भर्खरै :

देश अफगानिस्तान बन्ने खतरा

भक्तपुर, ११ असोज । “श्रमिक साप्ताहिक, मजदुर दैनिक र अनलाइन मजदुरलाई प्राज्ञिक ढङ्गले अघि बढाउनुपर्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले श्रमिक साप्ताहिक, मजदुर दैनिक र अनलाइन मजदुरको आयोजनामा शनिबार भएको लेखक भेला तथा शुभकामना कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
पत्रिकालाई स्तरीय र बोझिलो बनाउन आलोचना, प्रत्यालोचनाको आवश्यक भएको उल्लेख गर्दै अध्यक्ष रोहितले शुद्धाशुद्धी र मुद्रा राक्षसमा केही कमजोरीबाहेक मजदुर र श्रमिकजस्तो राम्रो विचारप्रधान पत्रिका अरू नभएको बताउनुभयो ।
महिला लेखकहरूको सङ्ख्या बढाउन सके पत्रिकाको स्तरमात्र होइन देश नै अघि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले राम्रो काम गरे पनि अनेक वाधा–व्यवधान आइरहने बताउनुभयो ।
“जति राम्रो काम गर्छ त्यति नै शत्रु बढ्ने सम्भावना छ ।” उहाँले भन्नुभयो ।
पढेलेखेका शिक्षितहरूले पनि पत्रिका नपढेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष रोहितले सांस्कृतिक स्तर नभएको हुँदा पत्रिकाको महत्व नबुझेको हो भन्नुभयो ।
उहाँले पत्रिका वितरण व्यवस्थित गर्न जनप्रतिनिधि र सङ्गठनका कार्यकर्ताहरूलाई परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष रोहितले समसामयिक अन्तर्राष्ट्रिय घटनाक्रमको चर्चा गर्दै नेपालमा अफगानिस्तानको जस्तो स्थिति आउनसक्नेतर्फ सचेत गराउनुभयो ।
विदेशीहरूको निर्देशन र लगानीमा ‘ठूला’ पत्रिका सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् श्रमिक साप्ताहिकका प्रकाशक सरोजराज गोसाईले लेखकहरूलाई उत्साहित गरिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मजदुर र श्रमिक पत्रिका जनताको उदाहरणीय पत्रिका हो, समाजवादी लक्ष्य पूरा गर्ने लक्ष्यअनुसार पत्रिका प्रकाशन भइरहेको हो, उहाँले भन्नुभयो ।
अरू पत्रिकाले पुँजीवादी व्यवस्थालाई मलजल गर्छ भने मजदुर, श्रमिक र अनलाइन मजदुरले समाजवादको लक्ष्य पूरा गर्न मद्दत गर्छ, केन्द्रीय सदस्य गोसाईँले भन्नुभयो ।
फरक फरक विशेषता भएका साथीहरूले आ–आफ्नो अनुभव र दक्षताअनुसार लेख लेख्न आग्रह गर्दै उहाँले पत्रिका जनताको घर–घरमा पु¥याउनुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् श्रमिक साप्ताहिकका कार्यकारी सम्पादक अनुराधा थापामगरले सभापतिको आसनबाट बोल्दै पत्रिका नाफाभन्दा विचार प्रवाह गर्ने उद्देश्यले प्रकाशन भइरहेको बताउनुभयो ।
नेपालमा भारतीय गुप्तचरहरू परिचालन भइरहेकोतर्फ आम नेपाली जनता सचेत हुनुपर्छ, उहाँले भन्नुभयो ।
मजदुर दैनिकका प्रकाशक एवम् कार्यकारी सम्पादक नीरज लवजूले लेखकहरूमा पुनर्ताजगी गर्न र लेख–रचना दिएर सहयोग गर्न लेखकहरूको भेला आयोजना गरेको बताउनुभयो ।
पत्रिका प्रकाशन पनि विचारको लडाइँ हो, यसमा लेखकहरूको सहयोगको निरन्तरताको खाँचो छ, उहाँले भन्नुभयो ।
मजदुर र श्रमिकमा कार्यरत प्रकाश थुसाले पनि बोल्नुभएको कार्यक्रममा सहभागी लेखकहरूले विभिन्न सुझाव तथा जिज्ञासा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *