भर्खरै :

सी विचारधारालाई भिक्षा पात्र बनाउँदै सरकार

सत्तारुढ नेकपाले सोमबारबाट सी चिनफिङ विचारधाराबारे ‘प्रशिक्षण कार्यक्रम’ थालेको छ । ‘रोममा जाँदा रोमन जस्तो बन्नु’ भन्ने आहान छ । चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आउने कार्यक्रम बन्दै गर्दा सत्तारुढ दलले चीनलाई रिझाउने हेतुले सी विचारधाराबारे कार्यक्रम गरेको देखिन्छ । आफ्नो मार्गनिर्देशक सिद्धान्तबाट माओ त्सेतुङ विचारधारासमेत मिल्काइसकेको पार्टीले सी विचारधाराको ‘प्रशिक्षण कार्यक्रम’ आयोजना गर्नु आश्चर्यजनक छ । सबभन्दा रोचक कुरा त के हो भने चिनियाँ संविधानमा औपचारिकरूपमा सी विचारधारा समावेश गर्दा ‘देवत्वकरण’, ‘तानाशाही नेतृत्व’ भनी विश्लेषण गर्ने व्यक्तित्वहरूसमेत आज त्यो विचारधाराको प्रवक्ता बन्दै हिँडेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको झन्डै एक शताब्दी र जनवादी गणतन्त्र चीन स्थापनाको सात दसकमा चीनमा क्रान्ति, विकास र समृद्धि प्राप्तिको लागि नेतृत्व गरेका नेताहरूका योगदानलाई विभिन्न शब्दमा संस्थागत गर्ने प्रचलन छ । त्यस्तो अभ्यासले चिनियाँ जनतालाई नयाँ लक्ष्य तय गरिदिन्छ र ती लक्ष्य प्राप्तिका लागि चिनियाँ जनता मिहिनेतका साथ लाग्ने गर्छन् । कतिपय विश्लेषकहरूले सी चिनफिङलाई यसअघिका नेतृत्वभन्दा शक्तिशाली भनी व्याख्या पनि गरियो । निःसन्देह कुनै एक जना नेता वा नेतृत्वकै कारण चीनले आजको उचाइ हासिल गरेको होइन । चिनियाँ कम्युनिस्ट पार्टी सामूहिक नेतृत्व प्रणालीमा चल्ने पार्टी हो । माओ त्सेतुङ विचारधारालाई माओकै मात्र चिन्तनधाराको रूपमा व्याख्या गर्नु अपव्याख्या हो । माओ स्वयंले माओ विचारधारालाई ‘माक्र्सवाद–लेनिनवादलाई चिनियाँ माटोमा प्रयोग गर्दाको अनुभव’ को रूपमा व्याख्या गर्नुभएको थियो । सी विचारधारा पनि चीनको यही अभ्यासको निरन्तरता हो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा माओ विचारधारा र चीनको प्रभाव सुरुदेखिकै हो । चीनमा पड्केको जापानी साम्राज्यवादविरोधी र नयाँ जनवादी क्रान्तिको तोपको आवाजले नेपालमा कम्युनिस्ट आन्दोलनको बिजारोपण भएको थियो । नेपाल कम्युनिस्ट पार्टीको स्थापनादेखि नै माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा मार्गनिर्देशक सिद्धान्त थियो । अहिलेको नेकपामा एकाकार बनेका दुईवटै दल एमाले र माओवादीले कुनै बेला माओ त्सेतुङ विचारधारालाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मानेर सशस्त्र गतिविधिसमेत गरेका थिए । एमालेले अलि अघि नै माओ विचारधारा त्यागेको थियो भने अहिले माओवादीले पनि माओवाद छोडिसकेका छन् । आज नेकपाले सी विचारधाराको प्रशिक्षण गर्नु वास्तवमा सिद्धान्तप्रतिको निष्ठाभन्दा पनि ‘चिनियाँलाई खुसी बनाउन’ गरिएको प्रपञ्च हुनसक्छ । सी चिनफिङको नेपाल भ्रमणको तयारीको क्रममा गरिन लागेका यस्ता गतिविधि ‘मागी खाने भाँडो’ सिवाय केही नहोला भन्न सकिन्न । सी विचारधाराको नाम जप्दै चीनबाट ठूलो परिमाणमा पैसा झार्ने खेलमा नेकपा लागेको छ । चिप्लो घसेर आफ्नो पेट भर्ने काम नेपालका शासक वर्गको पुरानै पेशा हो । आज त्यो चिप्लो घसाइमा चिनियाँहरू पनि पर्न लागेका हुन् कि ?
चीनले सी विचारधारा अङ्गालेको चिनियाँ कम्युनिस्ट पार्टीको पछिल्लो महाधिवेशनमा हो । त्यसयता अहिलेका नेकपागणले कहिल्यै पनि सी विचारधाराबारे लेखेको वा बोलेको कहीं सुनिएन । अझ कसैले बोल्दा पनि अनेकन फतुर लाग्ने सम्भावना थियो । आज अचानक सी विचारधाराप्रति नेकपाको मोह देख्दा यो विचारधाराप्रतिको मोह होइन, चिनियाँ युआनप्रतिको लोभ हो भन्ने कुरा बुझ्न नेपाली जनताले गल्ती गर्नुहुन्न । सी विचारधारामाथिको बहस र छलफल चीनबाट माग्ने भिक्षापात्र हुनुहुन्न । सी विचारधारा माओ विचारधाराको जगमा उठेको विचारधारा हो । माओ विचारधाराबारे कुरा गर्न छोड्ने अनि सी विचारधाराको चर्चा गर्नुले वास्तवमा सत्तारुढ दलले सी विचारधाराको नाम जपेर आफ्नो राजनीतिक दुनो सोझ्याउन खोजेको स्पष्ट देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *