भर्खरै :

इरानसँग तेल र ग्यासको कारोबारलाई जारी राखिने : टर्की

अङ्करा, ११ असोज (रासस/एएफपी) : अङ्कराले इरानबाट आयात गरिरहेको पेट्रोलियम पदार्थ तथा ग्यासको कारोबारलाई निरन्तरता दिने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताउनुभएको छ ।
इरानमाथि अमेरिकीले लगाएको नाकावन्दीका वाबजुद पनि टर्कीले इरानसँगको प्राकृतिक ग्यास र तेलको आयातलाई नरोक्ने एर्दोगानले प्रतिवद्धता जनाउनुभएको हो ।
विश्वका अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको नेतृत्वमा विश्व शक्तिराष्ट्रहरूले सन् २०१५ मा इरानसँग आणविक सम्झौता गर्दै इरानमाथि लगाइएका आर्थिक प्रतिवन्धलाई विस्तारै खुकुलो पार्दै गइरहेका समय वर्तमान् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता संयुक्त राज्य अमेरिकाको हितमा नभएको भन्दै यसलाई नमान्ने घोषणासँगै अमेरिकाले इरानमाथि सम्झौतापहिले लगाइएका सबै नाकावन्दीलाई जारी राख्दै थप प्रतिवन्धहरूको घोषणा गरेको छ ।
अमेरिकाले इरानलाई नाकाबन्धी लगाएर तेहरानको तेल निर्यातलाई शुन्यमा झार्ने उद्देश्यसहित इरानसँग कारोबार गर्ने विश्वका अन्य मुलुकहरूलाई पनि इरानमाथि दवाव सिर्जना गर्न आह्वान गर्दै आएको छ ।
एर्दोगानले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्किनु पहिले पत्रकारहरूसँगको कुराकानीमा भन्नुभयो, “हामीले इरानसँगको तेल र ग्यास कारोबारमा टर्कीको इरानसँग रहँदै आएको सम्बन्धलाई रद्द गर्न सक्दैनौ ।”
उहाँले भन्नुभयो, “अमेरिकाले इरानमा रहेर काम गर्ने कम्पनीहरूलाई फिर्ता नबोलाएमा सम्बन्धित मुलुकलाई दिइँदै आएको सहयोगमा कटौति गर्ने चेतावनीपछि कतिपय निजी कम्पनीले इरानमा रहेका आफ्ना शाखाहरूलाई फिर्ता लाने क्रम बढेको छ ।”
खासगरी इरानबाट तेलको आयात गर्ने कतिपय मुलुकहरूले पनि अमेरिकी चेतावनीपछि आफ्नो इरानसँगको कारोबारलाई कम गरेका छन् । जसका कारण इरानमा आर्थिक सङ्कट बढ्दै गएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तेलको कारोबार लगायतका कतिपय बिषयमा टर्कीले इरानसँगको सम्बन्ध टाढा बनाउन नचाहने भनाइ एर्दोगानको रहेको छ ।
इरान, टर्की र रूसले पछिल्लो समय सिरियामा जारी आठ बर्षभन्दा लामो द्वन्द्व अन्त्यका लागि संयुक्त पहल गरिरहेका छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *