भर्खरै :

संरा अमेरिकाले सम्झन नचाहेको अर्काे एउटा ‘सेप्टेम्बर –११’ –७

हामीले उहाँको शिर कहिल्यै झुकेको देखेनौँ
बीट्रिज एलेण्डे
(बीट्रिज एलेण्डे (Beatriz Allende ‘Tati’) राष्ट्रपति साल्भाडोर एलेण्डेकी छोरी हुन् । सन् १९७३ को फासिवादी सत्ताकब्जालगत्तै उनी क्युवा पुगिन् र त्यहीँ बस्न थालिन् । वर्षौँको मानसिक विक्षिप्ततापश्चात सन् १९७७ मा उनले आत्महत्या गरिन् । सन् १९७३ को सत्ताकब्जाको केही दिनपछि बीट्रिजले क्युवाली जनतासमक्ष दिएको प्रस्तुत मन्तव्यले तत्कालीन अवस्था र साल्भाडोर एलेण्डेबारे थप बुझ्न सजिलो हुनेछ – अनु.)
म यहाँ भाषण गर्न उभिएकी छैन । हामीप्रति सधैँ–सधैँ यति अथाह ऐक्यबद्धता प्रकट गर्ने तपाईँँ जनसमुदायका लागि सेप्टेम्बर ११ को त्यो बिहान राष्ट्रपति भवन ला मोनेडा दरबारमा हामीले बिताएको अन्तिम समयको अनुभव साट्नमात्र म यहाँ आएकी छु  ।
आततायी र फासिवादी सेनाको हमला सामना गर्दै गर्दा कमरेड राष्ट्रपति साल्भाडोर एलेण्डेको मनस्थिति, क्रियाकलाप र सोचबारे तपाईँंहरूलाई बताउन म यहाँ छु ।
निःसन्देह क्युवाली जनतालाई सत्य थाहा छ । तर सं.रा. अमेरिकी साम्राज्यवादका मतियारहरूको सहायतामा फासिवादी प्रतिक्रियावादी सैनिक शक्ति (जुन्टा) ले धेरै अरू देशहरूमा झूटको खेती गरिरहेका छन् र राष्ट्रपति ऐलेण्डेको कुरुक्षेत्र ला मोनेडामा भएका घटनाक्रममाथि पर्दा हाल्ने कुत्सित प्रयास गरिरहेका छन् ।
म यहाँ तपाईँँहरूलाई विश्वस्त बनाउन आएकी छु– चिलीका राष्ट्रपतिले आफ्नो हातमा हतियार बोकेर अन्तिम समयसम्म लड्नुभएको थियो । चिलियाली क्रान्तिको लागि, समाजवादको लागि आफ्ना जनताले दिएको अधिकार उहाँले अन्तिम श्वाससम्म जोगाउनुभएको थियो ।
राष्ट्रपति साल्भाडोर एलेण्डेले कति पनि समय खेर नफाली क्रान्तिको सिपाहीका रूपमा शत्रुको भरभराउँदो आगोमा होमिनुभयो । चिलीका जनताले जस्तोसुकै प्रतिगमनलाई पराजित गरी छोड्ने र अथकरूपमा पूर्ण अन्तिम विजयसम्म लडिरहने पूर्ण विश्वास एवम् उत्साहका साथ उहाँ बलिदानी सङघर्षमा हामफाल्नुभयो । जनताको शक्तिप्रति अटल आत्मविश्वासका साथ उहाँले मृत्युवरण गर्नुभयो । आफ्नो जीवन आफ्नो देशका श्रमिक तथा गरिब जनताको हित रक्षामा होमेको आफ्नो अवस्थाको ऐतिहासिक अर्थबारे उहाँलाई राम्रो हेक्का थियो ।
ती कठिन समयमा क्युवा र फिडेल दुवै उहाँका बोली र हृदयमा अमिट भएर रहेको थियो । उहाँको अन्तिम श्वाससम्म क्युवाली जनता, क्युवाली क्रान्ति र फिडेल क्यास्ट्रोप्रति उहाँको समर्पणभाव र गहिरो प्रेम हामीले प्रत्यक्ष देख्यौँ ।
सेप्टेम्बर ११ को सत्ताकब्जा अघिको झन्डै पूरा महिना हामी निरन्तरको निगरानीमा बस्यौँ । सैनिक विद्रोह र सत्ता कब्जाको हल्ला, चर्चा–परिचर्चा नभएको कुनै दिन हुन्थेन । सेप्टेम्बर ११ को त्यो म·लबारको बिहान पनि हाम्रो कानमा त्यस्तै खबर आइपुग्यो र सखारै राष्ट्रपति एलेण्डे राष्ट्रपति भवन हिँडिसक्नुभएको थाहा पायौँ । खासमा के भइरहेको छ र त्यसको अर्थ के हो केही बुझ्दै नबुझी हामी पनि त्यतैतिर कुद्यौँ ।
बाटोमा सशस्त्र प्रहरी (काराबिनेटो) हरूले खुल्लमखुला अशिष्ट ढ·ले राष्ट्रपति भवन पुग्ने मार्गमा तेस्र्याएका अवरोधहरूलाई पटक–पटक अटेर गर्दै अघि बढ्दै गर्दामात्र हामीले स्थितिको गम्भीरताको छनक पायौँ । हामी बिहान ८ः५० बजेतिरमात्र ला मोनेडा भवन पुग्न सक्यौँ । त्यहाँभित्र राष्ट्रपति भवन रक्षार्थ तैनाथ सशस्त्र प्रहरी सधैं जस्तै आफ्नो काममा खटेका थिए । यद्यपि भवन परिसरभित्र पस्नु अघि हामीले वरपर सशस्त्र प्रहरी आत्मसमर्पण गरिरहेका वा सत्ताकब्जामा सामेल हुँदै गरेको देख्यौँ ।
ला मोनेडामा हामीले सेनाका ती शाखा र सशस्त्र प्रहरीको सहभागितामा सत्ता कब्जा हुँदै गरेको तत्काल निष्कर्ष निकाल्यौँ ।
भवनभित्र प्रतिरोधको तयारी जोडतोडका साथ भइरहेको थियो । राष्ट्रपतिका दुवैतिर उहाँका नियमित अ·रक्षक समूहभन्दा धेरै सङख्यामा लडाकूहरू उभिएका थिए । उनीहरू सबै प्रतिरोधका लागि तयारी अवस्थामा थिए । केही विशेष हतियार वितरण गरियो । त्यसबाहेक अनुसन्धान सेवाका एक समूह मानिस थिए जो अ·रक्षक टोलीको समन्वयमा काम गर्ने गर्थे ।
त्यहाँ मन्त्रीहरू, उपसचिवहरू, पूर्वमन्त्रीहरू, प्राविधिक र रेडियो तथा छापा पत्रकारहरूको समूहका साथै चिकित्सक, नर्स र ला मोनेडाका प्रशासनिक कर्मचारीहरू पनि थिए । उनीहरू कोही पनि त्यहाँबाट बाहिर जान तयार थिएनन् र सबैले एलेण्डेको पक्षमा लड्ने निर्णय गरेका थिए । उहाँको निकटतम कार्यकर्ता दल पनि त्यहाँ थियो, जसमध्ये ११ जना महिला थिए ।
त्यो दिन उहाँलाई आइरहेका थुप्रै टेलिफोन कलहरूमध्ये एउटा कलको लागि टेलिफोन दिने क्रममा पहिलोपटक उहाँलाई मैले देखेको थिएँ । उहाँ निकै संयमका साथ धैर्यपूर्वक विभिन्न ठाउँबाट आएका खबर सुनिरहनुभएको थियो र निर्देशन एवम् विविध प्रश्नको जवाफ दिइरहनुभएको थियो । उहाँका त्यस्ता निर्देशनमा असहमतिको कुनै गुञ्जायस थिएन । उहाँ स्वयम् गएर प्रतिरोधको अवस्था अनुगमन गर्दै लडिरहेका कमरेडहरूका कोठा मिलाइदिनुभएको थियो । उहाँले पटक–पटक यस्ता निरीक्षण गर्नुभयो ।
केहीबेरमै सत्ता कब्जाकारी सिपाहींहरूले ट्याड्ढ र अन्य हातहतियारबाट हमला बोले । प्रतिकारमा हाम्रा कमरेडहरूले पनि जवाफी प्रत्याक्रमण गरे ।
त्यो बिहान सखारैमात्र राष्ट्रपतिलाई सैनिक नेतृत्वले पटक–पटक आत्मसमर्पण गर्न आग्रह गरेको तर उहाँले उनीहरूका अल्टिमेटम मान्न सधैं ठाडो र निर्धक्क अस्वीकार गर्नुभएको थाहा पायौँ । हामीले उहाँलाई हिच्किचाएको कहिले पनि देखेनौँ । बरु उहाँले देशद्रोही सेनासामु नझुकी अन्तिम क्षणसम्म लड्ने आफ्नो निर्णयलाई निरन्तर पुष्टि गरिरहनुभयो । देशद्रोही सेनालाई उहाँले तिनको साँचो नाम–फासिवादी नामाकरण गरिसक्नुभएको थियो । त्यो बिहान पपुलर युनिटी र क्रान्तिकारी वामपन्थी आन्दोलन मोर्चासम्बद्ध पार्टीहरूले उहाँलाई भेटिसकेको र टेलिफोन कलहरू प्राप्त भइरहेको पनि मैले थाहा पाएँ । ती वार्तालाप र भेटघाटमा सबैले प्रतिरोध सङ्घर्ष गर्ने निर्णय सुनेका थिए ।
बेइजा (Baeza) नाम गरेको एक जना देशद्रोही सैनिक जनरलले उहाँलाई बारम्बार फोन गरिरहेको थियो । उहाँलाई सत्ता विप्लवी सेनाले उहाँ, उहाँको परिवार र निकटवर्ती आफन्तलाई उहाँले भनेको ठाउँमा पु¥याउने एउटा विमान उपलब्ध गराउने प्रस्ताव पनि उनीहरूले गरेको थाहा पाएँ । त्यो प्रस्तावको प्रतिउत्तरमा राष्ट्रपतिले त्यो देशद्रोही सैनिक अधिकारीहरूलाई एक जना आत्मसम्मान भएको मानिस हुनुको अर्थ थाहा नभएको भन्दै निकै रुखो शब्दबाट आक्रोशित मुद्रामा उसको प्रस्ताव लत्याउनुभएको थियो ।
राष्ट्रपति एउटा लामो लडाइँको तयारीमा लाग्नुभएको थियो । उहाँ एक ठाउँबाट अर्को ठाउँमा दौडादौड गरिरहनुभएको थियो । हवाई हमलाबाट लडाकुहरूलाई जोगाउन उहाँले सबभन्दा सुरक्षित, भरपर्दो ठाउँको खोजी गर्न आग्रह गर्नुभयो । खाना र पानी आपूर्तिबारे उहाँले जानकारी लिनुभयो । लडाईँमा घाइते हुनेहरूको शल्यक्रियाका लागि चिकित्सा टोलीलाई शल्यक्रिया कक्ष व्यवस्था गर्न आदेश दिनुभयो । उहाँले एक जना कमरेडलाई सबै महिलाहरूलाई एकै ठाउँमा भेला गरी सुरक्षित स्थानमा लान भन्नुभयो । अरू क्रान्तिकारीहरूलाई कोपभाजनमा पार्न सक्ने सम्पूर्ण कागजात ध्वस्त गर्न उहाँले आदेश दिनुभयो । व्यक्तिगत दस्तावेजहरू समेत खत्तम गर्न भन्नुभयो । भविष्यको प्रतिरोध सङ्घर्ष जोगाउन उहाँले दुई महिलासहित तीन जना कामरेडहरूलाई भवनबाट बाहिर पठाउनुभयो ।
त्यसपछि राष्ट्रपति भवन रक्षार्थ तैनाथ सशस्त्र प्रहरीको टुकडी प्रमुखले फासिवादी सेनातर्फ कित्ता बद्लेको थाहा पायौँ ।
राष्ट्रपतिसँग केही क्षण एकान्तमा कुराकानी गर्ने मैले समय पाएँ । उहाँले अन्तिम दमसम्म लड्ने कुरा दोहो¥याउनुभयो । परिस्थिति कतातिर मोडिंदैछ भन्ने विषयमा उहाँलाई पूर्ण रूपमा हेक्का भए पनि उहाँले लडाईंको तयारी छोड्नु भएन ताकि लडाइँ सबभन्दा उत्तम ढ·ले लड्न सकियोस् भन्ने उहाँको चाहना थियो । त्यो प्रतिकूल अवस्थामा जटिल हुने निश्चित थियो । तथापि उहाँले जनताले आफूलाई दिएको अधिकार रक्षा गर्दै एक जना क्रान्तिकारी र संवैधानिक राष्ट्रपतिका रूपमा उहाँले रोज्न सक्ने यो सबभन्दा उत्तम बाटो थियो । आत्मसमर्पण गरेर वा सबै कुरा त्यागेर उहाँले सबै फासिवादी र देशद्रोही सेनाको भण्डाफोर गर्न सक्नु हुन्नथ्यो ।
उहाँ राष्ट्रपति भवनमा रहेका अरू महिला र आफ्नी अर्की छोरी इसाबेलबारे चिन्तित हुनुहुन्थ्यो । उहाँ सबै महिलाहरू भवनबाट बाहिरियोस् र हामीले हाम्री आमाको हेरचाह गरोस् भन्ने चाहनुहुन्थ्यो । टोमस मोरोमा लडाईं चलिरहेको थियो र हाम्री आमा त्यहाँ हुनुहुन्थ्यो ।
उहाँले मलाई भन्नुभयो, एक हिसाबले त्यो परिस्थितिले उहाँको काँधलाई हलुका बनाएको छ । यो अवस्थाले पछिल्लो समय उहाँलाई सताइरहेको एउटा विषयवस्तुले उहाँलाई मुक्त गरेको उहाँको भनाइ थियो । उहाँ जनताको सरकारको राष्ट्रपति भएकै समयमा तथाकथित हतियार नियन्त्रण ऐनको आवरणमा सेनाले मजदुरहरूमाथि दमनचक्र चलाएको थियो र कलकारखानामा जबरजस्ती घुस्ने काम भइरहेको थियो । उहाँले मलाई यी कुरा अर्को भेटमा भन्नुभएको थियो ।
उहाँमा असामान्य आत्मबल र लडाईंमा संलग्न हुने उत्कट इच्छा थियो । उल्लेखित भनाइले घटनाक्रमप्रति उहाँको शानदार दृष्टिकोण प्रतिविम्बित गथ्र्यो र क्रान्तिकारी सङ्घर्षको अपरिहार्यतालाई उजिल्याउँथ्यो । उहाँले महत्वपूर्ण कुरा भविष्यको राजनीति नेतृत्व र सबै क्रान्तिकारी शक्तिको एकीकृत नेतृत्वको सुनिश्चितता भएको उहाँको भनाइ थियो किनभने मजदुरहरूका लागि एकीकृत राजनीतिक नेतृत्व जरुरी हुनेछ । त्यसकारण उहाँ निरर्थक बलिदानको विपक्षमा हुनुहुन्थ्यो । अन्तिम विजयको दिनका लागि प्रतिरोध सङ्घर्ष अगाडि बढाउने एकीकृत राजनीतिक नेतृत्व हासिल गर्न प्रयासको आवश्यकता थियो र त्यसका लािग प्रष्ट दृष्टिकोण भएको राजनीतिक नेतृत्वको आवश्यकता थियो ।
टोइस्का कक्षमा भेला भएका मन्त्री र अरू कार्यकर्ताहरूलाई उहाँले त्यही कुरा भन्नुभयो । उहाँले आफ्नो जीवनको मूल्यमा पनि राष्ट्रपतीय प्राधिकार जोगाउने आफ्नो प्रतिबद्धतामा पुनः जोड दिनुभयो । साथै तीन वर्षको कार्यअवधिमा सहकार्यको लागि आभार प्रकट गर्नुभयो । हतियारबद्ध पुरुषहरूलाई लडार्इं स्थलमा जान आदेश दिनुभयो र हतियार नभएका पुरुषहरू ला मोनेडामा रहेका महिलाहरूलाई भवन छोड्न राष्ट्रपतिलाई साथ दिन र उनीहरूले पनि भवन छोड्न निर्देशन जारी गर्नुभयो किनभने कामदार वर्गको सङ्गठन र नेतृत्व महत्वपूर्ण भएको समयमा उहाँ निरर्थक बलिदान चाहनुहुन्नथ्यो । महिला र अरू कमरेडहरूले अन्तिम समय चिकित्सा कक्ष नजिक र कागजात भण्डारण गरिएको सानो भूमिगत कोठामा बिताए । आफ्नो हल्का हरियो र·को सैनिक हेलमेट लगाएर राष्ट्रपति त्यहाँ जानुभयो । उहाँले फिडेलले उपहार दिनुभएको एक स्वचालित राइफल बोक्नुभएको थियो । त्यसमा लेखिएको थियो, ‘सहयोद्धा कमरेडलाई ।’
केही बेरमै भवनमा बमबारी सुरु भयो । विमानहरू निकै कम उचाइमा उडिरहेका थिए । ज्यादै कडाइपूर्वक उहाँले हामीलाई कति पनि विलम्ब नगरी राष्ट्रपति भवनबाट बाहिरिन भन्नुभयो । उहाँले हामी सबैलाई अलग अलग भेट्नुभयो । हामीलाई उहाँले बाहिर बसेर हाम्रा क्रान्तिकारी प्रतिज्ञा पूरा गर्न हाम्रो आवश्यकता हुने भनी सम्झाउनुभयो ।
उहाँले फेरि पनि जनताको लागि सङ्गठन, एकता र राजनीतिक नेतृत्व महत्वपूर्ण हुने कुरा दोहो¥याउनुभयो । म गर्भवती भएर त्यहाँ आएकोमा उहाँले मेरो आलोचना गर्नुभयो । क्युवाली दूतावासका कमरेडहरूको सम्पर्कमा जानु मेरो जिम्मेवारी थियो । पछिल्ला केही महिनामा क्युवाली दूतावासमा भएका हमला र गलत प्रचारबाजीलाई उहाँले व्यक्तिगतरूपमा आफैमाथि हमला भए जस्तो महसुस गरेको मलाई बताउनुभयो । त्यो दिन पनि क्युवाली दूतावासमा हमला हुनसक्ने र लडाई हुन सक्ने भएकोले म त्यहाँ हुनुपर्ने उहाँको आग्रह थियो ।
उहाँले हामीलाई मोरान्डे बजार निस्किने गेटसम्म पु¥याउनुभयो । त्यहाँ उहाँले गोली हान्न बन्द गर्न र महिलाहरूलाई बिनारोकतोक बाहिर जान एउटा सैनिक गाडी व्यवस्था गर्न आग्रह गर्नुभयो । केही मिनेट अघि उहाँले आफूलाई आत्मसमर्पण गराउन कैद गर्न सक्ने सम्भावनाबारे औँल्याउनुभएको थियो । तर उहाँ त्यसो भए पनि आफू नडगमगाउने बरु चिलीका जनता र संसारलाई फासिवादीहरू कति देशद्रोही र निर्लज्ज हुन सक्छन् र उहाँले लड्नु पर्नाको एउटा कारण त्यही पनि हुने देखाउने एउटा उत्तम प्रमाण हुने विचारमा हुनुहुन्थ्यो ।
यसप्रकार एउटा सानो क्रान्तिकारी समूह र उनीहरूलाई लड्न सहयोग गर्न त्यहीँ लुकेर बसेकी एक महिलासंँग राष्ट्रपतिलाई छोडेर बाहिरियौँ । हामी बाहिरिएलगत्तै भीषण बमबारी र भिडन्त चर्कियो । कमरेडहरू राष्ट्रपतिबारे मैले बोकेर ल्याएको तस्वीर यही हो । प्रिय क्युवाली दाजुलाई –दिदीबहिनी, तपाईँको हृदय र मानसपटलमा मैले छोड्न चाहेको तस्वीर यही हो ।
यो खुलामञ्चमा यो तस्वीर क्रान्तिकारी गौरवका साथ उदाएको छ जहाँ केही महिना अघि मात्र राष्ट्रपतिले हाम्रो देश, हाम्रा श्रमिक जनता, हाम्रा केटाकेटी, महिला, वरिष्ठ नागरिकप्रति तपाईँहरूबाट व्यक्त ऐक्यबद्धता र सहृदयताप्रति आफ्ना गहिरा आवाज उठाउनुभएको थियो ।
चिलीप्रति ऐक्यबद्धता जनाउन आयोजित यो सभामा म उहाँले तपाईँहरूलाई भन्न भन्नुभएका कुरा दोहो¥याउन चाहन्छु । लडाईंकोबीच ला मोनेडामा उहाँले भन्नुभएको थियो, ‘फिडेललाई भन्नु– म मेरो दायित्व पूरा गर्छु । भन्नु उहाँलाई चिलीका जनताको निम्ति सर्वोश्रेष्ठ एकीकृत राजनीतिक नेतृत्वको खाँचो छ ।’ उहाँले त्यो दिन एउटा लामो प्रतिरोध सङ्घर्षको आरम्भ दिनका रूपमा रहनेछ र क्युवालगायत सबै क्रान्तिकारीहरूले त्यसमा हामीलाई सहायता गर्नुपर्ने बताउनुभयो ।
“फासिवादविरुद्ध अन्तिम क्षणसम्मको लडाईँ सुरु भयो र त्यो चिली जसका लागि तिमी लड्यौँ र आफ्नो जीवन दियौँ, त्यो चिली स्वतन्त्र, सार्वभौम एवम् समाजवादी चिलीका रूपमा हामीले पाएको दिन त्यो लडाईं टुङ्गिनेछ ।”
अमेरिकाको यो पहिलो स्वतन्त्र भूगोलबाट आज हामी कमरेड एलेण्डेलाई भन्नसक्छौँ– तपाईँका जनताले आत्मसमर्पण गर्ने छैनन्, तपाईँका जनताले क्रान्तिको झण्डा झुकाउने छैनन्, फासिवादविरुद्ध सम्झौताहीन सङ्घर्ष सुरु भयो र तपाईँले जसका लागि लड्नुभयो अनि आफ्नो जीवन समर्पण गर्नुभयो, त्यो स्वतन्त्र, सार्वभौम र समाजवादी चिली स्थापना हुने दिनमात्र त्यो लडाईं सकिनेछ  ।
(२८ सेप्टेम्बर, १९७३)
(Chile: The other September 11 बाट)
अनुवाद ः पद्म वान्तवा राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *