सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
राजन
तपाईँले कहिल्यै सोच्नुभएको छ ? हाम्रा विद्यालय तहमा महात्मा गान्धीबारे पढाइन्छ तर माओ त्सेतुङबारे किन पढाइँदैन ? अब्राहम लिङ्कन पढाइन्छ तर लेनिन पढाइँदैन ? नेल्सन मण्डेलाबारे पढाइन्छ तर रोबर्ट मुगाबेबारे पढाइँदैन ? प्रजातन्त्र के हो पढाइन्छ तर समाजवादी शिक्षा के हो भनेर विद्यार्थीलाई थाहा हुँदैन ।
माथिका नामहरू राम्ररी केलाउने हो भने पश्चिमा मिडियाको आँखाको नानी बनेका व्यक्तित्वहरू स्कूलको पाठ्यक्रममा समेटिन्छ भने पश्चिमा मिडियाको आँखाको तारो चाहिँ स्कूलको पाठ्क्रममा अट्दैनन् । पश्चिमा भन्नाले विशेषगरी बेलायत, अमेरिका, क्यानाडा र जर्मनी हुन् । अचम्मको कुरा के भने कम्युनिस्ट सरकार भएको दाबी गर्नेले यस विषयलाई वर्तमान पाठ्यपुस्तकमा समेट्न सकेको छैन । पश्चिमाहरूको प्यारो हुन नेपालको जुनसुकै सरकार हत्ते हालेर लागिपरिरहेकै हुन्छ ।
पश्चिमाको नीतिअनुरूप चल्ने जोकोही तिनीहरूका प्यारा हुन्छन् । जब पश्चिमाको इच्छाविपरीत चल्न थाल्छन् तब तिनै व्यक्ति घृणाको पात्र बन्छन् । यही कुरा ३७ वर्ष अनवरत सरकार चलाएका जिम्बाब्वेका तत्कालीन राष्ट्रपति रोवर्ट मुगाबे र अर्का दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको हकमा पनि लागू हुन्छ । रङ्गभेदवादी शासन (आपार्थाइ) र उपनिवेशवादविरुद्ध नेल्सन मन्डेला र रोबर्ट मुगाबे दुवै लडेका थिए । तर, मण्डेलाले पश्चिमाहरूसँग सम्झौता गरेर एफ.डब्लु.डी. क्लार्कलाई साथमै लिएर दक्षिण अफ्रिकाको सत्तामा आए । अर्कोतर्फ मुगाबेले शसस्त्र सङ्घर्षद्वारा नै इयान स्मिथको गोरा उपनिवेशबादी शासन व्यवस्थालाई पल्टाएर सत्तामा आए । मेलमिलापको नाममा मण्डेलाले देशको सम्पूर्ण अर्थतन्त्र गोराहरूकै हातमा रहने प्रत्याभूति दिएका थिए । तसर्थ पश्चिमी मिडियाहरूले उनलाई देवत्वकरण गरे । अर्कोतर्फ मुगाबेले अर्थतन्त्रलाई आफ्नै तरिकाले विकास गर्ने प्रयास गर्दा जिम्बाब्वेमा रहेका अश्वेतहरूको सम्पत्तिमाथि धावा बोलेको भन्दै उनलाई राक्षसीकरण गरियो । यदि मुगाबेले पश्चिमाहरूसामु घूँडा टेकेका भए उनी पनि मण्डेलाझँै महान नै हुने थिए । मण्डेलाको सकारात्मक पक्ष भनेको एक पदावधिभन्दा बढी सत्तामा बसेनन् जसको कारण पुँजीवादी अर्थव्यवस्थाको असफलताको परिणाम आफूले बोक्नु परेन । त्यसैगरी भारतका माहात्मा गान्धी र चीनका माओ त्सेतुङमाथि पनि यही भएको हो । महात्मा गान्धी अहिँसाको आन्दोलनको नाममा बेलायतको चालअनुसार भारत पाकिस्तान स्वतन्त्रताको संरचनामा जान सहमत भए जसअनुसार महात्मा गान्धी पश्चिमाहरूबीच हाइहाइ भए भने अर्कोतिर माओ त्सेतुङ पश्चिमाहरूलाई कागजी बाघको संज्ञा दिदैँ सिधा चुनौती दिन्थे । त्यसैले पश्चिमाहरूको मूल्याड्ढनमा माओ निरङ्कुश शासक थिए ।
फेरि मुगाबेकै सन्दर्भ जोडौँ । जब जिम्बाब्वे स्वतन्त्र भयो सम्झाउने र फकाउने मनसायले सुरूमा मुगाबेको प्रशंसामा पश्चिमेली मिडियाले निकै शब्द खर्च गरे । मुगाबे सरकारप्रति पश्चिमेलीहरूले नरम नीति राखेर सहानुभूति व्यक्त गरे ।
बेलायतले त मुगाबे सरकारले अप्ठेरो परिस्थितिको सामना गरिरहेकोले उनीप्रति सहानुभूति राख्नुपर्ने विचार राखेको थियो । यसको पछाडिको कारण भनेको जिम्बाब्वेसँगको बेलायतको आर्थिक स्वार्थ जोडिनु हो । जिम्बाब्वेमा रहेका बेलायतका व्यापारीको लगानी र तात्कालीन अवस्थामा सोभियत सङ्घको प्रभावलाई रोक्नु र जिम्बाब्वेमा रहेका गोराहरूका बहिर्गमनलाई रोक्नु थियो ।
जिम्बाब्वेको राष्ट्रिय स्वतन्त्रता आन्दोलन सन् १९७९ मा तथाकथित ल्याक्यास्टर हाउसमा बेलायतले तयार पारेको ड्राफ्टमा सम्झौतापछि टुङ्गिएको थियो । उक्त सम्झौतामा गोराहरूको पक्षमा रहेको प्रमुख बुँदा बिक्रेता र क्रेताको इच्छाको आधारमा भूमि हस्तान्तरण हुने कुरा उल्लेख थियो । अर्को महत्वपूर्ण बुँदा ३ प्रतिशतमात्र जनसङ्ख्या रहेको गोराको निम्ति २० प्रतिशत संसदीय स्थान सुरक्षित राखिएको थियो । बजार सिद्धान्तमा आधारित भूमि हस्तान्तरणको समय १० वर्ष व्यवस्था गरिएको थियो । तर, यो सम्झौतालाई मुगाबेले अक्षरशः पालना नगरेपछि सुरू भयो पश्चिमेली मुलुकको मुगाबेमाथि प्रहार । पश्चिमेली मिडियाले उनीमाथि अनेक अपमानजनक शब्द प्रयोग गरिरहेका छन् । अहिले मुगाबेलाई जिम्बाब्वेलाई बर्बाद गर्ने निर्दयी खलनायकको रूपमा पश्चिमा मिडियामा चित्रण गरिएको छ । आफूले भनेअनुसार नभएपछि उतिनैखेर निरङ्कुशको बिल्ला भिराइदियो । यसरी राम्रो वा नराम्रोको हानथापमा आफ्नो अनुकूलताअनुसार वास्तविकता लुकाउँछन् यिनीहरू । तर, अर्कोतिर साम्राज्यवादीहरूको जति नै ठूलो नरसंहारलाई पनि लुकाउँछन् जबसम्म तिनीहरूको स्वार्थ पूरा हुन्छ । यो पश्मिेलीहरूको पाखण्डीपनको चरम नमुना हो ।
शक्ति राष्ट्रको लागि मानव अधिकारको मुद्दा देखाउने दाँतमात्र हुन् । मुगाबेबाट पश्चिमेली राष्ट्रको स्वार्थसिद्ध हुने आश भएसम्म सब ठीक थियो । जब गोराहरूको जग्गामाथि मुगाबेको आक्रमण भयो तब ऊ तथाकथित तल्लो जातको पानी नचल्ने मान्छेलाई जस्तो व्यवहार पश्चिमा राष्ट्रले गर्नथाले । पश्चिमाले बनाएको अन्तर्राष्ट्रिय मुद्राकोषको संरचनालाई मुगाबेले खारेज गरे । अचानक मानव अधिकार हननले टाउको उठायो । मुगाबेमाथि मानवअधिकार हननकर्ता भनेर आरोप लगाइयो ।
जिम्बाब्वेमा मुगाबेलाई स्वतन्त्रता सेनानी, क्रान्तिकारी नेताको रूपमा व्याख्या गरिएको छ । मुगाबेलाई एक निडर बहादुर साम्राज्यवादीविरोधी नेताको रूपमा लिइन्छ । श्वेत किसानसँग भएको जग्गालाई जफत गरी भूमिहीन किसानलाई वितरण गरिएको थियो । मुगाबे सत्तामा आउँदा ६ हजार गोरा किसानको हातमा १ करोड ५० लाख हेक्टर (१ हेक्टर बराबर १९.६५ रोपनी) कृषियोग्य जमिन थियो भने ४५ लाख अश्वेत किसान १ करोड ६० लाख हेक्टर ओगटेको सुख्खा र कमसल खालको भूमिमा बसोबास गर्थे । सन् २००५ मा कृषि भूमि राष्ट्रियकरण गर्ने घोषणा गरियो । लगभग ४ हजार गोरा किसानबाट भूमि खोसियो । २३७८५८ भूमिहीन काला किसान परिवारको जमिनमा पहुँच भयो जुन जिम्बाब्वेमा मात्र होइन सम्पूर्ण अफ्रिका महादेशको इतिहासमा सबभन्दा ठूलो भूमिसुधार कार्यक्रम थियो ।
भूमि हस्तान्तरणले गर्दा कृषि उत्पादनमा कमी आएको भन्ने कुरा पूर्णतः पश्चिमाहरूको प्रापोगण्डा हो । गोरा किसानको उद्देश्य भनेको कृषि उत्पादन निर्यात गर्ने हो । जबकि अश्वेत किसानको उद्देश्य खाद्य सुरक्षा । जब गोराहरूको भूमि राष्ट्रियकरण गरेर भूमिहीन किसानलाई वितरण गरियो, पश्चिमा मुलुक विशेषगरी बेलायत, अमेरिका, जर्मनी र क्यानाडाले नाकाबन्दी गरे । जब भूमि अधीकरण र हस्तान्तरणको कार्यले तिव्रता लियो गोरा किसान समर्थक पश्चिमेली सहायता समूहले जिम्बाब्वेसँग सहकार्य रोक्यो ।
सन् २००१ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले जिम्बाब्वेसँग गरिने सबै प्राविधिक सहयोग निलम्बन गर्ने घोषणा गरे । अमेरिकाले कानुन नै पास गरेर जिम्बाब्वेलाई ऋण वा सहयोग गर्न नपाउने ग¥यो । त्यसैगरी जिम्बाब्वे भ्रमण नगर्न आडभाइजरी नोटिस जारी ग¥यो । क्यानाडा सरकारले जिम्बाब्वेलाई दिँदै आएको सहयोग रोक्यो । संयोगवस उतिबेला तीन वर्षसम्म खडेरीको कारणले पनि कृषि उत्पादनमा कमी आएको थियो । यी सबै कारणले गर्दा जिम्बाबेको मुद्रा कागजी खोस्टामा परिणत भयो ।
हँसियाको धार आफैँतिर फर्किन्छ भनेजस्तै मुगाबेसँग पश्चिमाहरूको असन्तोषको प्रमुख कारण भनेको गोराहरूको हातमा रहेको जिम्बाब्वेको समग्र अर्थतन्त्र खोसेर कालाहरूको हातमा जानु नै हो । त्यसमाथि पश्चिमाहरूको वामपन्थी विचाराधारसँग नजिक भएकाहरूलाई देखिनसहने विशेषता नै हो । यसलाई पश्चिमाहरूको दोहोरो चरित्र नभनेर के भन्ने ?
अन्तमा,
जिम्बाब्वेका पूर्वराष्ट्रपति रोवर्ट मुगाबेले जातीय विभेदको विरूद्ध दिएको अति चर्चित भाषणको रमाइलो अंश ।
जातिवाद त्यो बेलासम्म अन्त्य हुँदैन, जबसम्म सेतो कारमा कालो टायर प्रयोग गरिन्छ ।
जातीवाद त्यो बेलासम्म अन्त्य हुँदैन, जबसम्म लुगा धुँदा पहिले सेतो त्यसपछि मात्रै कालो लुगा धोइन्छ ।
जातिवाद त्यो बेलासम्म अन्त्य हुँदैन, जबसम्म बिहेमा सेतो लुगा र मलामी जाँदा कालो लुगा लगाइन्छ ।
जातीवाद त्यो बेलासम्म रहिरहन्छ, जबसम्म ऋणीहरूलाई सेतो सूचीमा नभएर कालो सूचीमा राखिन्छ ।
जातिवाद त्यो बेलासम्म अन्त्य हुँदैन, जबसम्म सेतोलाई शुभको र कालोलाई अशुभको प्रतीक मानिन्छ ।
जातिवाद त्यो बेलासम्म रहिरहन्छ, जबसम्म स्नुकर खेलमा सेतो बललाई सतहमा राखेर कालो बललाई दुलोमा नखसाई खेल जितेको ठानिन्न ।
तर मलाई कुनै अपसोच छैन किनकि मेरो ट्वाइलेट सीट ‘सेतो’ छ र म ‘सेतो’ ट्वाइलेट पेपरले नै मेरो चाक पुच्छु ।
Leave a Reply