भर्खरै :

जलवायु सङ्कट निम्त्याउने धनी देश, दुःख भोग्ने गरिब देश

काठमाडौँ, ७ असोज । बेलायतको ओक्सफाम समूहले संसारका अति गरिब ४८ देशमा बस्ने मानिसलाई जलवायु सङ्कटका विनाशकारी परिणामवापत प्रतिव्यक्ति प्रतिवर्ष ३ अमेरिकी डलरमात्र दिने गरिएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
संयुक्त राष्ट्र सङ्घमा जलवायु एक्सन शिखर सम्मेलन चल्दै गर्दा ओक्सफामले ‘कसले तान्छ ताप ?’ शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको हो । अफ्रिकी देशहरू हर्न अफ अफ्रिका र मोजाम्बिकमा आधारित सो प्रतिवेदनमा गरिब तथा अल्पविकसित देशहरू जलवायु सङ्कटको लागि कममात्र जिम्मेवार भए पनि ती देशका जनता अन्यायपूर्ण मानवीय र आर्थिक भार खेप्न बाध्य भएको उल्लेख छ ।
‘जलवायु सङ्कट सामना गर्न गरिब जनतालाई धनी देशका सरकारले दिने भनिएको क्षतिपूर्तिको वचनबद्धता पूरा हुन सकेको छैन । सबभन्दा गरिब र चर्को ऋणको भार बेहोरिरहेका संसारका देशहरूले यो सङ्कट ल्याउन सबभन्दा काममात्र भूमिका खेलेका छन् । तर, उनीहरूले सोअनुसारको क्षतिपूर्ति भने पाएका छैनन्’, ओक्सफामका कार्यकारी निर्देशक विन्नी व्यानिमाले भने ।
“तल्लो जनस्तरसम्म बारम्बार थप मानवीय सङ्कट रोक्न हामीले सबभन्दा गरिब समुदायको हातमा थप क्षतिपूर्ति पु¥याउन जरुरी छ । त्यस्तो पैसा पछि तिर्नुपर्ने ऋण होइन, क्षतिपूर्ति वापत दिनुपर्छ”, उनले भने ।
सोमालिया र मोजाम्बिक जस्ता देशमा बढ्दो ऋणको भारले जलवायु परिवर्तनको प्रभाव अझ बाक्लो बनेको र त्यहाँका स्रोत खुम्चिएको प्रतिवेदनले जनाएको छ । फलतः भविष्यको जलवायु सङ्कट र न्यून कार्बनयुक्त विकास गर्न ती देशहरूलाई गा¥हो परेको छ ।
सोमालियाको कुल गार्हस्थ उत्पादनको ७५ प्रतिशत वैदेशिक ऋण छ । जलवायु क्षतिपूर्ति कार्यक्रमले पनि सोमालियालाई ऋणको रूपमा केही पैसा दिने गरेको छ । जसले सोमालियालाई थप ऋणको दलदलमा फसाएको छ । अक्सफामका अनुसार जलवायु क्षतिपूर्तिको रूपमा प्रदान गरिएको दुईतिहाइ पैसा पछि तिर्नुपर्ने गरी ऋणको रूपमा दिइएको छ ।
दसौँ लाख सोमालियाली जनता विशेषतः, महिला र केटाकेटी भोकमरी सामना गरिरहेका छन् । तीन वर्ष लगातार पानी एक थोपा पनि नपर्दा आज त्यहाँको जीवन अस्तव्यस्त बनेको छ । सन् २०१७ को खडेरीदेखि नै त्यहाँ लगातार मानवीय सङ्कट देखापरेको हो । अझै पनि प्रभावित क्षेत्र बौरिनसकेको छैन ।
सन् २०१९ को सुरुमा आएको दुई वटा आँधीबेहरीले ३ अर्ब २० करोड बराबरको क्षति मोजाम्बिकले भोग्नुपरेको छ । यति रकम भनेको त्यहाँको कुल जीडीपीको पाँच भागको एक भागभन्दा बढी हो । भविष्यमा मानवीय सङ्कटको प्रभाव न्यून गर्न र तत्कालै मानिसको जीवन जोगाउन जलवायु परिवर्तनसम्बन्धी आवश्यक रोकथामका गतिविधि गर्नुपर्ने ओक्सफामको प्रतिवेदनमा उल्लेख छ ।
आज मोजाम्बिक र हर्न अफ अफ्रिकाका दसौँ लाख जनता खडेरी र विनाशकारी आँधीहुरीको प्रभावका कारण समस्याग्रस्त बनेका छन् । अरु पनि त्यस्ता विपत्तिका सङ्केतहरू देखिन थालेको छ । तिनको रोकथामको लागि विश्व नेताहरूले ध्यान दिनुपर्ने ओक्सफामको प्रतिवेदनमा उल्लेख छ ।
आँधीबेहरीको विनाशले हैजा र मलेरियाजस्ता सरुवा रोग फैलिने खतरा बढेको छ । शारीरिक, मनोवैज्ञानिक र आर्थिक तनावका कारण धेरै मानिस डिप्रेसनको समस्याबाट ग्रसित छन् । धेरै परिवारमा अझै पनि खान खाना छैन । उनीहरूका केटाकेटीले विद्यालय छोडिरहेका छन् ।
सन् २०१८ मा हर्न अफ अफ्रिका देशका १ करोड ५० लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो परेको थियो । त्यही साल पटक–पटकको आँधीबेहरीका कारण मोजाम्बिकका २ करोड ६० लाख मानिसलाई मानवीय सहायताको खाँचो परेको थियो ।
सन् २००९ मा विकसित देशहरू सन् २०२० सम्ममा जलवायु क्षतिपूर्ति रकम प्रतिवर्ष १ खर्ब अमेरिकी डलर पु¥याउन सहमत भएका थिए । तर, गत सातासम्म क्षतिपूर्ति रकम ७१ अर्ब अमेरिकी डलर मात्र पुगेको देखियो । ओक्सफामका अनुसार त्यो रकम तय गरिएको रकमभन्दा निकै न्यून हो ।
(टेलिसुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *