भर्खरै :

‘चार्जिङ स्टेसन’ बनाउँदै प्राधिकरण

– रमेश लम्साल
काठमाडौँ, ९ असोज । तीन वर्ष पहिले नियमित विद्युत् पाउनु नै नेपालीका लागि ठूलो सपनाजस्तै थियो ।
विद्युत्को माग र आपूर्तिको व्यवस्थापन नहुँदा देशले चर्कोरुपमा विद्युत्भार कटौतीमा पर्नुपरेको थियो । पछिल्ला दिनमा धेरैले असम्भवजस्तै मानेको नियमित विद्युत्को उपलब्धतापछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतका नयाँ–नयाँ योजना अगाडि सारेको छ ।
सोही क्रममा प्राधिकरणले प्रमुख सहर र राजमार्ग आसपासका क्षेत्रमा विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेसन’ निर्माण गर्ने भएको छ ।
सरकारले विद्युतीय सवारी साधनको व्यापक प्रवद्र्धन गर्ने र क्रमशः पेट्रोलियम पदार्थको परनिर्भरतालाई अन्त्य गर्दै जाने लक्ष्य राखेपछि प्राधिकरणले देशव्यापीरूपमा नै चार्जिङ स्टेसन निर्माण गर्ने भएको हो । प्राधिकरणले निजी क्षेत्रलाई विद्युतीय सवारीका लागि त्यस्तो स्टेसन निर्माणका लागि सहजीकरण गर्दै आएको छ । प्राधिकरणकै सहजीकरणमा निजी क्षेत्रको सुन्दर यातायातले राजधानीमा स्टेसन सञ्चालनमा ल्याइसकेको छ ।
निजी क्षेत्रलाई स्टेसन निर्माण र विद्युतीय सवारी साधन प्रवद्र्धनका लागि पनि सरकारी क्षेत्रले नेतृत्व गर्नुपर्छ भन्ने लक्ष्यसाथ प्रमुख सहरी क्षेत्र र मुख्य तथा सहायक राजमार्ग आसपास हुने गरी स्टेसन निर्माणका लागि प्रक्रिया अगाडि बढाएको हो ।
प्राधिकरणले सवारी साधनको आवागमन भइरहने नेपालका मुख्य सहरभित्रका मूल सडक तथा मुख्यमुख्य राजमार्गसँग जोडिएका व्यापारिक भवन, सुपरमार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेस्टुराँको पार्किङस्थल उपयुक्त हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *