समयमै सम्बन्धित निकायको ध्यान जाओस्
- कार्तिक १७, २०८२
– अग्निप्रसाद तिमल्सिना, कटुञ्जे, भक्तपुर
शुक्रबार भक्तपुरको १०८ रोपनी चलनचल्तीमा ९९ रोपनी भन्ने जग्गालाई लिएर पुनः विवाद उठाइएको समाचार पढ्न पाइयो । पहिले राजा वीरेन्द्रको नाममा रहेको उक्त जग्गा हाल नेपाल ट्रष्टको नाममा रहेको छ । कानुनीरूपमा नेपाल ट्रष्टको नाममा रहे पनि ट्रष्टले त्यसको संरक्षणमा ध्यान दिन सकेको थिएन । भक्तपुरका अधिकांश जनताको माग राज्यको वा नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा देश र जनताको अधिकतम हितमा अर्थात् शिक्षा र स्वास्थ्य क्षेत्रको निम्ति उपयोग होस् भन्ने रहेको छ । भक्तपुर नगरपालिकाले प्रस्ताव गरेझैं अस्पताल वा मेडिकल कलेज सञ्चालन भए धेरै राम्रो हुने स्थानीय जनताको विचार हो ।
केही आफ्नो स्वार्थलाई जोड दिनेहरूले त्यहाँ व्यापारिक मल बनाउनु पर्ने र कतिपयले त्यहाँ मिनि रङ्गशाला बनाउनुपर्ने तर्क पनि नगरेका होइनन् । तर, त्यसो गर्दा सल्लाघारीमा अत्यधिक भीडभाड भएर पूर्वका कैयौं जिल्लाबाट धुलिखेल–बनेपा–भक्तपुर हुँदै काठमाडौँ जाने सडकमा व्यवधान आउने ठूलो सम्भावना छ । अस्पताल र कलेज हुँदा वातावरण शान्त बन्ने र अधिक भीडभाड नहुने अवस्था हुने छ । सडक छेउमै अस्पताल हुँदा बिरामी वा घाइतेहरूको ज्यान बचाउन सकिने सम्भावना पनि बढ्ने छ । हो, सबै जग्गामा सघनरूपले भवन नबनाई खुला स्थान छोड्न पनि आवश्यक छ ।
रह्यो नेपाल ट्रष्टको स्वामित्वको कुरा । नेपाल ट्रष्ट कुनै गैरसरकारी संस्था होइन, त्यो त जनआन्दोलन २०६२÷०६३ को सफलतापछि वा गणतन्त्रको कार्यान्वयनको क्रममा राष्ट्रियकरण गरिएका सम्पति संरक्षण गर्न बनाइएको एउटा संस्थामात्र हो । नेपाल ट्रष्टको नाममा रहेका सम्पति देश र जनताको हितमा उपयोग गर्न राज्यलाई कुनै ऐनले छेक्छ भन्ने होइन । नेपाल ट्रष्टको नाममा रहेका जग्गा जमिन वा भौतिक संरचना देश र जनताको हितमा उपयोग गर्ने सर्तमा जुन–जुन स्थानीय तहमा रहेका छन् तत्तत्लाई नै जिम्मा लगाइनुपर्छ । निजी क्षेत्र वा व्यक्तिलाई बेच्न वा लामो अवधिका लागि भाडामै दिन पनि रोक लगाइनुपर्छ ।
कुनै बेला बेवारिसेजस्तो देखिएको, अतिक्रमणमा पर्न थालेको र गुण्डा नाइकेहरूले मनपरी भाडा उठाइरहेको जग्गा संरक्षणका लागि ट्रष्टसितको समन्वयमा भक्तपुर नगरपालिकाले पर्खाल निर्माण गरेर संरक्षण गरेपछि नेपाल ट्रष्ट कसै–कसैबाट उचालिएर भक्तपुर नगरपालिकासित विवाद गर्न आएको देखिन्छ । नेपाल ट्रष्ट सञ्चालक समितिका एक दुई जना कर्मचारीले नेपाल ट्रष्टको नाममा लालपुर्जा रहेको जग्गामा भक्तपुर नगरपालिकाले कुनै स्वीकृत नलिई पर्खाल लगाउने र भाडामा लगाएको आरोप लगाए । नेपाल ट्रष्टको सञ्चालक समितिको निर्णयपछि मन्त्रिपरिषद्को निर्णय र त्यसपछि राज्य व्यवस्था समितिको निर्णय गरेरमात्रै नेपाल ट्रष्टको जग्गा चलाउन पाउने व्यवस्था रहेको भन्दै उनीहरूले भक्तपुर नगरपालिकाले कर उठाए पनि भाडा उठाउन नपाउने दाबी गरे । नेपाल ट्रष्टले छिट्टै यहाँ सानो घर बनाएर पाले र कर्मचारी राखेर व्यवस्थापन गर्ने तयारी गरेकोले त्यहाँको साँचो हस्तान्तरण गर्नु भनेको समाचार आयो ।
नेपाल ट्रष्टसित नेपालमा १६ जिल्लामा २७ हजार रोपनी जग्गा नेपाल ट्रष्टको नाममा रहेको बताइन्छ तर तिनको हेरचाहसमेत गर्न सकेको देखिंदैन । भक्तपुर नगरपालिकाले करोडौं बजेट लगाएर संरक्षण गरिरहेको सल्लाघारीको जग्गालाई ट्रष्ट आफैँले व्यवस्थापन गर्ने भनेर अगाडि बढ्नुले ट्रष्टभित्रै सङ्घीयताविरोधी र जनहितविरोधी तत्व हावी रहेको स्पष्ट हुन्छ । स्थानीय जनताको भावना र हितविपरीत नेपाल ट्रस्टले केही गर्न नसकिने तथ्यमा ट्रष्ट सञ्चालक समिति र सरकारको समेत ध्यान जान जरुरी छ ।
Leave a Reply