भर्खरै :

सिद्धि गणेशमा निःशुल्क रक्तचाप तथा सुगर परीक्षण

भक्तपुर, १४ असोज । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य उपसमितिको आयोजनामा सदस्य लक्षित निःशुल्क रक्तचाप तथा सुगर परीक्षण कार्यक्रमको शुभारम्भ भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजूले दसैँमा मासुजन्य पदार्थको अधिक खानपान हुने हुँदा चाडपर्वमा अस्वस्थ हुने सम्भावना भएकोले खानपानमा ध्यान दिन आग्रह गर्दै दसैँमा भेटघाटमा भन्दा रचनात्मक कार्य गरेर बिदा तथा फुर्सदको समयको सदुपयोग गर्नुपर्छ भन्नुभयो । उहाँले संस्थाहरूले शेयर पुँजीमा लाभांश रकम वितरण गर्दा गत आ.व.को नाफाबाट बनेको कोष रकमबाट मात्र बाँड्नुपर्नेमा चालू आ.व.कोे खर्चबाट अन्य शीर्षकको नाउँमा रकम वितरण गर्नु नियम सङ्गत होइन भन्नुभयो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले सिद्धि गणेश साकोसले गत आ.व. को शेयर रकमको लाभांश असोज १३ गतेदेखि कार्तिक १५ गतेसम्म संस्थाको कार्यालय भवनबाट वितरण हुने जानकारी दिँदै संस्थाको साधारणसभा गत वर्षजस्तै ३ ठाउँमा छुट्टाछुट्टै क्षेत्रगतरूपमा हुने जानकारी दिनुभयो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं सञ्चालक विष्णुप्रसाद दुमरुले सदस्य स्वस्थ भएमा संस्था स्वस्थ हुने सोचका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
उक्त कार्यक्रममा उपसमितिका सचिव राजेश जाकिबन्जारले पनि बोल्नुभएको थियो । सान प्याथोलोजी ल्याव र ख्वप बहुप्राविधिक संस्थाको प्राविधिक सहयोगमा संस्थाको कार्यालय परिसरमा सञ्चालन भइरहेको परीक्षण कार्यक्रम असोज १६ गतेसम्म सञ्चालन हुनेछ ।
ख्वप साकोसमा शुभकामना कार्यक्रम
भक्तपुर, १४ असोज । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. मा बचत समितिको आयोजनामा मङ्गलबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष हरिप्रसाद बासुकलाले दसैँको लामो बिदामा सरसफाइमा अलि बढी ध्यान दिनुपर्ने र बौद्धिक स्तर उकास्न अध्ययनलाई जोड दिनुपर्ने बताउनुभयो ।
संस्थाका सल्लाहकार बालमुकुन्द बासुकला, कृष्णभक्त लघू, गणेशप्रसाद सुवाल तथा संस्थाका सचिव राजकुमार लघूले पनि शुभकामना मन्तव्य दिनुभयो ।
कार्यक्रमका सभापति तथा बचत समितिका संयोजक सुजाता चिकंबञ्जार र कृष्णराम सुलूलगायतले शुभकामना आदानप्रदान गर्नुभयो ।
समय साकोसको सिंहावलोकन बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
भक्तपुर, १४ असोज । च्याह्मासिंह रोडस्थित समय बचत तथा ऋण सहकारी संस्था लि.को नवौँ वार्षिक साधारण सभा तथा तेस्रो निर्वाचन कार्यक्रमको सिंहावलोकन बैठक तथा शुभकामना आदान–प्रदान कार्यक्रम स्थानीय फेमिली रेष्टुरेन्ट, कमलविनायक, भक्तपुरमा शनिबार सम्पन्न भयो ।
संस्थाका अध्यक्ष श्यामसुन्दर बेकोजूज्यूको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बाबुकाजी गाईजूले सिंहावलोकनमा उठेका जिज्ञासाहरू मेट्दै संस्था स्थापनाको पृष्ठभूमिको चर्चा गर्नुभयो । साथै सहकारी संस्था सञ्चालनको लागि बनेका नीति, नियम सहकारी ऐन, नियमावली, सहकारी मापदण्डलगायत प्रचलित ऐन नियमका साथै सदस्यहरूको अधिकतम हितलाई पनि ध्यान दिनुपर्ने तथा संस्थाले हालसम्म प्राप्त उपलब्धीलाई सुन्य विन्दु मानेर सबैले होस्टेमा हैसे गरेर दतचित्तका साथ सल्लाह सुझाव दिएर अगाडि बद्नुपर्ने कुरा बताउनुभयो ।
नवौँ वार्षिक साधारण सभा तथा तेस्रो निर्वाचन कार्यक्रमका निर्वाचन संयोजक विकल प्रजापतिले निर्वाचन कार्यक्रममा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूका साथै नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति पदाधिकारीहरूको कार्यकाल सफलताको कामना गर्दै सिंहावलोकनको महत्वमाथि प्रकाश पार्नुभयो ।
संस्थाका कोषाध्यक्ष रामसुन्दर भैनात्वले संस्थाको आर्थिक प्रगति विवरणका साथ नवौ वार्षिक साधारण सभा तथा तेश्रो निर्वाचन कार्यक्रम सम्पन्न गर्नको लागि भएको खर्च विवरणबारे जानकारी गराउनु भयो ।
नवौ वार्षिक साधारण सभा तथा तेस्रो निर्वाचन कार्यक्रमको सुधार्नुपर्ने पक्ष र राम्रा पक्षको बारेमा व्यापक छलफल भएको सो कार्यक्रममा लेखा समिति संयोजक राकेश शिवहरी, सचिव लक्ष्मीप्रसाद छुस्यावाग, उपाध्यक्ष चन्द्रकृष्ण ग्वाछा र सदस्यहरू पुनम जोशी, गीता दुवाल, अर्जुन सुवाल, रामलक्ष्मी कोजूलगायतले बोल्नुभएको थियो । कार्यक्रममा समिति उपसमिति, कार्यक्रम सम्पन्न गठित विभिन्न उपसमितिका सदस्यहरू, सहयोग पुया¥उनु हुने सदस्य महानुभावहरू एवं कर्मचारीहरूको सहभागिता रहेको सो कार्यक्रममा अध्यक्ष श्यामसुन्दर बेकोजूले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवादका साथ आउँदो विजया दशमी, शुभ दिपावली तथा नेपाल सम्बत तथा छट पर्व लगायतको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *