भर्खरै :

कार्यक्षेत्रमै विभेद भोग्छन् महिला पत्रकार

चिप्लेढुङ्गा, ५ असोज । महिलामैत्री सामाजिक संरचना र सञ्चार गृह नहुँदा पत्रकारिता क्षेत्रमा महिलाको गुणात्मक विकास हुन नसकेको पोखराका महिला पत्रकारको गुनासो छ । क्रियाशील पत्रकार महिला समूह (डब्लुडब्जुजे) ले आज गरेको ‘फोकस ग्रुप डिस्कशन’ कार्यक्रममा सहभागी पत्रकार महिलाले व्यासायिक रुपमा अघि बढ्न महिला पत्रकारले विविधखालका चुनौतीको सामना गर्नुपरेको भनाइ राखेका थिए ।
महिलाको क्षमता दक्षतामाथि हरहमेसा प्रश्न उठाइने र कार्यक्षेत्रमा जाँदासमेत चारित्रिकरूपमा अनेक टिकाटिप्पणी गरेर आत्मबल कमजोर बनाउने खालका व्यवहार भोग्नुपरेको अनुभव उहाँहरूको छ । कामको जिम्मेवारी दिँदासमेत विभेद् हुने गरेको उहाँहरूको गुनासो थियो । समाचार सङ्कलन गर्नुपर्ने अवस्थामा पारिवारिक तथा सामाजिकरुपबाट हेरिने नकारात्मक दृष्टिकोणले यस क्षेत्रमा समय र ऊर्जा खर्च गरेर भविश्य बनाउन समस्या भइरहेको उनीहरूको गुनासो थियो ।
डब्लुडब्लुजेका संस्थापक अध्यक्ष सङ्गीता लामाले महिला पत्रकारका समस्यालाई यथोचित सम्बोधन गरेर व्यावहारिकताबाट अगाडि नबढेसम्म पत्रकारितामा महिलाको गुणात्मक विकास हुन नसक्ने बताउनुभयो । महिलाले सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा थुप्रै विभेद् भोग्नु पर्दा स्थापित हुन ठूलो सङ्घर्ष गर्नुपर्ने उहाँको भनाइ थियो । महिलामैत्री वातावरणका लागि आफ्ना समस्या राखेर आफ्नो अधिकारको खोजी गर्न महिला अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
संस्थाका उपाध्यक्ष निर्मला आचार्यले देश भरिनै महिला पत्रकारका समस्या उस्तै भएका भन्दै सामाजिक विभेद्का अवशेषलाई निर्मूल गरी नयाँ बाटोबाट महिला पत्रकारले पेशामा आफूलाई स्थापित गर्नुपर्ने चुनौती आएको बताउनुभयो । महिला पत्रकारका सवालमा अनुसन्धान गर्दै आउनुभएका योगेन्द्र नापितले समस्याको पहिचानपछि समाधानका लागि नीतिगत तहबाट पहल थाल्नुपर्ने बताउनुभयो । कार्यक्रममा पोखरामा क्रियाशील २० महिलाको सहभागितामा अनुभवहरूको आदानप्रदान गरेर समस्यामाथि छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *