ।
सरल भाषामा भन्दा कुनै पनि राजनैतिक दलको महाधिवेशनले आ–आफ्नो दलको सिद्धान्त, नीति, नाम र झन्डासमेत फेर्न सक्छ । नयाँ नेतृत्व चयन गर्छ ।
यस महाधिवेशनले स्वाभाविकरूपले आफ्ना वर्गीय सङ्गठन र पेशागत समाजहरूको पनि समीक्षा गर्नेछ ।
– आजको राष्ट्रिय राजनीतिलाई कसरी हेरिरहनुभएको छ ?
देशको वर्तमान राजनीति झन् झन् दक्षिणपन्थी बन्ने सम्भावना बढ्दै छ । अमेरिकी साम्राज्यवाद र भारतीय फासीवादी सरकारले बिछ्याएको हिन्द–प्यासिफिक सैन्य गठबन्धनको जालमा एक–एक पाइला गरेर ५६ अर्ब रकमको आर्थिक सहायताको लोभमा फस्दै छ । नेपाल अमेरिकी साम्राज्यवादको सैन्य शिविरमा परिणत हुने खतरा छ ।
– वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिको कसरी विश्लेषण गर्नुहुन्छ ?
¥हासोन्मुख अमेरिकी साम्राज्यवाद ‘अमेरिका पहिलो’ र ‘एक महाशक्ति’ को अहङ्कार कायम राख्न पानीमा डुब्न लागेको पशुजस्तै आफ्नो जीवन रक्षाको निम्ति जथाभावी हात–खुट्टा चलाउँदै छ । जबकि ऊ थाकिसकेको छ, उँभो लाग्ने सम्भावना छैन ।
– संरा अमेरिकाले इन्डो प्यासिफिक सङ्गठनमा नेपालको सहभागिताबारे नेपाल सरकारको धारणा माग गरेको सुनियो । यसलाई कसरी लिनुपर्ला ?
वर्तमान सरकारको नियत खराबै होला, होइन भने ऊ अरूबाट ठगिएको हुनुपर्छ । त्यसबाट बच्ने उपाय भनेको इन्डो –प्यासिफिक सैन्य गठबन्धनलाई त्याग्नु हो र त्यसको विरोध गर्ने बाटोमात्रै बाँकी छ ।
– अघिल्लो महाधिवेशनमा पार्टीको अल्पकालीन लक्ष्यको रुपमा जनताको प्रजातन्त्र तय भएको थियो । आजको सन्दर्भमा जनताको प्रजातन्त्र कार्यक्रमबारे केही बताउनुहुन्छ कि ?
दक्षिणपन्थी प्रवाहलाई छेक्नु र रोक्नु आवश्यक छ । त्यसको निम्ति सबै कामदार वर्ग, बुद्धिजीवी, देशभक्त पुँजीपति वर्ग र निम्न पुँजीपतिहरूलाई पनि सचेत र एकगठ गर्नु आवश्यक छ । त्यस्तो व्यापक एकता र जनताको प्रजातन्त्र नै आजको पनि उचित बाटो हुनेछ ।
– समाजवाद र साम्यवादलाई लक्ष्य बनाएर स्थापना भएको नेमकिपाको सातौँ महाधिवेशनसम्म आइपुग्दा नेपालमा समाजवादी आन्दोलनको अवस्थाबारे तपाईँको विचार के छ ?
नेपालको राजनैतिक डबलीमा समाजवादबारे साँच्चै भनुँ भने यही ५ वर्षमा मात्रै तुलनात्मकरूपले प्रचार भयो । यसबारे अझ धेरै व्यापक प्रचारप्रसारको आवश्यकता छ ।
– केही मानिसहरू नेमकिपालाई चुनावी अङ्कगणितको आधारमा मापन गर्छन् । के भन्नुहुन्छ ?
जसले राजनीतिलाई ‘कमाऊ र खाऊ’ को निम्ति भनी सोच्छन् र काम गर्छन्, तिनीहरूले बुझ्ने राजनीतिक अङ्क खालि १ देखि १० सम्मै हो । आफूले नबुझ्ने विषय के सोच्न सक्लान् त !
– नेपालको कम्युनिस्ट आन्दोलन वा समाजवाद स्थापनाको सङ्घर्षलाई अगाडि बढाउन महाधिवेशनले के कस्ता कार्यक्रम अगाडि बढाउनेछ ?
गाउँको नयाँ पुस्तालाई पुरानो पुस्ताले जगैदेखि शिक्षित गर्नेछ । ‘राजनीति भनेको जागिर खाने र ठेकेदार बन्ने’ बाटो होइन बरु निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने हो भन्ने भावना राख्दै राजनीतिक जीवन सङ्घर्षमा उतार्नेछ ।
– नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाले पु¥याएको योगदानलाई कसरी स्मरण गर्नुहुन्छ ?
देश र सरकारबाट आफूले पाउने होइन बरु देश र जनताको निम्ति हरेकले आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने भावनाको बीउलाई नेमकिपाले हिमाल, पहाड र तराई, पूर्व र पश्चिममा छरेको छ । देश र जनताको हितको हरेक राजनैतिक सङ्घर्षमा नेमकिपा निःस्वार्थ र अटुटरूपले अगाडि बढ्दै छ ।
– अन्त्यमा केही भन्नुपर्ने विषय ?
देश र संसारका व्यापक कामदार जनताको हितबाहेक हाम्रो व्यक्तिगत कुनै स्वार्थ हुने गर्दैन । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *