नक्कली कम्युनिस्टहरू घोषित पुँजीवादीहरूभन्दा झन् खतरनाक हुने
- कार्तिक १९, २०८२
भक्तपुर, १० असोज । ख्वप मावि तथा शारदा क्याम्पस माविको आयोजनामा शुभकामना तथा मार्गनिर्देशन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नयाँ पुस्तालाई विद्यार्थीकालदेखि नै देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावना सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पैसा कमाउने उद्देश्यले सञ्चालित निजी कलेजहरूले गुणस्तरीय शिक्षा दिन नसकेको चर्चा गर्दै उहाँले भन्नुभयो, “निजी कलेजमा एमबीबीएस पढ्ने विद्यार्थीहरूको शैक्षिकस्तर धेरै कमजोर रहेको चर्चा छ । पैसाको भरमा डाक्टर बनेका चिकित्सकहरूले राम्ररी उपचार गर्नेछैनन् ।”
राजनीतिक कार्यकताहरू सबै इमानदार नहुने उल्लेख गर्दै अध्यक्ष रोहितले राजनीतिक पार्टीहरूले इमानदारीपूर्वक कार्य नगरेसम्म जनताले सुख पाउने छैनन् भन्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “बहुसङ्ख्यक जनता राजनीतिकरूपमा सचेत भएमा क्रान्ति छिट्टै सम्पन्न हुनेछ । सबै शिक्षकहरूले इमानदारीपूर्वक अध्यापन गरेमा आपराधिक क्रियाकलाप धेरै कमि आउनेछ ।”
वैदेशिक रोजगारको नाममा युवाहरू विदेशिने क्रम बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “युवाहरू विदेशिने क्रममा कमी नआए २० वर्षपछि नेपाल वृद्ध–वृद्धा पाल्ने तथा अपाङ्ग र रोगीहरूको देश हुनेछ ।”
सरकारमा गएका पार्टीहरूले विदेशसँग माग्नेमात्र काम गरिरहेको उल्लेख गर्दै अध्यक्ष रोहितले मगन्ते प्रवृत्तिले देश विकास नहुने उल्लेख गर्नुभयो ।
आलोचनात्मक दृष्टिकोणको विकास गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले भन्नुभयो, विधिको शासन लागू गर्नु ठूलो कुरा होइन । कुन वर्गको हितमा कानुन बनाएको हो, त्यो मुख्य हो । गरिबलाई कर लगाउने होइन धनीलाई बढी कर लगाउने प्रगतिशील कर प्रणाली लागू गर्नु आवश्यक छ ।
जमिनको हक र अधिकार जमिन जोत्ने किसानलाई नै दिनुपर्नेमा अध्यक्ष रोहितले जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाको अगुवाइमा सञ्चालन हुने ख्वप विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्ने स्वीकृति दिएमा रू. १० लाखमा एमबीबीएसको पढाइ गर्न सकिने अध्यक्ष रोहितले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको प्रजातन्त्र पुँजीवादी प्रजातन्त्र हो । पुँजीवादी प्रजातन्त्रमा पुँजीपति वर्गको हित हुने भएकोले नेमकिपाले बहुसङ्ख्यक जनताको हित हुने जनताको प्रजातन्त्रमा जोड दिएको हो । जनताको प्रजातन्त्रमा उत्पादनका मुख्य–मुख्य स्रोत र साधन सामाजिकीकरण हुनेछ । शिक्षा र स्वास्थ्य निःशुल्क हुनुका साथै देशको आवश्यकताअनुसार जनशक्ति तयार गर्ने बन्दोबस्त लागू हुनेछ । जनताको प्रजातन्त्रमा समाजवादी अर्थ व्यवस्थाको आधारशिला तयार हुनेछ ।”
ख्वप मावि सञ्चालक समितिका सदस्य एवम् भनपा वडा नं. ६ का वडा अध्यक्ष हरिराम सुवालले शिक्षाको माध्यमबाट देश र जनताको सेवा गर्ने उद्देश्यले नगरपालिकाले शैक्षक संस्थानहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
आर्थिक अभावले पढाइबाट वञ्चित हुन नपरोस् भनी भनपाले विना ब्याज र धितो शैक्षिक ऋण प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र उपप्राचार्यद्वय लक्ष्मीप्रसाद कर्माचार्य र विष्णुप्रसाद किसीले शुभकामना मन्तव्य दिँदै शिक्षकहरूले विद्यार्थीहरूलाई जीवनप्रति उत्साह र आशावादी बन्ने शिक्षा दिनुपर्ने विचार राख्नुभयो ।
Leave a Reply