भर्खरै :

हङकङ ऐनप्रति चीनको कडा विरोध

पेइकिङ, २६ सेप्टेम्बर । संरा अमेरिकाका संसदीय समितिहरूले पारित गरेको ‘हङकङ मानवअधिकार तथा प्रजातन्त्र ऐन, २०१९’ प्रति चीनले कडा विरोध जनाएको छ । उक्त कदमलाई चीनले हङकङको आन्तरिक मामिलामा हस्तक्षेपको संज्ञा दिएको छ ।
ऐनले ठीक र बेठीकमा अन्योल सिर्जना गरेको र सत्य–तथ्यलाई बेवास्ता गरेको चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता केङ शुआनले बिहीबार जारी वक्तव्यमा उल्लेख छ । उक्त ऐनले हङकङमा हिंसात्मक गतिविधि बढाउने उनको भनाइ छ ।
“सन् १९९७ मा हङकङ मातृभूमिमा फर्काइए पछि ‘एक देश–दुई प्रणाली’, ‘हङकङका जनताले हङकङमा शासन गर्छन्’ आदि नीतिसहित उच्च स्वायत्तता उपभोग गर्दै आएको छ । त्यहाँका जनताका अधिकार र स्वतन्त्रता पूर्ण रुपमा सुनिश्चित गरिएको छ”, प्रवक्ताले भन्नुभयो ।
“सुपुर्दगी ऐनमा संशोधनलाई लिएर थालनी भएको आन्दोलनले बितेका तीन महिनामा हङकङको अवस्थालाई हिंसात्मक शक्तिले पूर्णतः अस्तव्यस्त बनाएको छ । त्यस्ता गतिविधिले सार्वजनिक जनजीवन र सार्वजनिक सेवामा दख्खल पुगेको छ । हङकङमा घुसेका बाह्य शक्ति र चीनविरोधीहरूको सहयोगमा त्यस्ता गतिविधि भएका छन्”, वक्तव्यमा भनिएको छ ।
“हङकङमा पछिल्लो समय भएका गतिविधि शान्तिपूर्ण प्रदर्शन र भेला हुने अधिकारभन्दा बाहिर हो । त्यसले सामाजिक मूल्य मान्यतालाई विखण्डन गरेको छ । कानुनको उल्लङ्घन गरेको छ । ‘एक देश–दुई व्यवस्था’ को आधारभूत सिद्धान्त मिचेको छ”, केङले वक्तव्यमा उल्लेख गरेका छन् ।
हङकङमा हिंसा रोक्ने र सुव्यवस्था कायम राख्न हङकङका सबै क्षेत्रका जनताको बृहत् एकमत आवश्यक रहेको उको भनाइ थियो ।
प्रवक्ता केङले हङकङको विशेष प्रशासकीय क्षेत्रको सरकारप्रति चीन सरकारले कस्सिलो समर्थन रहने बताए । उनले हङकङ प्रहरी र अदालतले कानुनअनुसार आफ्नो जिम्मेवारी पालना गरिरहेको प्रष्ट पारे । संरा अमेरिकी सिनेटको विदेश सम्बन्ध समिति र प्रतिनिधिसभाको परराष्ट्र मामिला समितिबाट हङकङ ऐन पारित हुनुले हङकङको समाजका सबै क्षेत्रको भावना र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतालाई उपेक्षा गरेको, हङकङका हिंसात्मक भीडलाई उत्साहित बनाएको बताए ।
“यस्ता कदम चीनमाथि संरा अमेरिकाको हस्तक्षेप हो र यसले केही संरा अमेरिकी सांसदहरूको चीनको विकासलाई अवरुद्ध गर्न हङकङमा उपद्रव फैलाउने चाहना प्रष्ट हुन्छ”, केङले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *