भर्खरै :

युवा विदेश गएसम्म देश कमजोर हुने

भक्तपुर, १५ असोज । नेपाल मजदुर किसान पार्टी भनपा ६ वडा एकाइ समितिको आयोजनामा नेमकिपाको सातौँ अधिवेशनले निर्वाचित गरेका केन्द्रीय पदाधिकारीहरूलाई बधाईज्ञापन तथा विजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले सरकारले देशका युवाहरूलाई विदेशमा पठाउने नीति बनाएकोले देश युवाविहीन हुँदै गएकोले देश झन् झन् आर्थिकरूपले कमजोर हुँदै जाने बताउनुभयो । विगतमा माओवादीहरूलाई भारतले पक्षपोषण गरेको कारणले अहिलेको सरकारले भारतको सरकारविरुद्ध बोल्न नसकेको बताउनुभयो । उहाँले पाकिस्तानले संयुक्त राष्ट्र सङ्घमा भारतको विरुद्धमा बोल्दा नेपालले काश्मीर मामिला भारतको आन्तरिक मामिलाले भनेर बोल्नु भारतको सामुने लम्पसार पर्नु हो भन्नुभयोे । रू. ५६ अर्बको सहयोग गर्न खोजेर नेपालको वैदेशिक नीतिमा अमेरिकाले हस्तक्षेप गर्न खोजेको चर्चा गर्दै उहाँले अमेरिकी साम्राज्यवादको विरोध जनस्तरबाट हुनुपर्ने आँैल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद सृजना संैजूले प्रदेश सरकारका मन्त्री र सांसदहरू पैसा बाँडेर चुनाव जितेर आएकाले अहिले विकास निर्माणमा कमिसन र लोभलालचमा फसेको बताउनुभयो । उहाँले प्रदेश सरकारका मन्त्री र सांसदहरू राजधानीकेन्द्रित भएको बताउनुभयो । नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले भक्तपुर अस्पतालभित्र विगत दुई महिनामा सम्पूर्ण डाक्टरहरूको सरुवा भएकोले अस्पताल विज्ञडाक्टरविहीन भएको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले विजया दशमी विजयको प्रतीक र अन्यायको विरोध भएको कारणले अन्याय अत्याचारविरुद्ध सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले विगतका भर्पाई आन्दोलन, साँढे धपाउने आन्दोलन, सुस्ता अतिक्रमणको विरुद्धमा भएको आन्दोलनको चर्चा गर्नुभयो ।
जी. आर. थुसाको सभापतित्वमा भएको उक्त कार्यक्रममा भनपा वडा नं. ६ का वडा अध्यक्ष हरिराम सुवाल र शिक्षक जगनाथ सुजखूले पनि मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *