भर्खरै :

मोदीलाई बुद्धको नाम लिने नैतिक अधिकार छैन

–प्रकाश
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने क्रममा भारतले संसारलाई बुद्ध दिएको बताएको समाचार आयो । शुक्रबार संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्दै मोदीले भनेका रहेछन्, “हामी त्यो देशको बासिन्दा हौँ जसले संसारलाई युद्ध होइन बुद्ध दिएको छ ।” इतिहासको सामान्य जानकारी राख्ने जो कसैलाई थाहा छ सिद्धार्थ गौतम जन्मेको र बुद्ध बनेको समयमा भारत भन्ने देश नै थिएन । त्यतिखेर मगध भन्ने देश शक्तिशाली साम्राज्य थियो । भारत वर्षमा साना ठूला कैयौं देश थिए । बुद्ध कपिलवस्तु भन्ने एक गणराज्यमा जन्मेका थिए । नेपाल भन्ने देश पनि त्यतिबेला सायदै थियो, भए पनि त्यसको सीमा आजको जस्तो फैलिएको पक्कै थिएन । त्यसैले “बुद्ध नेपालमा जन्मेको थियो ।” भन्ने प्रचारसित पनि मेरो सहमति छैन । गौतम बुद्ध जन्मेको र हुर्केका ठाउँहरू लुम्बिनी र तिलौराकोट अहिले नेपालमा छन् भनी प्रचार गर्नु भन्ने जरुरी नै ठान्छु । भारतले विदेशी पर्यटक आफ्नै देशमा सीमित होऊन् भन्ने स्वार्थी ध्येयले नक्कली बुद्ध जन्मस्थल वा लुम्बिनी बनाएर इतिहास बङ्ग्याउने काम गरेको समाचार प्रमाणसहित आइसकेकै कुरा हो ।
नरेन्द्र मोदीले भारतले संसारलाई बुद्ध दिएको छ भनी बोल्नलाई त बोले । गौतम बुद्धको प्रसिद्धिलाई प्रयोग गर्न खोजे तर भारतले बुद्धलाई स्वीकार नगरेको वा बुद्धको शिक्षा नअपनाएको पक्षलाई लुुकाउन खोजे । सबैलाई थाहा छ, बुद्धको दर्शन शान्ति, संयम र अहिंसाको दर्शन हो । स्वतन्त्र भारत वा इन्डियाको नीति शान्ति, संयम र अहिंसामा आधारित होइन । भारत स्वतन्त्र भएपछि घोषित अघोषित सबै छिमेकी देशविरुद्ध युद्ध गरिसकेको छ । छिमेकी देशहरूसित मात्र होइन आफ्नै देशका उत्पीडित जनताको आवाज वा विद्रोहलाई शक्ति वा फौज र हतियार प्रयोगद्वारा दबाउँदै छ । काश्मीर, आसाम, मिजोरम, आन्ध्र प्रदेश, मध्य प्रदेश सबैतिर जनताको जायज आवाज दबाउन मोदी सरकारले भारतीय सेना र अनेक नामका सशस्त्र बल परिचालन गरिरहेका छन् । त्यहाँ सयौँ र हजारौँको रगत बगिरहेको छ । यस आधारमा मोदीलाई बुद्धको नाम लिने नैतिक अधिकार पनि छैन । भारतले संसारलाई बुद्ध दिएको छ भनी बोल्नु भारतीय प्रधानमन्त्री मोदीको इतिहासको अज्ञानता प्रदर्शन पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *