भर्खरै :

भारतमा कोइला खानी मजदुरको हडताल

नयाँ दिल्ली, २३ सेप्टेम्बर । भारतमा झन्डै ६ सय खानीमा काम गरिरहेका ५ लाख मजदुरहरू मङ्गलबार हडतालमा उत्रेका छन् । सुरक्षा दृष्टिले संवदेनशील मानिएको कोइला खानीमा शत प्रतिशत विदेशी प्रत्यक्ष लगानी भित्र्याउने भारत सरकारको निर्णयको विरोधमा उनीहरू हडतालमा उत्रेका हुन् ।
“भारतका जताततैका कोइला खानी मजदुरहरूमा गहिरो आक्रोश र असन्तोष व्याप्त छ । २४ सेप्टेम्बरका दिन सबै कोइलाखानी पूर्ण रुपमा ठप्प बनाउन उनीहरू दृढसङ्कल्पित छन्”, अखिल भारत कोइला मजदुर महासङ्घका महासचिव डीडी रामानन्दनले भन्नुभयो । छ वटा मजदुर सङ्गठनहरूको संयुक्त आयोजनामा सो हडतालको आयोजना गरिएको हो । राष्ट्रिय स्वयंसेवक सङ्घको मजदुर सङ्गठन भारतीय मजदुर सङ्घ भने हडतालमा सामेल छैन ।
“गएका दुई साता हामी सबै प्रमुख खानी क्षेत्रमा पुगेका छौं र हजारौं मजदुरसँग कुराकानी ग¥यौं । उनीहरूले हडतालप्रति अभूतपूर्व समर्थन जनाए । सरकारले विदेशी कम्पनीलाई बेच्न चाहेको देशको प्राकृतिक स्रोत साधनको रक्षाको लागि यो ऐतिहासिक हडताल हुनेछ”, उहाँले भन्नुभयो । एक सय वर्षअघि बेलायती उपनिवेशको पालामा सन् १९२० मा पहिलो मजदुर सङ्गठन कोइला मजदुरहरूको बीचमा स्थापना भएको थियो । सन् १९२१ मा झराई कोइला खानी क्षेत्रमा अखिल भारत मजदुर सङ्गठन काङ्ग्रेसको दोस्रो सम्मेलन भएको थियो । सो सम्मेलनमा पचास हजार मजदुर सहभागी बनेका थिए । सो सम्मेलनबाट स्वराजको प्रस्ताव पारित गरेको थियो । झन्डै शताब्दीपछि पनि आज कोइला मजदुरहरू पनि विदेशी÷निजी शोषणविरुद्ध भारतको सार्वभौमिकता रक्षाको लागि लड्दैछन् ।
मजदुर सङ्गठनहरूले हडतालको घोषणा गरे पनि सरकारले भने कोइलाखानी र बिक्रीमा शतप्रतिशत प्रत्यक्ष विदेशी लगानी भित्याउने सूचना जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *