नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
नीरज
माणिकलाल श्रेष्ठलाई अधिकांश मानिस माक्र्सवादका विद्वानको रूपमा चिन्छन् । तर, उहाँको विद्वता भने एउटै क्षेत्रमा मात्र सीमित छैन । विषयवस्तुको जरासम्म पुग्ने र त्यसका विविध आयामबारे गहन चर्चा गर्ने उहाँको शैली अब्बल खालको छ । श्रेष्ठको शैली जति गहन हुने गर्छ, त्यति नै सरल पनि हुने गर्दछ । कति मानिस आफ्नो विद्वता जटिल अभिव्यक्तिबाट प्रस्तुत गर्छन् । तर, श्रेष्ठको विद्वता भने सरलतामा अझ आलोकित हुने गरेको छ ।
विभिन्न कालखण्डमा विभिन्न नेपालभाषाका पत्रिकामा प्रकाशित माणिकलाल श्रेष्ठले लेख्नुभएका समालोचनाको सङ्कलन ‘समालोचनाया सिद्धान्त–२’ मा पनि उहाँको यस्तो चिन्तनशैली अभिव्यक्त भएको छ । सङ्कलित समालोचना जति गहन छन्, त्यत्ति नै सरल पनि छन् । पुस्तकमा समावेश साहित्यका विविध विधासम्बन्धी निबन्धले साहित्यिक विधाको परिचयमात्र दिएको छैन, बरु साहित्यिक विधासम्बन्धी पश्चिमी र पूर्वीय धारणाको तुलनात्मक अध्ययन गरिएको छ । पुस्तकमा पश्चिमा र पूर्वका साहित्यिक सिद्धान्तको आधारमा नेपालभाषाका साहित्यको तुलनात्मक अध्ययन गरिएको छ । श्रेष्ठले विभिन्न साहित्यिक विधाको नामकरणमा विधाको चरित्रका आधारमा प्रयोग हुँदै आएका शब्दमा विमति राख्नुभएको छ । उदाहरणको लागि अङ्ग्रेजी साहित्यको नोबेल विधाको लागि नेपाली भाषामा प्रयोग भएको उपन्यास शब्द, अङ्ग्रेजी साहित्यको एस्से विधाको नामकरणमा नेपाली भाषामा प्रयोग भएको निबन्ध शब्द उपयुक्त नहुने तर्क श्रेष्ठले आफ्ना सैद्धान्तिक समालोचनामा गर्नुभएको छ । साथै अमेरिकामा विकास भएको अङ्गे्रजी साहित्यिक विधा सर्ट स्टोरीको निम्ति नेपालभाषामा प्रयोग भएको ‘चि–बाखँ’ भन्दा ‘न्हु बाखँ’ शब्द उपयुक्त हुने विचार लेखकले राख्नुभएको छ ।
श्रेष्ठले आफ्ना तर्क हचुवा वा मनोगतरूपमा राख्नुभएको होइन । उहाँले विभिन्न प्रयोग र विशेषता केलाएर तिनको विश्लेषणका आधारमा यी तर्क प्रस्तुत गर्नुभएको छ । शब्दको सूक्ष्मतामा पुगेर विश्लेषण गर्ने लेखकको विशेषता हो । अङ्गे्रजी साहित्यमा पनि लेखकको विद्वताले समालोचनाले अझ व्यापक परिधि समेट्न सम्भव भएको देखिन्छ । अङ्गे्रजी रोमान्टिक कविहरूले कविताबारे दिनुभएका विभिन्न परिभाषाबारे चर्चा गर्दै श्रेष्ठले साहित्यमा यथार्थवाद र प्रकृतिवादबीचको विभिन्नताबारे पनि प्रस्ट भेद देखाउनुभएको छ । प्रगतिवादबारे नेपालको साहित्यिक गोष्ठीमा बरोबर छलफल चर्चा हुने गरेको छ । प्रगतिशील र प्रगतिवादका परिभाषाहरूसमेतमा विविधता भएको पाउँछौँ । माक्र्सवादी विद्वान श्रेष्ठले यी दुई वादबीचको भेदबारे प्रस्ट परिभाषा गर्नुभएको छ । सबै प्रगतिवादी साहित्य प्रगतिशील हुन्छन् तर सबै प्रगतिशील साहित्य प्रगतिवादी नहुन सक्छ भन्ने परिभाषाले पाठकलाई यसबारे स्पष्ट पार्नेछ ।
साहित्यमा कल्पनाको महत्वसम्बन्धी लेखमा लेखकले जे छ, त्यही जस्ताको तस्तै चित्रण गर्नु नै मात्र राम्रो साहित्य नहुने बरु त्यसमा कल्पनाको पनि तत्व हुनुपर्ने विचार प्रस्तुत गर्नुभएको छ । प्रकृतिवादले जे छ, त्यहीमात्र प्रस्तुत गर्ने साहित्यिक शैली हो । त्यसमा कल्पनशीलता कमजोर हुन्छ भने यथार्थवादले हुनसक्ने घटनामा कल्पनशीलता पनि जोडेर प्रस्तुत गरिन्छ ।
आधुनिक कवितासम्बन्धी लेखमा लेखकले अङ्ग्रेजी साहित्यमा आधुनिक कविताको विकास र नेपालभाषा साहित्यमा त्यसको विकासक्रमबारे तुलनात्मक अध्ययन गरिएको छ ।
प्रगतिवादी साहित्यको विशेषता जुनसुकै थरी सत्ताबाट भइरहेका जस्तासुकै तहको दमनको प्रतिरोध गर्नुभएको लेखकले पुस्तकमा पेश गर्दै नेपालभाषामा प्रतिरोधी कविताको समालोचना गर्नुभएको छ ।
पुस्तकमा समावेश प्यालेस्टाइनका प्रतिरोधी कविताको समीक्षाले लेखकको अध्ययन र लेखनको व्यापक घेराबारे पाठक प्रस्ट हुन्छन् । अरबमा आज पनि प्यालेस्टाइनी दुखिरहेको छ । इजरायली गैरकानुनी कब्जाको विरोधमा आज पनि प्यालेस्टाइनी जनता लगातार लडिरहेका छन् । बेलायती उपनिवेशवादी षड्यन्त्रअन्तर्गत बनेको इजरायली राज्यले पाइला पाइला गर्दै प्यालेस्टाइनी जनताको भूमिमा भएको हमलाको प्रतिकारमा विकास भएका साहित्य, विशेषतः कविताबारेको चर्चा पाठकलाई जानकारीमूलक हुनुका साथै आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छ ।
नेपालभाषाका लेखक फत्तेबहादुर सिंह, नेपालभाषासम्बन्धी केही तथ्य आदि निबन्धले राज्यको दमनविरुद्ध नेपालभाषा अभियन्ताहरूले गरेका प्रतिरोध र सङ्घर्षका कुराबारे लेखकका धारणा प्रस्तुत गरिएको छ ।
नेपालभाषामा लेखिएको यो कृति साहित्यप्रति थोरैमात्र रुचि राख्ने नेपालभाषीले पढ्नैपर्ने पुस्तक हो । यसले पाठकको साहित्यबारेको जानकारी फराकिलो बनाउनेछ । तर, यसमा सङ्कलित ज्ञान र जानकारी भने नेपालभाषीको लागि उपयोगी पक्कै होइन । वास्तवमा कृतिमा समावेश सबै समालोचना सबै भाषाका पाठकको लागि समानरूपमा महत्वपूर्ण र उपयोगी हुनेछ । कृतिको अनुवाद गरी अन्य भाषाभाषीका पाठकसम्म पु¥याउन सके पनि नेपालमा ज्ञानको सिर्जनामा महत्वपूर्ण योगदान हुनेछ ।
नेपालभाषामा अविछिन्न पुस्तक प्रकाशन गर्दै आएको कुतः पिकाकले आफ्नो योगदानको क्रमावलीमा यो पुस्तक प्रकाशनपछि एउटा अड्ढमात्र बढाएको छैन, बरु एउटा बृहत् ज्ञानभण्डार पनि थपेको छ । आशा छ, विद्वान माणिकलाल श्रेष्ठको पहिलो ‘समालोचनाया सिद्धान्त’ को नयाँ संस्करण र अरु समालोचनाका कृति पनि प्रकाशन हुँदै जाने आशा गरौँ ।
पुस्तकको नामः समालोचनाया सिद्धान्त– २
लेखक ः माणिकलाल श्रेष्ठ
प्रकाशक ः कुत ः पिकाक
पृष्ठ ः १२६
Leave a Reply