भर्खरै :

पदवीमा बकसको दुर्गन्ध

कुनै बेला देशमा पञ्चायती व्यवस्था थियो । राजा र राजदरबारको चाहनाअनुसार देश चल्थ्यो । जसले राजा र राजपरिवारको जयगान गाउँथ्यो, उसको निधारमा सधैँ घाम पथ्र्यो । जसले राजा र राजपरिवारको विरोध गथ्र्यो, उसको त्यसै परे ज्यान पनि जान्थ्यो । राणा शासनमा शासक रिझाउन वा कम्तीमा कोपभाजनको शिकार नबन्न प्रजा चाकडी जाने चलन थियो । राणालाई खुसी बनाउन सके मालामाल हुन्थे, राणालाई चिढाए जो कोहीको भाग्य उत्तानो पथ्र्यो । राजालाई सबभन्दा पहिले उनले इच्छाएको खबर सुनाउन सक्ने धाईआमा, धुपौरे, हुक्के, पहरेदारलाई राजाले आफूले लगाएको मोतीको माला पनि बकस दिन्थे । राजाले यसरी दिने बकस नै पछि गएर पदवीमा बदलियो । राजा नभएपछि कतिपय देशमा त्यस्तो परम्परा देश र जनताको हितमा नागरिकले गर्ने विशिष्ट योगदानको राज्यबाट अनुमोदन वा प्रशंसाको रूपमा पनि कायम रह्यो ।
नेपालमा राजतन्त्र त बिदा भयो । तर, राज्यले दिने पदवीमा भने अझै पनि राजतन्त्रले दिने बकसको दुर्गन्ध हटिसकेको छैन । राजाको ठाउँमा ‘राजाहरू’ सत्तामा आए । पदवीलाई नागरिकले गरेको विशिष्ट योगदानको कदरको रुपमा भन्दा आफ्नो सेवा गर्ने र आफूलाई खुसी बनाउने सेवकलाई यस्तो पदवी दिने चलन अझै चलेकै छ । यो वर्ष सरकारले वितरण गर्ने विभिन्न पदवी पाउने नामावली हेर्दा पनि यसले निरन्तरता पाएको देखिन्छ । सरकारले दिने सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) पाउने नामावलीमा प्रधानमन्त्री केपी ओलीको उपचारमा संलग्न चार जना विदेशी नागरिकसमेत परेका छन् । अझ रोचक कुरा त उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको कपाल काट्ने लक्ष्मी ठाकुरलाई समेत पदवी दिने नामावलीमा समावेश गरिएको छ । यो कस्तो छनोट ! अघिल्लो साल पदवी पाउनेहरूमा राष्ट्रपतिकी छोरीहरू र उपराष्ट्रपतिका छोरासमेत थिए ।
अस्पतालमा आएको बिरामीलाई आफ्नो पेशागत धर्मअनुसार पैसा लिएर उपचार गर्ने चिकित्सकले देशको लागि कुनै विशिष्ट योगदान गरेको कसरी भन्न सकिएला ? बरु देशभित्रको गएगुज्रेको सरकारी अस्पताललाई व्यवस्थितरूपमा चलाउन दिन–रात मिहिनेत गर्ने चिकित्सकलाई सम्मानित गर्नु उचित हो । राष्ट्रपति र उपराष्ट्रपतिको परिवारका सदस्य हुनु नै देशको लागि विशिष्ट योगदान गर्नुको मानक होइन । हिजो राजाले आफ्नै परिवारका सदस्य, आफन्तलाई पदवीको माला लगाइदिने चलन थियो । के आज राष्ट्रपति र उपराष्ट्रपतिले यही परम्परालाई निरन्तरता दिन खोजेका हुन् ? मन्त्रीको कपाल काट्ने मान्छेले देश निर्माणमा के विशिष्ट योगदान गरेको हुन्छ ?
सरकारका यस्ता गतिविधिका कारण हिजोको पञ्चायती व्यवस्था र आजको नेकपा सरकारबीच कुनै भिन्न नभएको जनताले महसुस गरेका छन् । हिजो राजा र राजपरिवारको नाममा हुने गतिविधि आज सत्तारुढ दल र पदाधिकारीमार्फत भइरहेको छ । राजा र राजतन्त्र हट्दैमा सामन्तवाद अन्त्य नहुने भनाइ आज पुष्टि भएको छ । सामन्तवाद आज नयाँ शासकको व्यवहारमा प्रत्यारोपण भएको छ । सामन्तवादी व्यवहार पछौटे व्यवहार हो । यसले समाजलाई आर्थिक विभेदमात्र होइन, सांस्कृतिक र सामाजिक विभेदलाई पनि चर्काउँछ । सत्तारुढ नेकपाले आफूलाई कम्युनिस्ट पार्टी दाबी गर्छ । तर, उसको व्यवहार पुँजीवादीभन्दा तल झरेर सामन्तवादतिर ढल्केको छ ।
नेपाली समाजको प्रगतिको बाधक भएकोले हिजो राणा र पञ्चायती व्यवस्था फालिएको थियो । आज सामन्तवादी व्यवहार गर्ने सत्तारुढ दलले त्यो इतिहासबाट पाठ सिक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *