नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
–संवेग सिञ्जाली
जनआन्दोलन २०६२÷०६३ को बलले नेपालमा राजतन्त्रको अन्त्य भयो, गणतन्त्र स्थापना भयो । आन्दोलनको क्रममा राजा र राज परिवार तथा दरबारियाहरूको ठूलो खर्च र राजसी सुविधाको विरोध भएको थियो । राजतन्त्र त हट्यो तर राजसी ठाँट र सुविधा नहटेको पुष्टि भएको छ । आफ्नै निजी दरबार निर्मल निवास भएका पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनको बङ्गलामा राखिएको छ । उनले नेपाल वायुसेवा निगमको विमान चढेर देशभित्रै विभिन्न जिल्ला र विदेशसमेत सयर गरिरहेका छन् । तर विमानको भाडा अहिलेसम्म नतिरेको र त्यो भाडा अहिले नेपाल सरकारले तिर्नेबारे छलफल भइरहेको समाचार छ । यदि नेपाल सरकारले पूर्वराजाको विमान भाडा, होटल भाडालगायत तिर्न थालेमा त्यसले राजतन्त्र परिस्थितिवश हटेको तर राजसी सुविधा नहटेको पुष्टि हुनेछ ।
पूर्वराजामात्र होइन वर्तमान राजाहरू अर्थात् शासक दलका नेताहरू आफ्ना उपचार खर्च, विदेश भ्रमण खर्चलगायत यावत खर्च राज्यकोषबाट तिराइरहेका छन्् । त्यसमा प्रधानमन्त्री केपी ओली नम्बर–१ रहेका छन् । प्रधानमन्त्री स्वयम्ले राज्यकोषबाट प्रत्यक्ष र परोक्ष धेरै सुविधा लिइरहेका हुनाले उनले आफ्नै पार्टी र अन्य पार्टीका नेताहरूको सुविधाको माग पूरा गर्न परिरहेको चर्चा जानकारहरूमाझ व्यापक छ । दुर्गमका निमुखा जनताले संविधानले मौलिक हककोे रूपमा व्यवस्था गरेको आधारभूत स्वास्थ्योपचारको नाममा ज्वरो आउँदा सिटामोल पनि नपाउने, गरिबका छोराछोरीले विद्यालयको मुख पनि हेर्न नपाउने तर शासक दलका नेताहरू हाछयुँमात्र आउँदा पनि दिल्ली, बैङ्कक र सिङ्गापुर उड्ने र आफ्ना छोराछोरी जतिलाई विदेशमा पढाउने सुविधा प्राप्त गर्नुले पनि सर्वसाधारण निमुखा कामदार वर्गका जनतालाई प्रजातन्त्र वा लोकतन्त्र नआएको प्रस्ट हुन्छ । लोकतान्त्रिक गणतन्त्र भनिएको व्यवस्थामा पनि पञ्चायतकालमा जस्तो अपारदर्शी तवरले राजसी सुविधा लिन लागेका हुनाले तिनीहरू गणतन्त्रका राजाको रूपमा बदनाम भएका हुन् । जनताले जतिसुकै आलोचना, विरोध र व्यङ्ग्य कस्दा पनि थाहै नपाएको झैँ बस्ने ती नेताहरूको चरित्रलाई ‘नाङ्गा नाचे हजार दाउ’ उखानको चरितार्थमात्र भन्न सकिन्छ ।
Leave a Reply