भर्खरै :

५० प्रतिशतभन्दा बढी अमेरिकी जनता ट्रम्पविरूद्ध महाभियोगको पक्षमा

न्यु योर्क, ३० सेप्टेम्बर । संरा अमेरिकाका ५० प्रतिशत जनताले राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध महाभियोग प्रस्तावको समर्थन गरेको एक मत सर्वेक्षणले देखाएको छ । युगोभ नामको संस्थाले सञ्चालन गरेको मत सर्वेक्षणले त्यस्तो नतिजा निकालेको हो ।
आइतबार सार्वजनिक गरेको मत सर्वेक्षणको नतिजामा संरा अमेरिकाका ५५ प्रतिशत जनता ट्रम्पविरूद्ध महाभियोगको पक्षमा देखिएका छन् । तीमध्ये ३५ प्रतिशत महाभियोगको बलियो समर्थनमा र २० प्रतिशतले महाभियोगको सामान्य समर्थन गरेको सर्वेक्षण नतिजामा उल्लेख छ । डेमोक्रेटिक पार्टीका सदस्यमध्ये १० जनामा ९ जनाले सो प्रस्तावको बलियो समर्थन गरेका छन् । सत्तारूढ रिपब्लिकन दलका पनि अधिकांश सदस्य महाभियोग प्रस्तावको समर्थनमा देखिए । रिपब्लिकनमध्ये केहीले भने महाभियोग प्रस्तावविरूद्ध मत व्यक्त गरे पनि यो प्रक्रिया वैधानिक भएको स्वीकारेका छन् ।
चार दिनअघि पोलिटिको÷ मर्निङ कन्सल्ट नामको संस्थाले गरेको त्यस्तै एउटा सर्वेक्षणले ट्रम्पविरूद्धको महाभियोग प्रस्तावप्रतिको समर्थन अझ बढिरहेको देखाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदेमेर जेलेन्स्कीसँग ट्रम्पले गरेको फोन वार्तालापलाई लिएर हालै डेमोक्रेटिक सांसदहरूले ट्रम्पविरूद्ध महाभियोगको औपचारिक प्रक्रियाको थालनी गरेका हुन् ।
ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई संरा अमेरिकी महान्यायाधिवक्ता र ट्रम्पका व्यक्तिगत अधिवक्तासँग मिलेर आफ्ना राजनीतिक प्रतिद्वन्द्वी डेमोक्रेटिक दलका जो बेदनबारे अनुसन्धान गर्न आग्रह गरेका थिए । त्यस्तो अनुसन्धान गर्न युक्रेनका राष्ट्रपतिलाई ट्रम्पले फोनमा आग्रह गरेका थिए । ह्वाइट हाउसले हालै सार्वजनिक गरेको फोन कलको रेकर्डले सो कुरा पुष्टि भएको छ । युक्रेनलाई संरा अमेरिकाले प्रदान गर्ने भनिएको झन्डै ४० करोड अमेरिकी डलर अनुदान सहयोग पाउन ट्रम्पले युक्रेनी नेतासमक्ष यस्तो शर्त राखेका थिए ।
राष्ट्रपति ट्रम्पले भने जेलेन्स्कीसँग सौदाबाजी गर्ने उद्देश्यले त्यस्तो नगरेका बताएका छन् । संरा अमेरिकी प्रतिनिधिसभाका प्रवक्ता नेन्सी पोलेसीले ट्रम्पविरूद्ध महाभियोगको औपचारिक प्रक्रिया थालनी गर्ने बताएकी छिन् । राष्ट्रपतिले आफूले लिएको पद तथा गोपनीयताको सपथ उल्लङ्घन गरेको, राष्ट्रिय सुरक्षालाई धोखा दिएको र अमेरिकी चुनाव प्रणालीको अपमान गरेको भन्दै पोलेसीले यो प्रक्रिया थालेको बताएकी छिन् ।
संरा अमेरिकी संविधानअनुसार ‘जघन्य अपराध र गल्ती गरेको अवस्थामा’ प्रतिनिधिसभालाई राष्ट्रपतिविरूद्ध महाभियोग लगाउन सक्ने अधिकार छ । त्यसपछि सिनेटमा राष्ट्रपतिको सुनुवाई गरिनेछ । संरा अमेरिकी इतिहासमा आजसम्म कोही पनि राष्ट्रपति महाभियोगमार्फत् पदच्युत भएको छैन । हाल संरा अमेरिकी प्रतिनिधिसभा डेमोक्रेट पार्टी र सिनेट रिपब्लिक पार्टीको नियन्त्रणमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *