भर्खरै :

स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै

– विष्णु नेपाल
काठमाडौँ, ५ असोज । तपार्इँ खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ? आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ ? अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ ? होस् गर्नुहोला । कतै मुसाको टोकाइबाट अकालमा तपाईँको मृत्यु पनि हुनसक्छ ।
पछिल्लो समय मुख्यरूपमा मुसाको टोकाइ र सङ्क्रमणबाट मानवमा लाग्ने स्क्रब टाइफस नामक रोगको सङ्क्रमण अधिकांश जिल्लामा फैलिएको छ । कीटजन्य रोग व्यवस्थापन गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारीअनुसार हाल देशका ६३ जिल्लामा यो रोग देखापरेको छ । सन् २०१९ को आठ महिनाको अवधिमा ५५५ जनामा रोगको सङ्क्रमण भएको र तीन जनाको मृत्यु हुन पुगेको छ ।
अघिल्ला तीन वर्षमा सोही रोगका कारण १६ जनाले ज्यान गुमाएका थिए । जेठ महिनाको अन्तिमदेखि कार्तिक महिनाभर रोगको उच्च जोखिम मानिन्छ । सन् २०१६ मा ४८ र सन् २०१८ मा ५६ जिल्लामा यो रोग देखापरेको थियो ।
महाशाखाका अनुसार सन् २०१७ मा ६७० सङ्क्रमित भई नौ, सन् २०१८ मा एक हजार ९८ मा सङ्क्रमित भई चार जनाको मृत्यु भएको थियो । सन् २०१९ को हालसम्म रोगको सबैभन्दा बढी सङ्क्रमण प्रदेश नं ५ का जिल्लामा २२४ जनामा देखापरेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा आठ जनामा देखापरेको महाशाखाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेश नं १ को इलाम, झापा, मोरङ, सुनसरी, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर, धनकुटा, प्रदेश नं २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, प्रदेश नं ३ को सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, धादिङ, मकवानपुर, चितवन र गण्डकी प्रदेशको गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ, नवलपरासी पूर्वमा सो रोग देखापरेको महाशाखाले जनाएको छ ।
यसैगरी प्रदेश नं ५ का गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुमपूर्व, दाङ, बाँके, बर्दिया, नवलपूर र कर्णाली प्रदेशका सल्यान, सुर्खेत, जाजरकोट, कालीकोट, रुकुम पश्चिम, सुदूरपश्चिमाञ्चल प्रदेशका बाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडीमा पनि यो रोग देखापरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *