भर्खरै :

सातौँ महाधिवेशनको सफलताको कामना !

नेपालको कामदार वर्गीय जनताको मुक्ति आन्दोलनमा नेपाल मजदुर किसान पार्टी सैद्धान्तिक, वैचारिक र व्यावहारिक सबै हिसाबले प्रकाशस्तम्भको रूपमा रहेको छ । नेपाल मजदुर किसान पार्टीले स्थापनाकालदेखि नै नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका गलत ठम्याइ र गलत व्यवहारविरुद्ध वैचारिक र राजनीतिक सङ्घर्ष गरी आन्दोलनलाई सही दिशाबोध गराउने प्रयास गर्दै आएको छ । पार्टीले माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारालाई मार्गनिर्देशक विचारधाराको रूपमा अङ्गीकार गर्दै ती सिद्धान्तलाई नेपालको राजनीतिक परिस्थितिमा लागू गर्न र हरेक आन्दोलन र जनसङ्घर्षलाई बहुमत कामदार वर्गका जनताको हितमा टुङ्ग्याउन राजनीतिक सङ्घर्ष गर्दै आएको छ । यसखाले सङ्घर्षमा नेमकिपा सिद्धान्त र व्यवहार कुनै पनि हिसाबले चुकेको छैन । यस अर्थमा नेमकिपालाई एक सच्चा कम्युनिस्ट पार्टी भन्न सकिन्छ ।
कम्युनिस्टहरूले पुँजीवादी संसद्लाई जनताको चेतनास्तर उठाउने, कामदार वर्गका जनताको आवाज राष्ट्रिय स्तरमा बुलन्द गर्न र पुँजीवादी सत्ता र पार्टीहरूको अपराध र कमजोरीलाई जनतासमक्ष उदाङ्गो पार्न उपयोग गर्ने गर्छन् । यसलाई क्रान्तिकारी संसदवादको लेनिनवादी नीति भनिन्छ । पुँजीवादी संसदमा बहुमत प्राप्त गरेर वा गठबन्धन गरेर क्रान्तिअगावै सरकारमा जानु दक्षिणपन्थी अवसरवाद हो । त्यस्ता अवसरवादीहरू अन्ततोगत्वा पुँजीवादी पार्टीको रूपमा पतन हुने विभिन्न देशका इतिहासले छर्लङ्ग पारेको छ । नेपालमा पनि आफूलाई मूलधार र मूलप्रवाह दाबी गर्ने कम्युनिस्ट घटकहरू पुँजीवादी सरकारमा गएर दक्षिणपन्थी अवसरवादी भासमा फसिसकेका छन् । आफूलाई कम्युनिस्ट दाबी गरे पनि सिद्धान्त र व्यवहारले ‘भाइ काङ्ग्रेस’ साबित भइसकेका छन् ।
कम्युनिस्टहरू पद, पैसा र सुविधाका लागि लाग्दैनन् बरु देश र शोषित–पीडित जनताको हितका लागि, मुक्तिका लागि निःस्वार्थरूपमा लागिरहन्छन् । पद, पैसा, सुविधा र सजिलोका लागि सिद्धान्त छोड्दैनन् बरू आर्थिकरूपले कठिनाइ सहेर पनि सङ्घर्ष गरिरहन्छन्, जीवन नै अर्पण गरिदिन्छन् । यस कसीमा नेमकिपाका नेता–कार्यकर्ताहरू आज पनि खरो उत्रिरहेका छन् । इमानदार कार्यकर्ताहरू अवसरवाद र वर्गशत्रुको जालमा फस्दैनन् । पार्टीलाई विश्वासघात गर्दैनन् ।
सारमा नेमकिपाले आज पनि नेपालको कम्युनिस्ट आन्दोलनलाई सिद्धान्त र व्यवहारतः मार्गदर्शन गराइरहेको छ । यस्तो परिवेशमा हुन लागेको नेमकिपाको सातौँ महाधिवेशन अत्यन्त महत्वपूर्ण छ । महाधिवेशनले विगतको गौरव कायम राख्दै आगामी दिनमा अझ व्यापकरूपले नेपाली जनताको माझमा पार्टी र पार्टी नीतिलाई पु¥याउन सर्वसम्मत नेतृत्व चयन गर्ने, कामदार वर्गलाई सङ्गठित र सचेत पारी वैज्ञानिक समाजवाद स्थापनाको सङ्घर्षलाई अगाडि लान सक्षम नीति तथा कार्यक्रम पारित गर्ने आशा एवम् विश्वास छ । नेमकिपाको सातौँ महाधिवेशनको पूर्ण सफलताको हार्दिक कामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *